संग्रहणीय पाँच निबन्धकृति : शेखर खरेलको सिफारिस

संग्रहणीय पाँच निबन्धकृति : शेखर खरेलको सिफारिस

अपन दैनिक
पौष ११, २०७७ मा प्रकाशित
१७२ पटक पढिएको
संग्रहणीय पाँच निबन्धकृति : शेखर खरेलको सिफारिस

निबन्धकार तथा वृत्तचित्र निर्माता शेखर खरेल नेपाली र अंग्रेजी साहित्यका पारखी हुन् । अखबारी लेखनमा बढी सक्रिय खरेलको ‘मैले नदेखेका हिप्पी’ निबन्धकृति प्रकाशित छ । नेपाल तथा बेलायतबाट उच्च शिक्षा अध्ययन गरेका खरेल निबन्ध पठनले समाज, साहित्य र समयबोध गराउने मान्यता राख्छन् ।

उनले आफूलाई विभिन्न कालखण्डमा मन परेका पाँच वटा निबन्धकृति पाठकसमक्ष सिफारिस गरेका छन् । निबन्धसंग्रहको सूची तयार गर्दैगर्दा उनले यसरी स्वीकारोक्ति दिएका छन्- ‘मेरा सबै प्रिय पुस्तक अहिले मसँग छैनन् । राम्रा पुस्तक कि उपहार दिइन्छ, कि त अपहरणमा पर्छन् । त्यसैले ती पुस्तकभित्रका ‘कन्टेन्ट’उपर चर्चा गर्नुभन्दा पनि सुदूरमा सुनेको मिठो गीतको ध्वनी झैं ती कृति मेरा मन र मस्तिष्कमा गुन्जिँदै आएका छन् ।’

१. मृगस्थली : प्रा. डीपी भण्डारी

फुटकररूपमा अखबारमा डीपी भण्डारीका निबन्ध पढ्दादेखि नै म उहाँको प्रशंसक बन्न थालेँ । हुन त भण्डारी सर लेखन जति नै आफ्ना सम्भाषणमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँका वोली र वाणी मुग्धकारी हुन्थे । परिहास त उहाँको ‘ब्राण्ड’ नै भइहाल्यो ।

मृगस्थली, चिन्तन र दर्शनको निर्वन्धाकृति हो । ब्रम्ह मूहुर्तमा पाशुपत क्षेत्रको प्रातः रमणमा निस्कनु हुने भण्डारी सर मानिसमात्र नभएर बाँदर र चराचर जगतप्रति प्रेमभाव राख्नुहुन्थ्यो । एक योगीको ध्यान झै उहाँको सूक्ष्म अवलोकन र चिन्तनको परिणति हो, मृगस्थली । भण्डारी सरका अन्य निबन्धाकृति ‘रोटी र फूल’, ‘निरो बाँसुरी बाजाइरहेछ’ र ‘त्यो धर्ती, त्यो आकाश’ पनि मलाई उत्तिकै मन परेका कृति हुन्, तथापि मृगस्थली मलाई उहाँका कृतिमध्येका म्याग्नम ओपस लाग्दछ ।

२. एब्स्ट्रयाक्ट चिन्तन प्याज : शंकर लामिछाने

जसरी नेपाली सुगम संगीतको कुरा गर्दा नारायणगोपाल छुट्दैनन्, त्यसैगरी नेपाली निबन्धको चर्चा शंकर लामिछानेविना पूरा हुँदैन । अझ, त्यसमा पनि उनको अमर कृति ‘एब्स्ट्राक्ट चिन्तन प्याज’ त अविभाज्य भइहाल्यो । लामिछाने नेपाली निबन्धकारिताका सर्वाधिक रूचाइएका शिल्पी हुन् । अहिले पुस्तकको सुलभता र इन्टरनेटको बिगबिगीका बेला हामी विश्वका समकालीन लेखन र प्रवृत्तीको भेउ पाउन सकिरहेका हुँदैनौं । लामिछाने पाश्चात्य लेखन परम्पराबारे त्यो जमानामा पनि कसरी जानकार भए होलान्, सोच्दा पनि अचम्म लाग्दछ ।

परम्पराभञ्जक उनको ‘अभो गार्द’ लेखन, प्रयोगधर्मिता तथा शिल्पले लामिछानेको ‘ब्याण्ड वाइथ’ देखाउँछ । समकालीन धेरै लेखकझैं मलाई पनि निबन्ध लेख्ने हुटहुटी जगाउने लामिछाने नै हुन् । ‘मेरा निबन्ध अबको पचास वर्ष पछिका मानिसले पढ्नेछन्’ भन्ने लामिछाने एक स्वप्नद्रष्टा हुन्, किनकि आजको सर्वाधिक लोकप्रिय निबन्धकार उनै लामिछाने हुन् ।

३. आफ्नै आँखाको लयमा : खगेन्द्र संग्रौला

अखबारी र साहित्यिक लेखन दुबैमा अब्बल हुन्, खगेन्द्र संग्रौला । अखबारी लेखनमा जति कठोर उनी देखिन्छन्, त्यस विपरित अत्यन्तै मुलायम हुन्छन् उनका निबन्धकृति । आफ्नै आँखाको लयमा पनि यस्तै एक कृति हो, जसमा राजनीतिक पात्र र समाजको आलोचनाभन्दा पनि लेखको अन्तर्दृष्टि छ । संग्रौलाको जीवनदृष्टी पोखिएको छ ।
आफ्नो बाल्यकाल अनि किशोरवय, जिजिविषाका यत्न, शहरको पलायनदेखि पारिवारिक इतिवृत्ति समेटिएको यस कृतिमा संग्रौलाको कोमलता, स्मृतिदंश र निजत्व निर्माण भेट्न सकिन्छ । भाषामा स्थानीयता, परिहास र शिल्पले यो कृति अत्यन्तै सुरूचिपूर्ण पठन हुन सक्दछ, साहित्यका नवप्रवेशीका निम्ति पनि ।

४. सम्झनाका गल्छेडाहरूमा : धनुषचन्द्र गौतम

मलाई धच गोतामे अर्थात् धनुषचन्द्र गौतम नेपालका खुशवन्त सिंहझैं वाचाल लेखक लाग्छन् । आख्यान र निबन्ध दुवै विधामा उत्तिकै सिद्धहस्त मानिने धनुषचनद्रको सामर्थ्य ‘डिटेलिङ’ (सूक्ष्म वर्णन) र परिहासपूर्ण भाषा हो । हुन त उनको नियात्रासंग्रह ‘तीन बास’ पनि मलाई उत्तिकै मन परेको कृति हो, तर आफ्ना पात्रतामा यतिविघ्न लेखक वाचाल भएको कृति कमै मात्र देख्न सकिन्छ, नेपाली निबन्धमा ।

‘सम्झनाका गल्छेडाहरूमा’ पढ्दै जाँदा पाठक लेखकसंगै एकाकार हुन्छ, कहिले खित्का छाडेर हाँस्छ त कहिले स्मृतिदंशद्वारा अठ्याइँदा आँशु झार्न पुग्छ । निबन्धमा कन्टेन्ट (अन्तर्वस्तु) र क्राफ्ट (शिल्प) खोज्नेहरूले धनुषचन्द्रको यो जीवन्त कृति छुटाउनु हुँदैन ।

५. शोकमग्न यात्री : नारायण ढकाल

आख्यान र निबन्धद्वारा पाठकलाई अभिभूत र अल्हादित गर्दै आएका नारायण ढकाल एक यशस्वी समकालीन हस्ताक्षर हुन् । मलाई उनका आख्यान र गैरआख्यान दुबै मन पर्छ । ढकाल राजनीतिक ‘न्यारेटिभ’ (कथ्य) लेख्छन्, आख्यान र गैरआख्यान दुबैमा । यो उनको सिग्नेचर हो ।

‘शोकमग्न यात्री’ विशेष मन पर्नाको कारणचाहिँ, यो कृतिमार्फत उनले उत्सर्जन गरेको एकात्मक व्यवस्था, घर तथा समाजको लौह अनुशासन हो । घर छाडेर स्वतन्त्रता खोज्ने, सत्तासँग प्रतिरोध गर्दै बुट पालिस गर्ने, परम्पराप्रति बागी हुँदै बिट् र हिप्पी खोज्ने ढकालले विद्रोहको स्वर उरालेका छन्, शोकमग्न यात्रीमा । निबन्धका नयाँ-पुराना सबै पाठकलाई नारायण ढकालको यो निबन्धसंग्रह बहुउपयोगी हुने मैले विश्वास लिएको छु ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित