पृथ्वी राजमार्गमुग्लिन–पोखरा सडक विस्तार
पृथ्वी राजमार्गमा पर्ने डुम्रे बजार । पोखरा–मुग्लिन सडक चार लेन बनाइँदा यहाँका अधिकांश घर भत्काइनेछन् ।

तनहुँ  । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका क्रममा तनहुँ खण्डमा पर्ने साढे ६ हजारभन्दा बढी रूखबिरुवा काटिने भएका छन् । राष्ट्रिय राजमार्गको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रमअन्तर्गत साविक २ लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्ने क्रममा बोटबिरुवा काट्न लागिएको हो ।
गण्डकी प्रदेशको ‘लाइफलाईन’ रहेको यस सडक चार लेनको बनाउने क्रममा आँबुखैरेनीदेखि कोत्रेसम्मका सानाठूला गरी ६ हजार ७ सय ५० रूखबिरुवा काटिने डिभिजन वन कार्यालयका सहायक डिभिजन अधिकृत अरुण पराजुलीले बताए । राइट अफ वेमा पर्ने सबै रूख काट्न अनुमति लिइसकेको कार्यालयले जनाएको छ ।

खयर, सिसौ, कटुस, कटहर, कपूर, चिलाउने, सिफललगायत प्रजातिका विभिन्न रूखबिरुवा कटान हुने उनले बताए । पराजुलीले भने, ‘आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित सयौं वर्ष पुरानो बरपिपलको रूख पनि काटिदै छ ।’ उनका अनुसार सडकको काम गर्ने आयोजनाले रूख काटेर डिभिजन वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सडक बिस्तारका क्रममा कास्की खण्डमा एक हजार २ सय ५० रूख काटिनेछ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मुग्लिन–पोखराको दूरी ९३ किमि छ । जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) पश्चिम गरी दुई खण्डमा छुट्याएको छ ।

चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा पाएको मुग्लिङ–पोखरा सडक सुधार योजना पश्चिम खण्डका योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए । उनले भने, ‘चार लेनको सडक निर्माणका लागि अझै ३/४ महिना लाग्छ तर सडक मर्मत सुधारको कार्य भने दसैंअघि नै गर्ने योजना बनाएका छौं ।’

यस्तै ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलेनै आँबुखैरनी–जामुने पूर्वी खण्डको सडक निर्माणको जिम्मा पाएको आयोजना प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘गत भदौं १३ गते नै सडक डिभिजन कार्यालय तनहुँले राजमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी हामीलाई दिइसकेको छ ।’ आयोजनाले यसअघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी ८ किलोमिटर विद्युत् लाइन स्थानान्तरण गरेको छ । ‘अब विद्युत् लाइन सार्ने कामसँगै राजमार्गमा परेका रूख कटानलाई प्राथमिकता दिइएको छ,’ सुवेदीले भने, ‘केही समयमा रूख काटिनेछ ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । यस्तै, सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने योजनाका रिसेटलमेन्ट स्पेसलिस्ट चिन्तामणि शर्माले बताए । शर्माका अनुसार दमौलीको मादी नदीमा चार लेन र पोखराको सेती नदीमा पुरानो पुलसँगै नयाँ दुई लेनको सिग्नेचर पुल निर्माण गरिने भएको छ । उक्त पुलको लम्बाइ करिव ४ सय मिटरको हुनेछ । यस सडक खण्डका अन्य ठाउँमा साना ८ वटा पुल निर्माण हुनेछन् ।

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्छ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत सानाठूला बजार क्षेत्रहरू पर्छन् । यी बजारहरूमध्ये बढी मात्रमा आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौलीलगायत बजार क्षेत्र प्रभावित हुनेछन् ।

‘सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घर, टहरा तथा अन्य भौतिक संरचना भत्काउँदा एडीबीको नियमानुसार उचित मूल्यांकन गरी मुआब्जा दिने व्यवस्था रहेको छ,’ शर्माले भने, ‘हालसम्मको अध्ययनअनुसार तनहुँका ६ सय घरटहरामा क्षति पुग्ने अनुमान गरिएको छ ।’ यस्तै, आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदै छ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत् गृह रहेकाले सडक फराकिलो बनाउन समस्या देखिएकाले सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!