विचार/अन्तर्वार्ता

उनी आफैंले लेखेका थिए- विद्यापति आयु अवसान

ADVERTISEMENT
ADVERTISEMENT
अपन दैनिक
मंसिर १३, २०७७ मा प्रकाशित
३०७ पटक पढिएको

आज मैथिली आधुनिक साहित्यलाई उर्जा प्रदान गर्ने कवि  कोकिल विद्यापतिको स्मृति दिवस मिथिलाञ्चलसहित नेपाल र भारतको विभिन्न स्थानमा मनाइँदै छ ।

ADVERTISEMENT

कात्तिक धवल त्रयोदशी अर्थात् आजकै दिन मैथिली भाषाका महाकवि विद्यापतिको अवसान भएको थियो । उनले आफ्नो अवसानको विषयमा देहत्याग गर्नुभन्दा अगाडि नै लेखेका थिए ।

ADVERTISEMENT

मायबाप जो सदगति पाब

सन्तति अनुपम सुख आब ।

विद्यापति आयु अवसान

कात्तिक धवल त्रयोदशी जान ।।

उनको देहावसान भएको करिब सात सय वर्ष हुन लाग्दा पनि उनलाई अहिले पनि विश्व साहित्यमा स्मरण गर्ने गरिन्छ । मैथिल क्षेत्रमा उनलाई कविभन्दा पनि गीतकारको रुपमा व्याख्या गर्ने गरिन्छ । कवि कोकिल विद्यापतिको जन्म भारतको बिहार राज्यको मधुवनी जिल्लाको विस्फीमा भएको मानिन्छ ।

उनको जन्मको विषयमा यकिन तिथिको तथ्यांक नरहे पनि सन् १३४० देखि सन्१३७५ को मध्यमा भएको हुन सक्ने अनुमान गरिन्छ ।

विद्यापतिका पिता गणपति ठाकुर मिथिलाका तत्कालीन राजा कीर्ति सिंह र शिव सिंहका दरबारिया कवि थिए। पिता पनि कवि भएकै कारण उनमा पनि साहित्यप्रतिको रुची बढ्न गएको हुन सक्ने अनुमान गरिन्छ। विद्यापतिको काव्य रचनाहरुमा काव्य साधनाका तीन पक्ष देख्न सकिन्छ ।

उनको रचनामा आश्रय दाताका लागि यशोगान, श्रृंगार वर्णन र भक्तिभावना पाइन्छ । अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, शेखर, कविरत्न, कविरत्न कण्ठाहार लगायत विशेषण एवम् उपनामले उनलाई चिनिन्छ ।

विद्वानहरूका अनुसार विद्यापति काव्यिक रचनामा विषय सुहाउँदो रस र भाषा चयन सटिक रहेको पाइन्छ। विद्यापतिले वीररसका लागि अवहट्ट भाषालाई रोजेका थिए भने भक्ति र शृंगार गीतका लागि मैथिली भाषालाई छनौट गरे । अध्यात्म वा शास्त्रजन्य व्यवहारका लागि र राजा वा राजपरिवारको सदस्यको यशोगानका लागि संस्कृत भाषाको सहारा लिएको पाइन्छ । विद्यापति कवि अतिरिक्त भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डी सँगै समाज सुधारक समेत थिए ।

यसलाई विभिन्न धार्मिक ग्रन्थहरूले प्रमाणित गर्छ । उनी दरबारिया कवि रहे पनि दरबारमा मात्रै सीमित थिएनन्। उनी गरिब, धनी, ऊचनीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिहरूले झल्काउँछ ।

तत्कालीन समाजमा नारीको स्थान के कस्तो थियो ? नारीको प्रेम र विवाह, बालविवाह, बहुविवाह जस्ता विषयमा उनले आजभन्दा करिब सात सय वर्ष अगाडि आफ्ना कविताको माध्यमले कडा प्रहार गरेको पाइन्छ ।

यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारीको शृंगार जस्ता व्यक्तिगत एवम् सामाजिक जीवन उनका काव्य रचनाहरूले झल्काउँछ । त्यससँगै मिथिलाको आर्थिक स्थिति, खान पान, भेषभूषा, धार्मिक स्थिति पनि उनको काव्य रचनाहरुमा देख्न सकिन्छ ।

विद्यापतिको काव्य रचनामा उनी कतै वैष्णव भक्ति त कतै शैवमार्गतिर उन्मुख भएको देखिन्छ । तर, उनको काव्यले मनुष्यको मानसिक धरातलमाथि उठाउन मद्दत गर्छ र भविष्यप्रति आशा जगाउँछ । उनलाई विश्व मानवधर्मका पक्षपाती रहेको देख्न सकिन्छ । हाम्रै गाउँघरका सामान्य पति पत्नी विद्यापतिको काव्यमा राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन् । महाकवि विद्यापति आफ्ना पदावलीमा तात्कालिक समाजमा विद्यमान अप्रासंगिक बनिसकेका रुढी, सामाजिक विसंगतिप्रति आक्रोश पोख्नुका साथै व्यंग्य गरेको पाइन्छ ।

कविकोलिल विद्यापतिको जन्म भारतीय भूमिमा भए पनि उनको साइनो नेपालसँग विभिन्न कोणबाट जोडिन्छ । इतिहासकारहरूका अनुसार मुसलमान शासकहरूले मिथिलाका तत्कालीन राजा शिव सिंहलाई बन्दी बनाएर दिल्ली पुर्‍याए ।

विद्यापतिले शिवसिंहकी रानीसहित उनका परिवार एवम् सेवकहरूलाई आफ्नो संरक्षणमा राखेर हालको महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित बनौलीमा १२ वर्षभन्दा बढी समय बिताएको मैथिली एवम् संस्कृतका विद्वान डा. गोविन्द चौधरी बताउँछन् ।

डा. गोविन्दका अनुसार वनौली प्रवासको समयमा उनले लिखनावली नामक ग्रन्थ लेखेका थिए भने श्रीमद भागवतको मैथिली भाषामा अनुवाद गरेका थिए ।

विद्यापतिको कवित्वको प्रभाव उपत्यकाको धार्मिक र सांस्कृतिक जीवनमा पनि परेको देखिन्छ । उनले रचना गरेका भजनहरू मल्लकालदेखि आजसम्म पनि काठमाडौं उपत्यकाका तीन सहरभित्रका देवमन्दिर र भजनपाटीहरूमा गाइन्छ ।

काठमाडौं उपत्यकाका देवमन्दिर र भजनगृहमा नेवार समुदायले गाउने भजनहरूमा विद्यापतिका थुप्रै भजनहरू पाइन्छ ।

विद्यापतिको काव्यिक व्यक्तित्वमा परस्पर विरोधी विचारधाराको प्रभाव रहेको देखिन्छ । उनी सामन्तीय दरबारी कविहरूको परम्परामा रहे पनि लोकजीवनप्रति पूर्ण सचेत थिए। उनले संस्कृतमा काव्य रचना गरेका थिए तर उनको रसबस भने लोकभाषा मैथिली र अबहट्ठमा थियो ।

नेपालको पूर्व मध्यकाल अर्थात् दशौंदेखि चौधौ शताब्दीको इतिहास त्यति स्पष्ट छैन । त्यस कालको मिथिला क्षेत्रको इतिहास पनि सिलसिलावद्ध पाइँदैन ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button