न्युयोर्क । अमेरिकी संसद भवनमा बुधबार भएको प्रदर्शनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार भएको भन्दै कारबाही गर्नुपर्न माग उठ्न थालेको छ । उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल थालेका छन् ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई पदबाट हटाउने विषयमा डेमाक्रेट नेताहरु आफ्नो निरन्तर सम्पर्कमा रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘ट्रम्पको राजद्रोहको कदमका कारण संसद उनीविरुद्ध महाअभियोग लगाउन बाध्य हुनसक्नेछ ।’
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफू ह्वाइटहाउसबाट बाहिरिएपछि आफू र आफ्ना परिवारविरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावना बढेपछि ट्रम्पले चिन्ता व्यक्त गरेको बताइएको छ । उनले आफू र आफ्ना छोराछोरीलाई आममाफी दिने विषयमा वकिलहरुसँग छलफल गरेका छन् ।
ट्रम्पले आफूले आफैंलाई क्षमादान दिने अधिकार भए नभएकोबारे कानुनी राय मागेको बताइएको छ । उपराष्ट्रपति माइक पेन्सले २५ औं संसोधनका आधारमा ट्रम्पलाई पदमुक्त नगरे अर्को महाअभियोग लगाउने हाउस स्पीकर न्यान्सी पेलोसीले चेतावनी दिएकी छिन् । राष्ट्रपति काम गर्न अयोग्य भएको खण्डमा क्याबिनेटको बहुमतले २५ औं संसोधनका आधारमा पदमुक्त गर्नसक्ने प्रावधान रहेको छ।ट्रम्पको कार्यकाल जनवरी २० सम्म छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित