विचार/अन्तर्वार्ता

महिलाको मन

ADVERTISEMENT
ADVERTISEMENT

महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र पुरुषमा भिन्नता हुन्छ । आम महिला पुरुषको तुलनामा शारीरिक तथा मानसिक रूपमा कोमल तथा भावनात्मक रूपमा संवेदनशील, भावुक र दयालु प्रकृतिका हुन्छन् ।

ADVERTISEMENT

महिलाको मनमस्तिष्कमा विद्यमान यस्ता गुणका कारण नै महिला सृष्टिकी जननी भएकी हुन् । दया, माया, ममता र कोमलताकी समुद्र भएकी हुन् । आफ्ना सन्तानलाई हुर्काउन तथा परिवार र समाजलाई एकताबद्ध गराउन महिलाका यस्ता गुणले अहं भूमिका निभाउँछन् । तर, कहिलेकाहीँ महिलाको कोमलता र भावुकताजस्ता गुणहरू स्वयं उनीहरूका लागि नै समस्या पनि बन्ने गर्छन् । यस्तो समस्या

निरन्तर रहिरहेको खण्डमा यसले मानसिक रोगको रूप धारण गर्न सक्दछ ।

गोधुली समय थियो । उत्तरबाट सिरेसिरे हावा चलिरहेको थियो । नजिकैको रुखमा बसेको कोइलीले सुरिलो गीत गाइरहेको थियो । मौसम साह्रै नै मनमोहक थियो । तर, ज्योति (नाम परिवर्तन)का आँखा चाहिँ घरी हातको घडीतिर त घरी सडकतिर दौडिरहेका थिए । उनको मन ब्याकुल थियो, छटपटी बढिरहेको थियो । उनले बेलाबेलामा मोबाइल थिच्थिन् । तर, जतिपटक मोबाइल थिच्दा पनि तपार्इंले सम्पर्क गर्न खोजेको मोबाइल व्यस्त छ, पुनः सतम्र्पक गर्नुहोला भन्ने आवाज आउँथ्यो । त्यो आवाज सुन्नेबित्तिकै उनले भुइँमा खुट्टा बर्जाथिन् । अनि फेरि सडकतिर नजर दौडाउँथिन् । बिस्तारै साँझ पर्न थाल्यो । यत्रतत्रबाट झ्याउँकिरीहरू झ्याउँझ्याउँ गर्न थाले ।

महिलाको कोमलता र भावुकताजस्ता गुण उनीहरूका लागि समस्या बन्ने गर्छन्, यसले मानसिक रोगको रूप धारण गर्न सक्दछ

उनले फेरि घडी हेरिन् । अनि उनी रिसले आगो हुँदै आफ्नो बाटो लागिन् । म बाटोमा पुगेपछि उनले घर फर्किन ट्याक्सी रोक्न के खोज्दै थिइन् कि एकाएक उनको नजर केही अगाडि प¥यो ः जीवन मोटरबाइक पछाडि केटी राखेर सर्रर हुइकिँदै थियो । त्यो दृश्य आँखामा पर्नासाथ ज्योतिलाई आफूले टेकेको जमिन भाँसिएजस्तो लाग्यो । एक्कासि छाँगाबाट खसेजस्तो र धड्कन रोकिए जस्तो भयो ।

ADVERTISEMENT

उनी फटाफट ट्याक्सी चढेर घर गइन् । सरासर कोठामा पसेर बिछ्यौनामा मुढोझैं पल्टिएर डाँको छोडेर रुन थालिन् । रुँदारुँदा आँसु रित्तिए । उनको मन फाट्यो, तन टुट्यो । उनलाई यो सारा संसार नै स्वार्थी र बेइमानी लाग्न थाल्यो । यसरी नै दिनहरू बित्दै गए । उनलाई खाना रुचि हुन छोड्यो । निद्रा लाग्न छोड्यो । उनी दुब्लाउँदै गइन् । उनको सोच्ने शक्ति तथा आत्मविश्वास घट्न थाल्यो । उनले आफूलाई नितान्त एक्लो र असहाय महसुस गर्न थालिन् ।

छोरीको यो अवस्था देखेर ज्योतिका बाआमाले उनलाई अस्पताल लिएर गए । चिकित्सकले ज्योति डिप्रेसनबाट पीडित भएको निदान गरी उपचार अघि बढाए । अतः यसरी घटनालाई हेर्ने दृष्टिकोण (सोच)ले कसरी मुड (मनस्थिति) निर्माण गर्छ र नकारात्मक मनस्थिति केही दिनसम्म कायमै रहेको खण्डमा त्यसले कसरी मानसिक रोगको रूप लिन्छ भन्ने यो एक दृष्टान्त हो ।

मानसिक रोग हरेक वर्ग, लिंग, उमेर तथा संस्कृतिका मानिसलाई हुने सक्दछ तर भावुक प्रकृतिका मानिस बढी प्रभावित हुने गर्छन् । पुरुषको तुलनामा महिला बढी संवेदनशील र भावुक हुने हुनाले मनोरोगबाट महिला नै बढी प्रभावित हुने गर्छन् ।

हो, मानिससँग नै मन छ । त्यसैले त मानिसको मन टुट्छ । र, टुटेको मनस्थितिले नै डिप्रेसनलगायतका मनोवैज्ञानिक समस्या पैदा गर्छ । मानिसको यो मन अन्याय, अत्याचार, शोषण तथा थिचोमिचोका कारण पनि टुट्छ । कहिलेकाहीँ सानातिना कुराले पनि यो मन सिसाझैं फुट्छ । सधैं नमस्कार गर्ने मान्छेले कुनै दिन भुलेर नमस्कार नगर्दा नै यो मन फाट्छ । कसैले नदेखेर नमस्कार नर्फकाउँदा पनि यो मन फाट्छ । सँगै उभिएका दुई जनामध्ये एकलाई बस्ने आग्रह गर्ने तर अर्कोलाई केही नभन्ने हो भने पनि उसको यो मन फाट्छ । कति संवेदनशील र भावुक छ हगि † मानिसको यो मन ? अझ महिलाको मन ?

प्रायः अतार्किक र नकारात्मक सोचले नै मानिसको मन फाट्छ, मुड बिग्रिन्छ । धेरैलाई थाहा भएको कुरा हो, मानिसको मनमा दुई सोच हुन्छन्, एउटा हो, सकारात्मक सोच र अर्को हो, नकारात्मक सोच । यहाँ मनन योग्य कुरा के हो भने मानिसको मनमस्तिष्क, शरीर र व्यवहारमा सोचको ज्यादै ठूलो प्रभाव पर्छ । यथार्थमा यही सोचकै आधारमा नै मानिसको आचारण र व्यवहार हुने गर्छ । त्यो किन भने जुन सोच बारम्बार मनमा आउँछ, त्यो संकल्प बन्छ । र, त्यही संकल्प नै मस्तिष्कमा सम्बद्ध हुन्छ । मनमस्तिष्कमा घटेको यही घटनाले नै जन्माउँछ, दुई संसार, फूलको आँखामा फुलै संसार, काँडाको संसारमा काँडै संसार ।

तर, सोचको मनोविज्ञानलाई हेर्ने हो भने आम मानिसमा कुनै एक सोच हुँदैन । दुवै सोच हुन्छ, फूल सोच पनि हुन्छ, काँडा सोच पनि हुन्छ । त्यसैले कहिले उनीहरू काँडा सोचमा हुन्छन् त कहिले फूल सोचमा हुन्छन् । त्यसैले त अधिकांश मानिस जहिले पनि दिग्भ्रमित हुन्छन् । के ठीक के बेठीक छुट्टाउन सक्दैनन् । अनि धेरैपटक आफैंले आफ्नो मुड बिगार्छन्, मन फटाउँछन् । ज्योतिलाई नै हेर्नुहोस् । ज्योतिले वास्तविकता के हो भन्ने बुझ्दै नबुझी बेकारमा आफ्नो मन फटालेर डिप्रेसनको रोगी बन्न पुगेकी छन् । यसको मूल कारण उनको नकारात्मक र अतार्किक सोच हो । त्यो किनभने जीवनको बाइकपछाडि बसेकी त्यो केटी जीवनकी आफ्नै बहिनी वा नातेदार बहिनी पनि हुन सक्छे वा छिमेकी पनि हुन सक्छे ? सहकर्मी पनि हुन सक्छे ? होइन र ?

मानिसको शरीरजस्तै, मन पनि बिरामी हुन्छ, मन बिरामी भयो भने उपचार आवश्यक हुन्छ

यदि त्यो केटी जीवनकी नयाँ प्रेमिका नै हो भने पनि त्यत्ति सारै मन फटाएर के हुन्छ र ? जति यो मन फटाल्यो त्यत्ति नै यो मन झन्झन् फाट्दै जान्छ । अनि मानिस जिउँदो लास बन्न पुग्दछ । त्यसैले, यसरी नकारात्मक मुड बनाएर ज्योतिले झैं मन फटाएकाले बुझ्नुहोस्, जीवन गए, गौरव आउँछन् । गौरव गए, सलोन आउँछन् । सलोन गए, अनमोल आउँछन् । यो नै फाटेको मन टाल्ने सर्वोत्तम उपाय हो । तार्किक र सकारात्मक सोच नै जीवनको सच्चा सारथि हो ।

अर्को कुरा, अधिकांश मानसिक समस्या सेक्ससँग नै सम्बन्धित हुने हुनाले उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाले पनि आफ्नो समस्या पूरा खोलेर भन्न लजाउँछन् । जस्तो कि डिप्रेसनबाट पीडित महिलामा सेक्स इच्छा कम हुन्छ । जसले पतिपत्नीबीच कटुता पैदा गर्न सक्छ । यति हुँदा पनि महिलाले यो समस्यालाई आफैंभित्र गुम्स्याएर राख्न उचित ठान्छन् । सेक्सबाट सन्तुष्टि प्राप्त गर्न नसकेको कुरा पनि लुकाएर नै राख्छन् । परिणाम स्वरूप यस्ता महिला थप मानसिक समस्याको चंगुलमा पर्छन् । अनि पीडाको पहाड बोकी आँसु पिएर बाँच्न बाध्य भएका हुन्छन् ।

यो सरासर गलत हो । त्यसैले, हरेक महिलाले आफू वा आफ्नो पतिमा कुनै मानसिक समस्या तथा सेक्ससँग सम्बन्धित समस्या देखिएमा तुरुन्त मनोचिकित्सकसँग सम्र्पक गर्नुपर्छ, झारफुकतिर लाग्नुहुँदैन । चिकित्सकसँग राम्रोसँग छलफल गर्नुपर्छ । चिकित्सकलाई आफ्नो सम्पूर्ण समस्या बताउनुपर्छ । तब मात्र चिकित्सकलाई रोग पहिचान गर्न तथा उपचार गर्न सजिलो हुन्छ ।

अतः मानिसको शरीरजस्तै, मन पनि बिरामी हुन्छ । मन बिरामी भयो भने उपचार आवश्यक हुन्छ । त्यसैले, तपाईंमध्ये कसैमा मन आत्तिने, बिनाकारण घबराहट हुने, बढी चिन्ता लाग्ने, मन डराउने, मन उदास रहने, कुनै पनि कार्यमा रुचि नलाग्ने, मनमा नकारात्मक विचार आउने, मानसिक तनाव बढ्ने, एकदम थकाइ लाग्ने, थकाइ आरामपछि पनि कम नहुने, कुकुर बिरालो तथा लिफ्ट आदिको डर लाग्ने हुन्छ ।

अन्य मानिससँग कुरा गर्न धक तथा डर लाग्ने, निद्रा नलाग्ने, शरीरका विभिन्न भाग दुख्ने, भर्खरै राखेका वस्तु तथा परिचित मानिसको नाम बिर्सिने, औषधि गर्दा पनि रोग निको नहुने आदिजस्ता कुनै लक्षण देखिएका छन् भने मनोचिकित्सक वा क्लिनिकल मनोवैज्ञानिकसँग सम्पर्क गर्नु उचित हुन्छ । त्यो किनभने यस्ता लक्षण मानसिक रोगहरूका हुन सक्छन् । स्मरण रहोस्, उचित उपचारपछि प्रायः सबै किसिमका मानसिक रोग बिलकुल ठीक हुन्छन् ।

(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button