रेल आयो, रेल आयो फुस्सा !

रेल आयो, रेल आयो फुस्सा !

धनन्जय पौड्याल
पौष १५, २०७७ मा प्रकाशित
१०४ पटक पढिएको
रेल आयो, रेल आयो फुस्सा !

म सम्झने गर्छु अतीतदेखि वर्तमानसम्म । मेरो दिमागमा ताजै छन् इतिहासका पानाहरू । म समयलाई खुब नियाल्छु । म ठूला मानिसका आवाज र ती आवाजका कार्यान्वयनका बारेमा निकै चासो राख्छु ।

हुन त यतिबेला देशमा के के नै आयो भनेर खुसी भएको बेलामा फुस्सा भएको क्षेत्र धेरै नै भइसके, र व्यंग्य मात्र होइन कि सिधैँ टिप्पणी पनि हुन थालेको छन् । तर धेरै अगाडिदेखि लम्पसार परेर बसेको रेलमाथि कमैको मात्र ध्यान पुगेको देखिएकोले केही सुधार भइहाल्छ कि भन्ने सोचेर यसमाथि टिप्पणी गर्न खोजिएको हो ।

नेपालीमा एउटा उखान छ, सायद धेरैले सुन्नु भएकै होला, 'हात्ती आयो, हात्ती आयो फुस्सा !' केही हुन्छ कि भनेर आश गरेको बेलामा भएन भने यही भत्रे गर्छौं । खासगरी बच्चाहरूमा रमाइलोको लागि यस्तो टुक्का प्रयोग गर्ने गरिन्छ । तर यहाँ त बच्चाभन्दा ठूलैको लागि नै प्रयोग गर्नु परिरहेको छ ।

कुरा के हो भने भर्खरै मात्र (गत असोजमा) जनकपुरमा धुमधडाकका साथ झल्झलाकारको अति आरामदायी देखिने एकदम नयाँ रेल ल्याइयो । त्यसको उद्घाटन पनि गरियो र हरियो झण्डा देखाएर छुकछुक गर्दै चलाइयो पनि । चढ्नेलाई मात्र नभइ टिभिमा हेर्नेलाई पनि रमाइलो भयो ।

तर चलेको भोलिपल्टदेखि नै रेलको अगाडि रातो झण्डा देखाइएको अहिलेसम्म त्यही स्थिति छ (मतलब रेल चल्न सकेको छैन ।) अब त रेल चलाउने कुरा परै जाओस्, त्यसलाई बचाएर राख्नै पनि समस्या हुन थालेको छ । रेलको नभएर पटरीको फलेकहरूको चोरी हुन थालेको कुरा मिडियाहरूमा आइसकेकोछ ।

रेल गुड्ने बाटो नै ठिक नभएपछि रेल चल्ने त कुरै भएन । अब सरकारलाई झन् हाइ सन्चो भयो । लिगको अवस्था नै ठिक नभएकोले रेल चलाउन सकिएन, यसमा सरकारको दोष छैन, अथवा दोष देख्नेहरू विरोधी हुन् भत्र पाइयो । अर्कोतिर थन्केर बसेको रेलको सुरक्षाको लागि एउटा सुरक्षा डफ्फानै खटाउनु पर्ने भयो । बिना उपलब्धिको खर्च मात्र ।

अब यो यतिमै सीमित हुने जस्तो पनि दखिन्न । रेललाई अहिले पूरै घुम्टो ओडाएर राखिएको छ । तर लामो समयसम्म यसरी थन्काउदा घाम, पानी, हावा, हुरी, असिना आदिले गर्दा रेलको जुन आकर्षक रङ्ग थियो, विस्तारै उड्दै जान्छ, पार्ट पूर्जामा पनि खिया लाग्ने हुँदै यो रेल चल्न सक्ने अवस्थामा हुँदैन ।

तिनै पार्टपूर्जाहरू पनि चोरी हुने र हुँदाहुँदा रेल कालान्तरमा छिमेकका बच्चाहरूको लागि खेल्ने कुद्ने बस्तु, वा जसरी हाल प्राइभेट क्षेत्रमा पुरानो प्लेनलाई म्युजियम बनाइएको छ, त्यसरी नै सरकारले रेलभित्र पनि म्युजियम बनाएर त्यसबाट क्षतिउपर गर्नु पर्ने हुनसक्छ ।

रेल यस्तो साधन पर्यो कि मोटर जस्तो गुडाएर कतै कुना काप्चातिर कोचौं अथवा प्लेनलाई जस्तै हयाङ्गरतिर थन्काऔँ भन्न पनि मिलेन । यसका लागि पहिले त लिग नै चाहियो अनि थन्काउने ठाउँ पनि चाहियो जुन सुविधा पाउन सजिलो छैन । छिमेकीलाई गुहार्नु भनेको लज्जास्पद कुरा भयो ।

रेल जहाँबाट ल्याइएको त्यही लगेर अहिले चलाउन सकेनौँ, यहीँ थन्काइदिनु पर्यो भत्रु उचित भएन । जहाँबाट कैयौँ रकम (करिब ८५ करोड) तिरेर ल्याइयो फेरि उनैलाई अहिले विभिन्न कारणबस उनीहरूले तोके बमोजिमको भाडा तिरेर थन्काइदिनु पर्यो भन्नु व्यवहारिक देखिन्न । अन्त्यमा यथास्थानमै यसको बास हुने पक्कै देखिन्छ।

अब हेरौं यस्तो अलपत्र हुने, ल्याएपछि थन्काउनु पर्ने, रेल व्यवस्थापनको लागि आवश्यक कर्मचारी र रेल चलाउने ड्राइभर समेतको व्यवस्था नै नगरी हतारमा रेल ल्याउनु पर्ने आवश्यकता किन पर्यो ?

जनतालाई हेर मैले रेल ल्याएँ भनेर देखाउनलाई हो भने योभन्दा अगाडिको विद्युतीय बस चढेर हल्ला खल्ला गरेको त जनताले बिर्सिने कुरै भएन । तर हाल उक्त बस कता कुन हालतमा छ भन्ने कुरा जनतालाई थाहा नभएको बाट यो रेल पनि त्यस्तै हुन्छ भन्ने कुरा उनीहरुले अनुमान लाइसकेका थिए । अहिले उक्त अनुमान मिल्न आएको छ ।

देशको लागि एउटा रेल चल्न नसक्नु, बस थन्किनु, पानी जहाज पानी मै बग्नु आदि कुरा ठूला होइनन् भन्ने तर्क पनि आउन सक्छ । तर यहाँ भन्न खोजेको यो हो कि देश प्रणाली (सिष्टम) मा चल्नुपर्छ । योजना नीति स्पष्ट हुनु पर्छ ।

देशलाई के आवश्यकता हो, के गर्दा किफायति हुन्छ र दिगोपन राख्न सकिन्छ आदि कुराको राम्रो लेखाजोखा हुनुपर्छ । कसैको मनमा जे सनक चल्यो त्यही गर्ने हो र ? देशमा नीति नियम बनाउने र स्रोत परिचालन गर्ने निकायहरू तह तहमा बसेका छन् ।

नीति निर्माणमा मार्ग दर्शन गर्ने राष्ट्रिय योजना आयोगमा अब त डाक्टर नभएकाहरू खोज्नु पर्ने भएको छ । तर देशको हालत यथास्थानमै रहेको छ । विकासको कुरा गर्दा सरकारले यति विकास गर्यो, उति विकास गर्यो तर गरेको नदेख्ने नगरेको बारेमा मात्र कराउने भन्छन् । यो त सामान्य कुरा हो ।

बाबुआमाले छोराछोरीको पालनपोषण गरेको, बिहे ब्रतबन्ध गरेको बारेमा कसैले पनि एक्दम राम्रो गर्यो भनेर बाबुआमाको गुणगान गाउँदैनन् किनकी त्यो बाबुआमाको कर्तव्य नै हो, धर्म नै हो । बरू बाबुआमाले राम्रो गरेनछन् भने अनि अरुले कुरा काट्न थाल्छन् ।

देशमा सरकारको भूमिका पनि त्यस्तै हो । संरक्षकको रूपमा रहेर जनताको लागि सेवा सुविधा पुर्याउनु र देशको विकास गर्नु सरकारको कर्तव्यनै हो । कर्तव्य निर्वाह गरेकोमा पनि कसैले प्रशंसा गर्छ र ? ठिकसंग निर्वाह भएन, जनताले सेवासुविधा पाउन सकेनन् भने सरकारको बिरुद्ध गरिएको आलोचनात्मक टिप्पणीलाई सरकारले स्वाभाविकै रूपमा लिनु पर्दछ।

यसरी हतार हतार गरेर आवश्यक पूर्वाधार तथा जनशक्तिको उचित व्यवस्थापन बिना रेल ल्याएर ढुक्कसँग थन्काउनुको पछाडि केही आर्थिक चलखेल हुनैपर्छ ।

किनकी आजभोलि यति सानो र थोरै जनसंख्या भएको देशमा खासै नरुचाइएको, औचित्य नभएको संघीय प्रणालीमा सडक बन्नुभन्दा पहिले सवारी साधन त्यसमा पनि प्राडो-पजेरो किन्नु, मर्मतभन्दा नयाँ खरिदमा आँखा लाग्नु, एउटा लाइफ ब्वइ साबुनको मूल्य समेत अपत्यारिलो हिसाबले राख्नु आदि जस्ता कुरात अब पच्ने भैसक्यो । यस्तो कुरामा न अधिकारवाला न अख्तियार कसैको पनि ध्यान पुग्ने कुरा भएन ।

रेलकै कुरा गर्दा रेलसँगै भारतीय ड्राइभरले आएर चलाउने, कर्मचारी परिपूर्ती पनि गरिहाल्ने भन्ने जुन कुरा सुनिन्थ्यो, त्यो ब्यर्थै रहेछ । नेपालजस्तो सानो देश त्यसमा पनि एउटा जिल्लाबाट अर्को जिल्ला (धनुषाबाट महोत्तरी जम्मा ३० किमि) को कम दूरीमा रेल चलाउनुभन्दा त्यो पैसाले सडक बनाउदा छिटो र आर्थिक भार कम पर्थ्यो कि ?

पहिले सडक सुविधा राम्रो थिएन, र राणा शासनको बेलादेखि नै तत्कालीन आवश्यकता अनुसार कोइला र दाउराबाट समेत चल्ने सानो रेल चलाउदा विस्तारै चल्थ्यो र ३० किमि पनि धेरै नै हुन्थ्यो । त्यतिबेला त्यसको महत्व धेरै थियो । तर अहिले सडक संजाल बढ्दै गएको र रेल पनि ठूलो, ब्रोडगेजमा डिजेल र विद्युतबाट चल्ने भएकोले छिटो दौडिन्छ जसले गर्दा छोटोछोटो दूरीको स्टेशनहरूमा रोक्नु चलाउनु उपयुक्त हुँदैन ।

यस्तो रेलको लागि कम्तिमा पनि ३० किमिको दूरीमा एउटा स्टेशन हुनु उपयुक्त देखिन्छ । बरु सडक यातायातको राम्रो व्यवस्था गरेर बस संचालन गर्नु हर प्रकारले उचित हुन्थ्यो कि ? होइन रेलको दूरी अझ बढाउने योजना थियो भने पहिला लिगको सबै काम सकेर, रेल ल्याउंदा उचित हुन्थ्यो ।

त्यतिबेलासम्म जनशक्तिको व्यवस्थापन पनि भइसक्थ्यो होला। नेपालमा हालको अवस्थामा आर्थिक, प्राविधिक, सामाजिक, र निर्माणको दृष्टिकोणबाट पनि रेलको लागि सबैभन्दा उपयुक्त मार्ग भनेको मेची-महाकाली नै हो । सरकारले यसैमा बढी जोड दिएर सकेसम्म छिटो रेल सेवा संचालन गर्नु आवश्यक भइसकेको छ ।

अन्त्यमा, धनुषा-महोत्तरी, बारा-पर्सा वा काठमाडौं-ललितपुर बीच रेलसेवा संचालन गर्नु आर्थिक सामाजिक कुनैपनि दृष्टिकोणबाट उपयुक्त हुँदैन । यस्ता एकदमै छोटा दूरीमा रेल चलाउनुभन्दा बरु भृकुटीमण्डप भित्रको बाल रेल सकृयता पूर्वक संचालन गर्नु उपयुक्त हुन्छ होला । यसले कमसेकम मनोरन्जन त प्रदान गर्छ ।

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित