बागलुङ/ गोरखा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बागलुङ जिल्ला प्रशासनले १० दिनकालागि कडा निषेधाज्ञा लगाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति डीसीसीएमसीको मंगलबारको बैठकले निषेधाज्ञा कडा बनाएर समय थप्न सिफारिस गरेपछि प्रशासनले आदेश जारी गरेको प्रशासकीय अधिकृत गणेश गौतमले बताए । बिहीबारदेखि लागू निषेधाज्ञा भदौ ५ सम्म चल्नेछ ।
निषेधाज्ञा लागेपछि बागलुङ सदरमुकामसहित सबै बजार क्षेत्र बिहीबार बिहानैदेखि सुनसान छन् । यसअघिको निषेधाज्ञा खुकुलो भएको र स्वास्थ्य मापदण्ड पालना नभएकाले संक्रमण बढेको ठम्याइ छ । बैंक तथा वित्तीय संस्था पनि ठप्प छन् । बैंक तथा वित्तीय संस्था खुल्दा ग्रामीण क्षेत्रबाट सेवाग्राहीको भीड लाग्ने गरेको थियो । ‘यो पटक सरकारी कार्यालयसमेत ठप्प पार्ने प्रशासनको निर्णय छ । आकस्मिक सेवाबाहेक अरू चल्ने छैनन्,’ उनले भने, ‘पास बनाएर गाडी चलाउन पनि पाइँदैन ।’ दैनिक उपभोग्य सामग्री, तरकारीजस्ता सेवा पनि सोमबार, बुधबार र शुक्रबार मात्रै खोल्न दिने उनले बताए ।
जोखिम क्षेत्र धमाधम सिल
गोरखामा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । निषेधाज्ञा खकुलो बनेसँगै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा हेलचेक््रयाइँले संक्रमण बढेको हो । समुदायस्तरमा कोरोना फैलिएपछि केही स्थानीय तहले धमाधम वडा सिल गरेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार हाल जिल्लामा ७ सय ३५ सक्रिय संक्रमित छन् । १ सय ३० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । पछिल्ला दिनमा दैनिक २५ देखि १ सय १५ जनासम्म संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।
सबैभन्दा बढी पालुङटार नगरपालिकामा संक्रमणको दर बढेको छ । पालुङटार–१ मा मात्रै ६९ जनामा संक्रमण पुष्टि भइसकेको छ । मृत्यु संस्कारमा सहभागी भएकालाई नै कारोना देखिएको वडाध्यक्ष कृष्ण परियारले बताए । संक्रमण बढेपछि वडा कार्यालयलले उक्त क्षेत्र सिल गरेको छ । ‘सुरुमा एक साता सिल गरेका थियौं, संक्रमणको दर नघटेपछि फेरि एक साता थप्यौं,’ परियारले भने, ‘यही अवस्थामा फेरि थप्नुपर्ने स्थितिमा छौँ ।’ वडाका एक ९० वर्षीय वृद्धको मृत्यु भएपछि मलामी गएका र मृत्यु संस्कारका सहभागी भएकालाई संक्रमण देखिएको उनले बताए ।
‘डेढ सातामा दुई जना वृद्धको मृत्यु भयो । मृत्यु संस्कारमा पुगेकाको स्वास्थ्यमा समस्या देखिएपछि ८२ जनाको स्वाब संकलन गरी परीक्षण गर्यौँ, ४५ जनाको रिपोर्ट पोजिटिभ आयो,’ उनले भने । वडा सिल गरिए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन नसकिएको परियारको गुनासो छ ।पालुङटारको ४ र ५ वडा क्षेत्र पनि सिल गरिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधवारबाट भदौ १ गते राति १२ बजेसम्मका लागि सिल गरिएको हो । वडाभित्रका निजी तथा सार्वजनिक यातायातका साधान, होटल, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गरी वडा कार्यालयको अत्यावश्यकबाहेकका कामसमेत बन्द गरिएका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिक्लन, भीडभाड नगर्न पनि वडा कार्यालयले वडावासीले अनुरोध गरेको छ ।
‘मेलापात र जमघटले जोखिम बढ्यो,’ पालुङटार नगरपालिकाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले भने, ‘मेलापातमा मान्छे घुलमिल भइहाल्छ, निषेधाज्ञा खुकुलो बनेको छ, एक ठाउँबाट अर्को ठाउँमा जाने आउने भइराख्छ, कन्ट्र्याक्ट ट्रेसिङ गर्न पनि कतिको गर्नु रु’ वढ्दो भिडभाड र स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा हेलचेक्याइँले संक्रमितको संख्या दिनदिनै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
यसैगरी, भीमसेन थापा गाउँपालिका–२ पनि साउन २१ गतेबाट सिल गरिएको छ । ५ कर्मचारीमा कोभिड देखिएपछि गोरखा नगरपालिकाको पनि अत्यावश्यकबाहेकका सेवा साउन २४ यता बन्द छ । वडा कार्यालय र स्वास्थ्य संस्थाबाट भने सेवा सुचारु रहने नगरपालिकाले जनाएको छ ।
कोरोना जोखिम कम आकलन गरिएको चुमनुव्री गाउँपालिकामा पनि हाल २० सक्रिय संक्रमित छन् । उनीहरूमा अधिकांश चुमनुव्री–७ छेकम्पारका हुन् । गहुँ काट्ने सिजनमा भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा दुर्गम क्षेत्रमा सकस देखिएको खड्का बताउँछन् ।
गोरखा नगरपालिकामा १ सय ६६, पालुङटारमा १ सय ४०, भीमसेन थापामा १ सय २, सहिद लखन गाउँपालिकामा १०, अजिरकोटमा ४४, गण्डकीमा एक, बारपाक सुलिकोटमा ३२, सिरानचोकमा ५१, आरुघाटमा १ सय ६०, धार्चेमा ५ र चुमनुव्रीमा १ सय २ सक्रिय संक्रमित छन । ‘परीक्षण गरिएकामध्ये २८।१२ प्रतिशतको पोजिटिभ रिपोर्ट आएको छ,’ खड्काले भने ।