काठमाडौं । भारतीय विदेश सचिव नयाँदिल्ली फर्केको दुई दिनपछि आइतबार चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । उनको भ्रमण सार्वजनिक भएको छैन, तर एक दिने भ्रमणका लागि परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र जंगी अड्डाले तयारी गरिरहेका छन् । नेपाल भ्रमणपछि उनी बंगलादेश जाने कार्यक्रम छ । कोभिड–१९ महामारीपछि नेपाल आउन लागेका उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् ।
पूर्वराजदूत डा. दिनेश भट्टराई भारतीयपछि चिनियाँ मन्त्रीको भ्रमण संयोग मात्रै हुन सक्ने, तर उनीहरूको दौडधुप अर्थपूर्ण देखिएको बताउँछन् । ‘उनीहरू आफैँले निर्णय गरेको मितिमा आउँछन्, चाहेका मानिसलाई उनीहरूले चाहेको समयमा भेट्छन्, हाम्रो अनुकूलता वा सुविधामा उनीहरूको भ्रमण हुँदैन,’ भट्टराई भन्छन्, ‘शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रिय भएको अर्थमा यो भ्रमणलाई लिनुपर्छ ।’
त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भारत र चीनबीच नेपालमा प्रभाव विस्तारको होड चलेको टिप्पणी गर्छन् । ‘पाँच वर्षअघिको नाकाबन्दीपछि नेपालमा चीनले स्थान ओगटेको छ, भारतले गुमाएको छ । गुमेको स्थान फिर्ता लिने भारतको जोड र नाकाबन्दीसँगै नेपालमा पाएको स्थान कायम राख्ने चीनको जोडबीच होडबाजी चलेको छ,’ डा. कार्कीको विश्लेषण छ ।
सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेको विश्लेषणमा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको भ्रमण संयोगमा मात्र होइन । ‘चिनियाँ रक्षामन्त्रीको आकस्मिक भ्रमण कूटनीति र सुरक्षाभन्दा पनि राजनीतिक मिसनबाट अभिप्रेरित देखिन्छ,’ वाग्ले भन्छन्, ‘छिमेकमा प्रभाव विस्तार दुवै देशको प्राथमिकतामा रहेको देखिन्छ । नेपालमा चीनको विस्तारित प्रभाव मजबुत पार्ने गरी भूमिका बढाउन र उच्चस्तरीय चिनियाँ नेतृत्वको सन्देश लिएर रक्षामन्त्री आउन लागेको बुझिन्छ ।’
भू–रणनीतिक मामिला जानकार पूर्वउपरथी विनोज बस्न्यात नेपालका छिमेकी भारत र चीन तथा अमेरिकासँगको पुरानो सम्बन्ध अब नयाँ भूराजनीतिक वातावरणमा प्रवेश गरेको बताउँछन् । ‘भारत र चीन एकअर्का विरोधी वा दुवैको विरोधी कार्ड खेल्दा नेपालको राष्ट्रिय हित पूरा हुँदैन । एकअर्का विरोधी षड्यन्त्रको सिद्धान्तमा नेपाल जान सक्दैन, यसलाई नेपालले धान्न पनि सक्दैन,’ बस्न्यात भन्छन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित