उद्दारकाठमाडौं उपत्यकाघर डुबान

काठमाडौं । गएराति परेको भीषण वर्षाका कारण काठमाडौं उपत्यकामा ३८२ घर डुबानमा परेका छन् ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म १३८ जनाको उद्दार गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अविरल वर्षापछि आएको बाढी र डुबानका कारण धेरै घरमा क्षति पुगेको छ ।

विशेषगरी खोला किनारका बस्तिहरू डुबानमा परेका थिए । ति बस्तिमा डुबानमा परेकाहरूको प्रहरीले उद्धार गरेको थियो । काठमाडौंका बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालीमाटीको तरकारी बजार, मनोहरा क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका थिए ।

त्यस्तै उपत्यका बाहिर बनेपा, पर्वत, रोल्पा, म्याग्दी, मकवानपुर, जाजरकोट लगायत क्षेत्रमा पनि धनजनको क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

पहिरोले पुरिएर रोल्पामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका–१० बाम्ताका पूर्णबहादुर थापाकी श्रीमती गौरी थापा र उनका छोरीका ५ वर्षीय छोरा हिमाल रोका रहेका छन् ।

पूर्ण बहादुरका छोरी र ज्वाई घाइते भएका छन् । घाइतेको रेउला अस्पतालमा उपचार भइरहेको रोल्पा प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
राति २ बजेतिर अन्दाजी २०० मिटरमाथिबाट पहिरो गएको थियो । अहिले शव पोष्टमार्टको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै रोल्पाका अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ । अन्य क्षेत्रमा मानवीय क्षति नभएपनि भौतिक क्षति पुगेको छ ।

जाजरकोटमा पनि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एक घरमा क्षति पुगेको छ । त्यस्तै म्याग्दीमा पनि एक जलविद्युत पावर हाउस बगाएको छ ।

मकवानपुरमा २ जनाको शव फेला परेको छ । दुई दिनअघि २ जनाको मृत्यु भएकाहरूको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले पनि देशभर उद्धार टोली तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षा निकाय उद्धार तथा खोजतलासीका लागि तयारी अवस्थामा राखिएको बताए । विशेषगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बढी क्षति पुगेको र अहिले क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।

कसरी पर्‍यो एकाएक ठूलो पानी ?

आइतबार राति काठमाडौं उपत्यकामा १२१.५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एकै राति अतिभारी वर्षा हुँदा अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

तीन/चार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

राति साढे २ बजेदेखि ६ बजेसम्म १००.५ मिलिमिटर वर्षा मापन भएको छ । उक्त वर्षालाई मौसम पूर्वानुमान महाशाखाले अतिभारी वर्षा भनेको छ । रातिदेखि बिहान ८ः४५ बजेसम्म १२१.५ मिलिमिटर वर्षा मापन भएको छ ।

आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएकाले बढी पानी परेको उनको भनाइ छ ।

यस्तो छ आगामी ३ दिनको मौसम

अहिले देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । अझै दुई/तीन दिन देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

उत्तर पश्चिमी बंगालको खाडीमा अवस्थित न्युन चापीय प्रणालिका कारण नेपालमा जलवास्पुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिबाट भोलिसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि भदौं २२ गते देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!