यो वर्षको शैक्षिक सत्र जेठ मसान्तसम्म

यो वर्षको शैक्षिक सत्र जेठ मसान्तसम्म

कक्षा १ देखि १२ सम्मको परीक्षा जेठभित्रै सक्नुपर्ने, एसइईमा विद्यालय स्थानान्तरण गर्न पाउने

अपन दैनिक
फाल्गुन ६, २०७७ मा प्रकाशित
१३० पटक पढिएको
यो वर्षको शैक्षिक सत्र  जेठ मसान्तसम्म

काठमाडौं । सरकारले ०७७ को शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोभिडका कारण ढिला सुरु भएको पठनपाठनलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने र आगामी १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने औपचारिक निर्णय गरेको हो । 

शिक्षा नियमावलीको संशोधनले विपत्को अवस्थामा शैक्षिक सत्रबारे निर्णय गर्ने अधिकार शिक्षा मन्त्रालयलाई दिएपछि बुधबार यस्तो निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा १ देखि १२ सम्म पढाइ र परीक्षा जेठ मसान्तसम्म सक्ने गरी ०७७ सालको शैक्षिक सत्र लम्ब्याउने निर्णय भएको जानकारी दिए ।

यसअघिको व्यवस्थाअनुसार चैत मसान्तसम्म शैक्षिक सत्र रहेकामा नियमावली संशोधन गरी त्यसको निर्णय गर्ने अधिकार शिक्षा मन्त्रालयलाई दिएपछि समय बढाउने निर्णय भएको हो । 

शैक्षिक सत्र कहिलेसम्म सञ्चालन हुने भन्ने औपचारिक निर्णय नहुँदा कक्षा सञ्चालन र परीक्षाको विषयमा समेत अन्योल भएको थियो ।

विद्यालयस्तरमा कहिलेसम्म पढाउने र परीक्षा हुने भन्ने विषयमा अन्योल थियो ।

त्यसैगरी एसइई र कक्षा १२ को परीक्षाको विषयको परीक्षाको तयारीमा समेत असर परेको थियो । 

मन्त्रालयका प्रवक्ता शर्माले ०७७ को शैक्षिक सत्र जेठ मसान्तमा सकेर असारमा नयाँ शैक्षिक सत्र सुरु गर्ने र ०७८ मा चैत मसान्तमा शैक्षिक सत्र सम्पन्न गर्ने योजनासहित काम भइरहेको बताए । उनले भने, ‘लामो बिदा व्यवस्थापन गरी दुई वर्षभित्र पहिलेकै अवस्थामा ल्याउने स्पिरिटमा काम गरिरहेका छौँ ।’ लामो बिदा हुने हिउँदे र बर्खे बिदालाई घटाउने र दुई सय २० दिन विद्यालय सञ्चालन गरेर शैक्षिक सत्र व्यवस्थापन गर्ने लक्ष्य रहेको उनले बताए । 

कोभिड–१९ का कारण गत ६ चैतबाट बन्द भएका शैक्षिक संस्था काठमाडौंमा केही समयअघिदेखि मात्र भौतिक रूपमा सञ्चालनमा आउन थालेका छन् ।

कोभिडका कारण शिक्षा मन्त्रालयले गत १९ जेठमा वैकल्पिक विधिबाट शिक्षण गराउन निर्देशिका जारी गरी १ असारबाट भर्चुअल कक्षा सञ्चालन भएका थिए ।

केही विद्यालय महिनौँअघि भौतिक रूपमा सञ्चालन भए पनि काठमाडौंका भित्री सहरका विद्यालय भने गत माघदेखि सञ्चालनमा छन् । 

एसइईमा विद्यालय  स्थानान्तरण गर्न पाउने

यस वर्ष एसइई दिने विद्यार्थीले विद्यालय स्थानान्तरण गर्न पाउने भएका छन् ।

कोभिडका कारण शिक्षा मन्त्रालयले ल्याएको आकस्मिक कार्ययोजनाअनुसार विद्यार्थी आफूनजिकैको विद्यालयमा भर्ना भएर पढेकाले अब एसइई दिँदा आवश्यक ठानेमा विद्यालय स्थानान्तरण गर्न पाउने निर्णयसमेत भएको छ ।

कोभिडको प्रभावका कारण कक्षा १० मा नयाँ विद्यालयमा पढेको र विद्यार्थीले पहिले कक्षा ९ सम्म अध्ययन गरेको विद्यालयबाट एसइई दिन चाहेमा स्थानान्तरण गर्न सक्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले बताए ।

विद्यार्थीले विद्यालयमा निवेदन दिने र विद्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा जानकारी दिन सक्ने व्यवस्था गरेको छ ।

यसअघि कक्षा १० मा विद्यालय स्थानान्तरण गर्न पाउने व्यवस्था थिएन ।

शिक्षा मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रदेशसँग समन्वय गरी एसइईको परीक्षाको तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई आग्रह गरेको छ । 

 शैक्षिक सत्र लम्ब्याउनु सकारात्मक

ऋतुराज सापकोटा ,राष्ट्रिय प्याब्सनका अध्यक्ष 

सरकारले जेठ मसान्तसम्म शैक्षिक सत्र लम्ब्याउनु सकारात्मक हो । कतिपय विद्यालय भर्खर सञ्चालनमा आएका छन् । जेठ मसान्तसम्म विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि हुन्छ । केही समय लम्ब्याउनु आवश्यक पनि थियो । शैक्षिक सत्रका विषयमा औपचारिक निर्णय नहुँदा अन्योल थियो, अब शैक्षिक क्रियाकलापले गति लिन्छ । नयाँ पत्रिकामा खबर छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित