उपचार अभावमा मृत्यु, शवसमेत अलपत्र

उपचार अभावमा मृत्यु, शवसमेत अलपत्र

अपन दैनिक
बैशाख २१, २०७८ मा प्रकाशित
१६२ पटक पढिएको
उपचार अभावमा मृत्यु, शवसमेत अलपत्र

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो ।
कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको छ ।
ज्वरो, रुघाखोकी लागेका उनलाई परिवारजनले भाइरल ज्वरो रहेको भन्दै घरमै उपचार गर्दै आएका थिए । तर आइतबार राति ८ बजे श्वासप्रश्वासमा समस्या हुन थालेपछि उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
प्रादेशिक अस्पतालको आइसोलेशनमा बेड खाली नरहेको भन्दै उनलाई फर्काइयो । त्यहाँबाट जनकपुरधामको अन्य निजी अस्पतालमा लैजाँदा कुनै पनि अस्पतालले उपचारका लागि राख्न नमानेको पीडित परिवारको भनाइ छ ।
बाध्य भएर उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमा लगिएको थियो, जहाँ उनको मृत्यु भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानिरहेका थिएनन् ।
‘एम्बुलेन्समा रहेको अक्सिजन बिरामीलाई लगाइदिएर जनकपुरधामस्थित सरकारीदेखि निजी अस्पतालसम्म भर्नाका लागि भौतारिँदै गुहार लगायौँ,’ उनले भने, ‘प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजी अस्पतालमा पनि लिएर गयौं, कसैले भर्ना गरेनन् ।’
आर पी मेडिकल हलका सञ्चालक सुवोध साहले आफुले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको बताए । तर अन्त भर्ना नलिएपछि फर्काएर यतै ल्याइएको र बिरामीको मृत्यु भएपछि आफन्तहरुले समेत छाडेर गएको उनले बताए ।
हाल उनकै मेडिकल अगाडि युवकको शव बेवारिसे अवस्थामा छ । मृतकको कोही आफन्त नरहेका कारण शव व्यवस्थापनमा समस्या भएको स्थानीयको भनाइ छ । 

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित