काकासँग बदला र बुवाको खोज यात्रामा हिँडेका हैदर, हेर्नुस् युट्युबमा

काकासँग बदला र बुवाको खोज यात्रामा हिँडेका हैदर, हेर्नुस् युट्युबमा

अपन दैनिक
फाल्गुन २१, २०७७ मा प्रकाशित
२९८ पटक पढिएको
काकासँग बदला र बुवाको खोज यात्रामा हिँडेका हैदर, हेर्नुस् युट्युबमा

गुड फ्राइडे सिनेमा

'ह्यामलेट' सेक्सपियरको चार सय वर्षभन्दा पुरानो चर्चित नाटक हो । नाटकको सुरूमै डेनमार्कका राजकुमार ह्यामलेट आफ्ना बुवाको मृत्यु शोकमा हुन्छन् । त्यसपछि उनका काका क्लाउडियसले आमा गेर्ट्रुडसँग विवाह गर्छन् र सत्ता पनि हत्याउँछन् ।

यो घटनापछि राजकुमार ह्यामलेटको सपनामा बुबाको भूत आउन थाल्छ र क्लाउडियस आफ्नो हत्यारा भएको बताउँछ । त्यो सपनामा आउने भूतले यो पनि भन्छ- छोरा तिमीले आफ्नो काका क्लाउडियसँग बदला लिनुपर्छ । जसरी पनि बदला लिनुपर्छ ।

तर सपनामा बुवाको भूतले भनेका कुरा सत्य हुन् वा भ्रम भनेर ह्यामलेटले ठम्याउन सक्दैन । बिस्तारै उसको मानसिक स्थिति खलबलिन्छ ।

प्रतिशोध र नियतिको कथा भन्ने ह्यामलेट संसारभरका पाठक र दर्शकसम्म पुग्न सफल नाटक हो । यस्तो नाटक हो जुन आजको समयमा पनि रंगमञ्च र सिनेमामा दोहोरिइरहेको छ । हरेक पुस्ताका निर्देशक, लेखक, कलाकार, दर्शकलाई आकर्षित पार्न सफल ह्याम्लेटले बलिउडलाई पनि प्रभावित पार्ने नै भयो ।

सेक्सपियरबाट प्रभावित भई सिनेमा बनाउने बलिउड निर्देशकको सूचीमा विशाल भारद्वाजको नाम सबभन्दा अगाडि आउँछ । उनले सेक्सपियरको 'म्याकवेथ', 'ओथेलो' र 'ह्यामलेट' बाट प्रभावित भई क्रमश: 'मकबुल', 'ओमकारा' र 'हैदर' बनाएका छन् । र यी तीनै फिल्मबाट उनले प्रशस्तै प्रशंसा पनि पाएका छन् ।

'मकबुल', 'ओमकारा' र 'हैदर' निर्देशक भारद्वाजको सिक्वल फिल्म हो। तीनमध्ये हैदर व्यावसायिक सफलता र समीक्षकको प्रशंसा दुवै हिसाबले अब्बल मानिन्छ। निर्देशक, कलाकार, फिल्मले उठाउने मुद्दा, संवाद, संगीत, फिल्म छायांकनका लागि रोजिएको ठाउँलगायतका कारण हैदर हेर्नैपर्ने फिल्म हो ।

हैदरको कथाको जग सेक्सपियरको ह्यामलेट भए पनि समय, सन्दर्भ र प्रस्तुति हिसाबले निर्देशक भारद्वाजले यसलाई आफ्नै अन्दाजमा ढालेका छन् । यसको कहानी काश्मिरको परिवेशमा भनिएको छ । आतंकवादी समूह र सेनाको बन्दुकको त्रासको वातावरणबीच हुर्कने हैदर पात्रको परिवारको कथा छ। 

आतंकवादको छाया नपरोस् भनेर अलिगढ पढ्न पठाइएका हैदर घर फर्किंदा न बुवा भेट्छन् न घर हुन्छ। उसै दुःखी हैदर झन् विक्षिप्त बन्छन् जब आफ्नी आमा गजला र काका खुर्रमलाई अस्वाभाविक रूपमा निकट देख्छन्। काका र आमाबीचको सम्बन्ध देखेपछि हैदर उनीहरूलाई घृणा गर्न थाल्छन्।

हिंसाको भूमरीमा फसेको काश्मिरमा मान्छे वेपत्ता पारिनु सामान्य घटनाजस्तै भए पनि हैदरमा बुवाका अवस्था पत्ता लगाएरै छोड्ने जिद्दी हुन्छ। यो जिद्दीले उनलाई एउटा डरलाग्दो र सकसपूर्ण यात्रामा हिँडाउँछ। यस दौरान परिस्थितिले कविता लेख्ने निर्दोष हैदरलाई कठोर बनाउँदै लान्छ। उनी मानसिक विचलनको अवस्थासम्म पुग्छन्।

बुवाको खोज र काकासँग बदला लिने यात्रामा हिँडेका हैदरकहाँ पुग्लान् ? के गर्लान् ?

फिल्म हेरेर तपाईं पनि हैदरको यात्राको साक्षी बन्न सक्नुहुनेछ। फिल्मले तपाईंलाई हैदरमार्फत जटिल राजनीतिक परिस्थितिमा बाँच्न बाध्य काश्मिरका मान्छेहरूको कथा पनि भन्छ। उनीहरूको कहालीलाग्दो भोगाइको साक्षी पनि बनाउँछ।

सेक्सपियरको ह्यामलेटमा उसको राज्यमाथि बाहिरी आक्रमण भइरहेको हुन्छ। उसको परिवार छिन्नभिन्न भएको हुन्छ। यिनै कारणले ह्यामलेटलाई उदास र विचलित बनाएको हुन्छ। हैदरको अवस्था पनि उस्तै छ। फिल्ममा भारत शासित काश्मिरको सशस्त्र द्वन्द्वका सन्दर्भहरू ब्याकड्रपका रूपमा आएको छ। ह्यामलेटलाई आधार बनाइए दक्षिण एसियाकै द्वन्द्वग्रस्त ठाउँ काश्मिरको चित्रण गरिएको हैदर मौलिक लाग्छ। 

मुख्य पात्र हैदरको चरित्र-चित्रण र अभिनय सशक्त छ। परिस्थितिअनुसार हैदरको हाउभाउ र कार्यमा आउने रूपान्तरण विशेष लाग्छ। हैदरकी आमाको भूमिका निर्वाह गरेकी तब्बु नबोली मनका उकुसमुकुस र द्वन्द्व महशुस गराउन सफल छिन्।

आँखाबाट आफूलाई अभिव्यक्त गर्नसक्ने रुहदारको भूमिकामा इरफान खानको अभिनय उत्तिकै दमदार लाग्छ। यसबाहेक केके मेनन र श्रद्धा कपुर पनि आफ्नो भूमिकामा जमेका छन्।

बलिउडमा संगीतकारका रूपमा करिअर सुरू गरेका निर्देशक भारद्वाज कुशल संगीतकार पनि हुन्। उनका फिल्ममा गुलजार छुट्दैनन्। हैदरमा गुलजारका शब्दबाहेक फैज अहमद फैजले लेखेका दुई गीत पनि छन्। यी दुई सशक्त गीतकार-कविका शब्दसँगै काश्मिरकै लोकलय, लोकबाजा र लोककथा समेत हैदरका गीतमा अटाएका छन्। 

'गुलों मे रंग भरे', 'बिस्मिल', 'खुल कभी तो', 'आज के नाम', 'आओ ना वा झेलम', फरक स्वाद बोकेका हैदरका हरेक गीत उत्कृष्ट छन्। फिल्मको कथासँगै यी गीतले पनि कहीँ पात्र त कतै काश्मिरको कथा भनिरहन्छ।  

यति धेरै विशेषता बोकेको हैदर हेर्न बाँकी भए आज-अहिल्यै किन नहेर्ने ?

 

 

 

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित