काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (नक्कली भ्याटबिल) प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले विभिन्न १४ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा २ वटा मुद्दा दर्ता गरेको छ । विभागले न्यू सयपत्री इन्टरप्राइजेज सहित १३ फर्मविरुद्ध र संकित जनरल सप्लायर्सविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
न्यू सयपत्रीका संचालक, प्रोप्राइटर तथा मुख्य अभियुक्त गरी १५ जनाबाट १ अर्ब ३४ करोड ९५ लाख बिगो कायम गर्दै विभागले मुद्दा दायर गरेको विभागले जानकारी दिएको हो ।
नक्कली भ्याट बिल बनाई राजस्व छली गरेको आरोपमा बारा जिल्ला सिमरा पिपरा- १ बस्न बस्ने न्यू सयपत्री इन्टरप्राईजेजका प्रोप्राइटर विवेक मगरसहित अन्य १३ वटा फर्मका १५ जना संचालक र प्रोप्राइटर छन् । उनीहरु विरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँ बराबर बिगो कायम गरिएको छ ।
यी १३ वटै फर्मका मुख्य कारोबारी मनिष कुमार हुन् । न्यू सयपत्री इन्टरप्राइजेजले कमजोर आर्थिक अवस्था भएका तथा मजदुर लगायतका व्यक्तिको नाममा कम्पनी दर्ता गरि विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१/२०७२ देखि २०७३/२०७४ सम्ममा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेको पाइएको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, नक्कली भ्याटबिल बनाई राजश्व छली गरेकै कसुरमा विभागले सर्लाही जिल्ला बलरा गाउँपालिका-२ बस्ने संकित जेनेरल सप्लायर्स प्रालिका संचालक सुबोध साहबाट १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ बिगो असुल माग गर्दै मुद्दा दायर गरेको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित