पाँच कक्षामा पढ्ने छोरोले एक दिन स्कुलबाट फर्केपछि मलाई सोध्यो, ‘मम्मी, कन्डम भनेको के हो ?’ मलाई अचम्म लाग्यो । उसलाई सोधें, ‘तिमीलाई कसले सोधेर मलाई सोधेको ? साथीहरूले आज मलाई क्लासमा बिल्लीबिल्ली बनाए तिमी स्कुल फस्ट हुनेलाई यति पनि थाहा छैन भनेर । उसले जिज्ञासु हुँदै पुनः भन्यो, ‘भन्नोस् न मम्मी।’ मैले टार्न खोजें – साँझ बाबा आएपछि बताउनुहुन्छ ल ।
हाम्रो मानसिकतामा यौन लुकाउने विषय हो भनेर नराम्रोसँग जरा गाडेको छ । सृष्टिलाई सुचारु राख्ने महत्त्वपूर्ण विषय हो यौन । जीवनको नैसर्गिक अधिकारको एउटा अंश हो यौन । हामीले बुझ्न र बुझाउन किन कञ्जुस्याईं गर्यौं ? हरेक मानिसको अभिन्न अंग यौनलाई अझै पनि किन लुकाउने विषय बनाउने ? खुलेर यौनका कुरा गर्न हामीले कहिले सक्ने हो ? यौन शिक्षाको अभावमा, यौनलाई लुकाउने विषय बनाएर यौनजन्य रोगको संक्रमण खपिरहेका छौं हामी ।
महिलाले लगाउने भित्री कपडालाई (ब्रा र पेन्टी) लुकाएर सुकाउने गरिन्छ आज पनि । कि त बाहिरबाट अरू कपडाले छोपेर, कि त कसैले नदेख्ने अँध्यारो ठाउँमा। बाहिर लगाउनेभन्दा भित्र लगाउने कपडा झन् बढी सफा र घाममा सुकाउन जरुरी हुन्छ । भित्री कपडाको राम्रो सरससफाइ नभएका कारण हाम्रा यौन अंगहरूमा विभिन्न रोग लाग्छन् भनेर खै हामीले कहिले बुझ्ने अनि अरूलाई बुझाउने ?
अबका हाम्रा पाठ्यपुस्तकका पाठ्यक्रममा प्राथमिक कक्षाबाटै यौन शिक्षा राख्न जरुरी छ । बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरूको उमेर बढ्दै जाँदा शारीरिक विकास र यौन अंगहरूको परिवर्तनका बारेमा जिज्ञासा उत्पन्न हुन्छ । उसको जिज्ञासालाई उसले पढ्ने किताबले मेट्न सक्नुपर्छ । उसको पहिलो पाठशाला घरपरिवारले धेरै कुरा उसलाई सिकाउन सक्नुपर्छ । आफ्ना उमेर समूहका सबैजनासँगै बसेर मजासँग छलफल गर्ने वातावरण बन्नुपर्छ यौन ।
आज हरेक दिन बलात्कारपश्चात् बालिकालाई मारिएका खबरले हाम्रो मस्तिष्कमा हलचल मच्चाएको छ । चार वर्षीया बालिकालाई चौध वर्षका बालकले बलात्कार गरेर मारेको घटना । त्यसैगरी ६ वर्षीया बालिकालाई चालीस–पचास नाघेका पुरुषले बलात्कार गरेर मारेका घटना। त्यसैगरी बुढेसकालमा प्रवेश गर्न थालेकाले सात आठ महिनाका अबोध शिशुलाई गरेका बलात्कारका घटना । यस्ता सबै प्रकृतिका घटना विषय एउटै बलात्कार गरेर हत्या गरिएका भएता पनि यसका कारण भने धेरै भिन्न हुन सक्छन् । फरकफरक उमेर समूहका घटनाको फरकफरक तरिकाले विश्लेषण गर्न जरुरी छ ।
बालिकालाई बालकले बलात्कार गर्छ भने त्यसको प्रमुख कारण यौन शिक्षाको कमी हुन सक्छ । जसले घरपरिवारबाट यौन शिक्षा प्राप्त गर्न सक्दैन, उसले इन्टरनेटको सहायताले विभिन्न पोर्न सामग्री हेर्न पाउँछ । त्यस्ता हेराइले उसलाई यौन उत्तेजना वृद्धि गराउँछ । उसलाई थाहा छैन कि बलात्कार गर्नु हुँदैन। उपयुक्त अवसरमा उसले बलात्कार गर्छ । बलात्कारपछि उसको यौन उत्तेजना हराउँछ अनि उसमा डर पैदा हुन्छ । डर पैदा भएपछि उसले उत्तम उपाय उसलाई मारेर फाल्नु देख्छ ।
त्यसैले हरेक घरपरिवारमा हामीले आफ्ना छोराछोरीलाई हुर्काउँदा निकै ध्यान पुर्याउन जरुरी छ । उनीहरूलाई राम्रो स्कुलिङ गर्नुपर्छ । आफ्ना छोराछोरी टिनएजमा प्रवेश गर्न नपाउँदै बाबुले छोरालाई र आमाले छोरीलाई आवश्यक मात्रामा यौन शिक्षाबारेमा सिकाउनुपर्छ । टिनएजमा आफ्ना छोराछोरीलाई एउटा असल साथीलाई गर्ने व्यवहार गर्नुपर्छ । उनीहरूको हरेक क्रियाकलापमा चनाखो भएर साथै समय र माया दिएर ध्यान पुर्याउन जरुरी छ ।
मानसिक रूपमा स्वच्छ मानिसले पक्कै पनि चार–पाँच वर्षका बालिकालाई बलात्कार गरेर मार्न सक्दैन । उसको मानसिकता विछिप्त भएर उसभित्रको दानवीय प्रवृत्तिले नै उसले यस्तो निन्दनीय कार्य गर्ने हो। मानसिक रोगीलाई सुरुको अवस्थाबाटै राम्रो साइकाटिसकहाँ लगेर काउन्सिलिङ गर्ने हो भने उसले कुनै औषधि सेवन नगरी पूर्णरूपमा स्वस्थ हुन सक्छ । पूर्वअवस्थामा जस्तै प्रगति र उन्नति गर्न सक्छ । परिवारका सदस्यहरूले सधैंभन्दा भिन्न व्यवहार देखाएमा उसलाई परामर्शको खाँचो छ भन्ने कुरा हरेक परिवारले बुझ्न जरुरी छ ।
बढ्दो मानसिक समस्या कम गर्नका लागि तीनै तहका सरकारले आवश्यकताअनुसार मानसिक बिरामीलाई निःशुल्क परामर्शको व्यवस्था गर्नुपर्छ। एकदुई महिनामा एकपटक हरेक स्कुलका आधारभूत विद्यालय र माध्यमिकका बालबालिकालाई राखेर मानसिक रोगबारेमा जानकारी दिँदा राम्रो हुन्छ। समाजमा पनि विभिन्न संघसस्थाले प्रौढहरूलाई जम्मा गरेर बेलाबेलामा मानसिक रोगको परिचय, यसको लक्षण, उपचार र रोगथामका बारेमा जानकारीमूलक सन्देश छर्न सक्नुपर्छ।
हिंसा न्यूनीकरण बहुआयामिक विषय हो। यसलाई एउटा मात्र पक्षले महत्त्वपूर्ण काम गर्दैमा झ्याप्पै घट्ने होइन । यसका लागि त सबै पक्षले उचित ध्यान पुर्याएर काम गर्न सक्नुपर्छ। कठोर कानुन र त्यसको उचित कार्यान्वयन हुनुपर्छ । घटनालाई राजनीतिले ढाकछोप गर्नु हुँदैन । मुलुकमा तीव्र गतिमा आर्थिक वृद्धि गरी आर्थिक विकासको माध्यमबाट सामाजिक न्याय दिन सक्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बास र कपासका समस्याबाट हरेक नागरिक माथि उठ्न सक्नुपर्छ । पीडकलाई हदैसम्मको दण्ड र पीडितलाई संरक्षण र न्याय दिनुपर्छ । पीडक खुलेआम भाले भएर हिँड्ने अनि पीडित झन् पीडित भई लुकेर बस्ने अवस्था सधैंका लागि अन्त्य हुन जरुरी छ ।
हिंसाको न्यूनीकरण कानुनका निर्जीव शब्दले हुने होइन, राजनीतिकर्मीका चर्का भाषणले गर्ने होइन यसका लागि त हरेक नागरिक मानसिक र शारीरिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ । इमानदारी, सदाचारी र उच्च नैतिकताले भरिपूर्ण हुनुपर्छ । सबै प्रकारका हिंसा सबैका अनि सधैंका साझा सरोकारका विषय हुन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हिंसा न्यूनीकरणमा सोह्र दिन मात्र होइन निरन्तर निश्चित लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीतिका साथ अगाडि बढौं ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित