विचार/अन्तर्वार्ता
Trending

बरु एक डोज दिउँ, खोप दिउँ

ADVERTISEMENT
ADVERTISEMENT

दुई पटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डबारे सबै नागरिकलाई राम्रो ज्ञान छ, नअपनाउनु फरक कुरा हो ।

ADVERTISEMENT

२०७८ चैतसम्म चार करोड २८ लाख ४८ हजार डोज कोभिड खोप आउने र दुई करोड ६५ लाख नागरिकलाई खोप लगाइसक्ने आँकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ। जसमा एक करोड पाँच लाख ४८ हजार डोज असोजसम्म प्राप्त भइसक्छ। जापानबाट भदौ पहिलो साता १६ लाख एस्ट्राजेनिका, कोभ्याक्सबाट थप तीन लाख ४८ हजार भदौ अन्तिम साता, चीन सरकारबाट साउन मसान्तसम्म सहयोगस्वरूप १६ लाख, खरिदबाट ७० लाखमा भदौ दोस्रो साता भारतबाट पहिले खरिद गरिएको १० लाख र भदौ मसान्तसम्म चीनबाट खरिद गरिएको ६० लाख प्राप्त भइसक्नेछ।

ADVERTISEMENT

असोजदेखि चैत्रसम्म कोभ्याक्सबाट एक करोड १३ लाख तथा कोभ्याक्सकै लागत सहभागितामा कोभिसिल्ड, मोर्डना, फाइजर, जन्सेन, सिनोभ्याक्स आदि गरी एक करोड ५० लाख गरी कुल तीन करोड २३ लाख डोज प्राप्त हुने आँकलन गरिएको छ। जसमा बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप पनि समावेश छ। हालसम्म कोभ्याक्स तीन लाख ४८ हजार कोभिसिल्ड, १५ लाख ३४ हजार आठ सय ५० जन्सेन, वैदेशिक सहायतामा भारतबाट ११ लाख कोभिसिल्ड, चीन सरकारबाट भेरोसेल १८ लाख, खरिदबाट कोभिसिल्ड १० लाख, भेरोसेल ३२ लाख र साउन १५ गते आठ लाख गरी कुल ९७ लाख ८२ हजार आठ सय ५० डोज खोप प्राप्त भइसकेको छ। नेपालमा असोजसम्म ३३ प्रतिशत र चैत्र मसान्तसम्म सबैलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।

भारतस्थित एनआईभीको हालैको अध्ययनले खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुपरेको र ०.४ प्रतिशतको मृत्यृ भएको देखाएको छ। सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्यु पनि ९९ प्रतिशतसम्म खोपले बचाउँछ। कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प देखाएको छ। खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित छ। भारतको आईसीएमआरको अध्ययनले खोपको पूर्ण डोज लगाएपछि पनि डेल्टा भेरियन्टले संक्रमण भइरहेकाले अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाए पनि संक्रमणबाट नजोगाउने उल्लेख छ। खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यृ हुनबाट धेरै हदसम्म जोगाउने देखाएको छ।

फाइजर वा एष्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका दुई सातापछि र त्यसको तीन सातापछि संक्रमित भएका व्यक्तिले खोप नलगाएकालाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ बेलायतले जनाएको छ। यी दुई खोपमध्ये कुनै एक लगाएको व्यक्तिलाई खोप लिएको चार सातापछि लक्षणसहित संक्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ। कोभिडविरुद्धको खोपको पहिलो मात्राले मात्रै पनि संक्रमणको सम्भावना आधाले घटाएको र संक्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै भएको देखिएको छ। तथापि अमेरिकाको रेगेनरोन संस्थाको अध्ययनमा अटोइम्युन रोग र अन्य गम्भीर प्रकृतिका रोगका कारण शरीरमा प्रतिरोधी क्षमतामा कम हुन्छ। त्यस्ता व्यक्तिहरूमा खोपले एन्टिबडी उत्पादन गर्न नसक्ने वा गरे पनि कम भई रोगबाट बचाउन नसकेको देखिन्छ।

खोपभन्दा अर्काे विकल्प नभएको देखिन्छ। खोपले रोग प्रतिरोधात्मक क्षमता बढ्छ नै त्योभन्दा मनोविज्ञान ठूलो भएको छ।

अमेरिकी कम्पनी मोर्डनाका अनुसार १२ देखि १७ वर्षका करिब चार हजारमा गरिएको परीक्षणमा शतप्रतिशत प्रभावकारी छ। भारतले दुईदेखि १८ वर्षसम्म उमेरका लागि कोभ्याक्सिन खोप क्लिनिकल ट्रायलमा छ। अमेरिकी कम्पनी फाइजरले १२ देखि १५ वर्षमा गरिएको क्लिनिकल परीक्षणमा शतप्रतिशत प्रभावकारी देखिएको छ। अमेरिकाले १२ देखि १५ वर्षसम्मका छ लाख बालबालिकामा खोप लगाइसकेको छ। बेलायतमा दुईदेखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत एउटा स्प्रे दिने गरेको छ, जसले कुनै पनि संक्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ। यसै सिद्धान्तमा आधारित भएर हर्ड इम्युनिटी बन्नमा मद्दत पुग्नेछ। साना नभए पनि ठूलो उमेरका बालबालिका संक्रमित हुने र संक्रमण फैलाउने सम्भावना बढी छ। माध्यमिक तहमा अध्ययनरत बालबालिकामा संक्रमण हुने र फैलाउने सम्भावना बढी रहेका प्रमाण छन्।

बालबालिकालाई खोप लगाउँदा सम्भावित फाइदा भनेको अन्य व्यक्तिको जीवन बचाउन सक्छ। तसर्थ खोप संक्रामक रोगका लागि साँच्चै प्रभावकारी छ। तथापि फाइदा पूर्णरूपमा लिन उत्तिकै विवेकपूर्ण तरिकाले प्रयोग गरिनुपर्छ। तर के बालबालिकालाई खोप लगाएर समाज सुरक्षित रहला भन्ने प्रश्नको कठिन नैतिक र व्यावहारिक आयाम छ। नेपालमा विगतमा भित्रिएको कोभिसिल्ड खोपमा कुल प्राप्त र खोप लगाएकाको संख्याबीच तीन लाख मात्रा कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। कुल प्राप्त २३ लाख ४८ हजारमा २२ लाख ८९ हजार दुई सय १८ अर्थात् पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ र दुवै डोज चार लाख ६० हजार सात सय ३४ ले लगाए। जसमा भारतीय सेनाले दिएको एक लाख र बहराइनका राजकुमारले ल्याएको २० हजार डोज समावेश छैन।

पहिलो मात्रा खोप लिने ४३ लाख एकतिहाईभन्दा बढी बागमती प्रदेशका छन् भने दोस्रो मात्रा लगाउने २१ लाख बढीमा झन् ६० प्रतिशतभन्दा पनि बढी छन्। जसले खोपको समतामूलक वितरण नभएको तथ्य उजागर गर्छ। काठमाडौंमा १८ वर्षीय युवा खोपको लाइनमा उभिँदा पहाड तथा गाउँमा रहेका जेष्ठनागरिक टुलुटुलु हेरिरहनुपर्ने हुनुहँुदैन। देशभरका पाँच हजारभन्दा बढी खोप केन्द्र नै जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा संक्रमणका स्रोत बन्ने गरेका छन्। लक्षित समूहले नपाउने तर नेतालाई घरघरमै खोप पुर्‍याएको गुनासो छ। त्यस्तै खोप प्रमाणीकरण अनिवार्य भएकाले खोप पाउनकै लागि महिनौं कुरेका घन्टौं लाइनमा बस्ने गरेका छन्। खोप लगाएपछि पनि प्रमाण लिन त्यस्तै कठिन छ। हाल यो काम ५० शैर्‍यामाथि तथा ७७ जिल्लाका सबै सरकारी अस्पतालबाट गर्न सकिने भएको छ।

अन्तमा, दुई पटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डका विषयमा आजसम्म सबै नागरिकलाई राम्रो ज्ञान छ। बुझेर पनि नअपनाउनु फरक कुरा हो। दोस्रो लहरसँगै जनमानसमा सरकारले खोप अभियान व्यापक बनाउनु पर्छ भन्ने अपेक्षा जनताको ठूलो अपेक्षा छ। खोपभन्दा अर्काे विकल्प नभएको देखिन्छ। खोपले रोग प्रतिरोधात्मक क्षमता बढ्छ नै त्योभन्दा मनोविज्ञान ठूलो भएको छ। आजसम्मको उत्तम विकल्प भनेकै सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हात धुनु र आफूलाई स्वस्थ राख्न प्रयास गर्नु हो। निषेधाज्ञा र स्मार्ट लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउन सकिन्छ। तर सबैलाई कम्तिमा एक मात्रा खोप दिन सरकार र स्वास्थ्य मापदण्डप्रति नागरिक स्वयं पनि सचेत बन्नै पर्छ।

– लेखक डा. प्रकाश बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button