सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिर्चैयाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शुक्रबार चुनाव भयो । चुनावमा अंजय साह नेतृत्वको प्यानल विजयी भयो । अंजयले अध्यक्षमा ९०३ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र साहले ६५५ मत पाए । चुनावअघि आफ्नो जीत सुनिश्चितताको दावी गर्ने उनी फराकिलो मतान्तरले लज्जास्पद हार व्यहोरे । हाल मिर्चैया नगरपालिकाको वडा ४, ५, ६, ७ र ८ मा सञ्चालित खानेपानी संस्थामा जम्मा मतदाता २४ सय ६१ रहेकोमा २ हजार ३२ मत कसेको थियो । खानेपानीको ९ सदस्यीय कार्यसमिति चयनका लागि भएको चुनावमा दलीय समूह खडा गरी विभिन्न ४ वटा प्यानल मैदानमा उत्रिएका थिए ।
साम, दाम, दण्ड, भेदको नीति अपनाएरै कार्यसमितिको नेतृत्व हात पार्न लडेका उनीहरूको चुनावी प्रचार–प्रसार र घरदैलोले स्थानीय तहकै चुनावको झल्को दिन्थ्यो । पटक–पटक गरिएको छलफलले सहमतिमा खानेपानीको कार्यसमिति बनाउने प्रयास असफल भएपछि उनीहरू लोकतान्त्रिक विधिबाट समिति चयन गर्ने निर्णयमा पुगे । त्यसमाथि नगरमा आफ्नो ‘प्रभाव र शक्ति’को मापन गर्ने चाहना पनि निर्वाचनको भित्री कारक बन्यो ।
स्थानीय स्तरमा विभिन्न पार्टी र स्थानीय नेताको जुँगाको लडाइँले गर्दा पनि खानेपानीको चुनाव बढी प्रतिस्पर्धात्मक रह्यो । चुनाव आफ्नो पक्षमा पार्न चारै खेमाका स्थानीय नेताहरु लागिपरेको देखिन्थे ।
निर्वाचित अध्यक्ष साह आफ्नो शक्ति परीक्षण तथा खानेपानी र सिंगो नगरमा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरूका कारण खानेपानीमा अनपेक्षित निर्वाचन भएको बताउँछन् । ’म स्वयं समहतिबाटै नेतृत्व चयन गर्न पटकपटक प्रयास गरेँ, तर हुन सकेन,’ उनले भने, ‘चुनाव भयो, म पनि उम्मेदवारी दिएँ ।’
राजनीतिक दलहरूमा जुनसुकै निकायमा पनि आफ्नो प्रभाव हुनुपर्ने गलत प्रवृत्ति बढेको छ । यो चुनाव पनि सबै निकायलाई आफ्नो ‘वश’मा राख्नुपर्छ भन्ने प्रवृत्तिकै उपज भएको उनको भनाइ छ । ’खानेपानी संस्था एक प्रकारको समाजसेवा नै गर्ने संस्था हो, तर यसलाई राजनीति गर्ने थलो बनाउन खोजिएको थियो ।’
आफू यसको विरुद्धमा उभेर खानेपानीलाई राजनीतिक थलो बन्नबाट जोगाउन लामो समय प्रयास गरेकै कारण मतदाताले आफूलाई जिताएको दावी उनी गर्छन् । ‘म पनि राजनीतिकर्मी हुँ, तर खानेपानीलाई यसबाट टाढै राख्न खोजिरहे,’ उनले भने, ‘सबैले चुनाव नै भनेपछि म पनि चुनाव लडेँ, मैले मात्रै खानेपानी संस्थालाई राजनीतिबाट टाढा राख्नसक्ने पात्र सम्झेर जनताले मलाई जितायो ।’
तर, सहमतिमा हुन नसकेपछि निर्वाचनमा जानुलाई गलत भन्न नमिल्ने पनि उनी बताउँछन् । यसलाई राजनीतिक गंधबाट टाढा राख्न सक्नु आफ्ना लागि प्रमुख विषय भएको उनले बताए ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित