विश्वकप छनोटबाट नेपाल बाहिरियो, एसिया कप छनोटमा यस्तो छ बाटो

विश्वकप छनोटबाट नेपाल बाहिरियो, एसिया कप छनोटमा यस्तो छ बाटो

अपन दैनिक
जेठ २५, २०७८ मा प्रकाशित
१४३ पटक पढिएको
विश्वकप छनोटबाट नेपाल बाहिरियो, एसिया कप छनोटमा यस्तो छ बाटो

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि नेपाल एसियाली क्षेत्रको दोस्रो चरणको छनोटबाट बाहिरिएको छ ।

विश्वकप र २०२३ को एसिया कपको संयुक्त छनोटको रुपमा रहेको एसियाली क्षेत्रीय छनोटको दोस्रो चरणको खेलमा सोमबार जोर्डनसँग ३–० गोलले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको हो । समूह बी मा रहेको नेपालले अब अष्ट्रेलियासँग अन्तिम खेल खेल्न बाँकी छ ।

एसियाली क्षेत्रीय छनोटको आठ समूहमध्ये प्रत्येक समूहको समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकपको लागि तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन् ।

समूहमा पाँचौ हार बेहोरेपछि नेपाल आफ्नो समूहमा चौथो हुने पक्का भएको छ । यस समूहमा अष्ट्रेलिया लगातार ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाललाई पराजित गरेको जोर्डन १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । कुवेत १० अंकसहित तेस्रो स्थानमा छ ।

लगातार सात खेल हारेको चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ । नेपालसँगै चाइनिज ताइपेई पनि विश्वकप छनोटको यात्राबाट बाहिरिएका छन् ।

नेपालको अबको बाटो

विश्वकपको यात्रा सकिए पनि नेपालले अझै एसिया कपको लागि छनोट खेल्नेछ । यदि समूहमा दोस्रो वा तेस्रो हुन सकेको भए नेपाल एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्ने थियो । तर समूहमा चौथो स्थानमा रहने पक्का भएको नेपालले त्यो अवसर गुमाइसकेको छ ।

अब नेपालले अष्ट्रेलियासँग खेल्न बाँकी रहेकाले नेपालले सिधै तेस्रो चरणको छनोटमा स्थान बनाउन लगभग असम्भव नै छ ।

तर नेपालको यात्रा टुङ्गिएको भने छैन । नेपालले तेस्रो चरणको छनोटमा पुग्न अब प्लेअफ हुँदै जानुपर्नेछ ।

अहिले भइरहेको छनोटबाट उत्कृष्ट १२ टिम सिधै एसिया कपमा छनोट हुनेछन् भने त्यसपछि १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकोले बाँकी १२ स्थानका लागि तेस्रो चरणको छनोट हुनेछ । त्यसमा थप ८ टिम प्लेअफमार्फत नै आउनेछन् ।

त्यसैले नेपालले अबको यात्रा प्लेअफबाट हुनेछ । प्लेअफमा अहिले छनोट खेलिरहेका ८ समूहमध्ये पाँचौ हुने टिम र चौथो हुनेमध्ये कमजोर ४ टिमले खेल्नेछ ।

समूह एचमा रहेको उत्तर कोरियाले कोरोनाको कारण नाम फिर्ता लिएपछि प्लेअफका लागि अब ११ टिम मात्र हुनेछ । उत्तर कोरियाले नाम फिर्ता लिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने तथा चौथो हुने र पाँचौ हुने टिमबीचको नतिजा र त्यसको अंक गणना हुनेछैन । त्यसैले नेपालले दुई खेल जित्दै ६ अंक जोडे पनि त्यो अन्तिम स्थानको चाइनिज ताइपेई विरुद्ध भएकोले तेस्रो चरणमा जानका लागि नेपालको त्यो अंक गणना हुनेछैन ।

अहिलेसम्म प्लेअफका लागि ६ टिम छनोट भइसकेका छन् । जसमा समूह ए बाट गुआम, समूह बी बाट चाइनिज ताइपेई, समूह सी बाट कम्बोडिया, समूह एफबाट मंगोलिया, समूह जी बाट इन्डोनेसिया र समूह एचबाट श्रीलंका छन् ।

सिधै तेस्रो चरण पुग्ने सम्भावना सकिसकेकाले नेपाल पनि यो सूचीमा थपिनेछ । यसबाहेक दक्षिण एसियाकै बंगलादेश र माल्दिभ्सले पनि प्लेअफ नै खेल्नुपर्ने सम्भावना धेरै देखिएको छ । बाँकी टिमको टुङ्गो समूह चरणका खेलहरु सकिएपछि नै हुनेछ ।

अहिलेसम्म आयोजक चीनसँगै छनोट चरण पार गरेका जापान, कतार र सिरिया एसिया कपका लागि छनोट भइसकेका छन् ।  यस्तै जापान र सिरिया विश्वकपका लागि तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् । कतार आयोजकको नाताले सिधै विश्वकपमा छनोट भइसकेको छ । त्यसैले कतारबाहेक बाँकी ७ समूहको विजेता र उपविजेतामध्ये उत्कृष्ट ५ गरी कुल १२ टिम एसियाबाट विश्वकपका लागि तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

छापा संस्करण

२०७८ असार १ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित