दुर्घटना

विराटनगर । मोरङको बेलबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८ मा प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सडकमा रोकेर राखिएको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–८ का २९ वर्षीय डम्बर थापाको मृत्यु भएको जानकारी खड्काले दिए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्।

पराजुलीको नोबेलमै उपचार भइरहेको छ। खड्काका अनुसार दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टरका चालक मोरङको रंगेली नगरपालिका–१ का २९ वर्षीय कमलेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट दुवै सवारी साधनका चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!