बलात्कार : पुरुषात्मक मनोविज्ञानको उपज

बलात्कार : पुरुषात्मक मनोविज्ञानको उपज

आरती न्यौपाने
मंसिर २, २०७७ मा प्रकाशित
२३३ पटक पढिएको
बलात्कार : पुरुषात्मक मनोविज्ञानको उपज

पछिल्लो समय सतहमा आएका बलात्कारका घटनाले मानव सभ्यतालाई गिज्याइरहेका अनुभूति हुन्छ । क्रुर अमानवीय घटना अनि ततपश्चात सामाजिक तिरस्कारको पात्र । कस्तो अचम्मको सामाजिक संरचना ? सामाजिक संस्कार ? के सर्वश्रेष्ठ प्राणी मानवको नैतिकता ह्रास हुँदै गएको हो त ? भावी पिँढीलाई सुम्पिने सामाजिक संस्कारको स्तर के ? एकपटक गहन चिन्तनको परिस्थिति सिर्जना भएको छ ।

गत चैत्रदेखिको पाँच महिनाको तथ्यांङ्क हेर्ने हो भने १२०९ वटा बलात्कारका घटना प्रहरीसमक्ष पुगेका रहेछन् । औषतमा ८ बलात्कार प्रत्येक दिन भएका छन् । अझ, सामाजिक संरचना, जटिलता, सामथ्र्य, क्षमता, डर, दबाव लगायतका विविध प्रभावका कारण दबिएका घटनाको त लेखाजोखा नै छैन ।

नाबालिका, बालबालिका, किशोरी, मानसिक रोगी, बृद्ध, एकल महिला, सहकर्मी, समकक्षी कोही पनि बलात्कारबाट अछुतो रहन सकेनन् । तैपनि शारिरीक बनावट, रुप, पहिरनलाई बलात्कारको कारण मान्छ हाम्रो सामजले । ५ महिने शिशुमा कस्तो शारीरिक संरचना हुन्छ < ७० वर्षे वृद्ध महिलाको रुप र पहिरनमा बलात्कार निम्त्याउने कस्तो आकर्षक होला ?

त्यसमाथि बैवाहिक बलात्कारसम्बन्धी सचेतनको अभाव प्रष्ट देखिन्छ । विवाहलाई शारीरिक सम्झौताको पर्यायका रुपमा चित्रण गरिन्छ । जहाँ महिलालाई गौण बनाइन्छ । अनि महिलालाई वस्तुकरण गरिन्छ ।

Aarati-neupane शारीरिक सम्बन्धलाई पतिको अधिकारको मान्ने धारणायुक्त पत्नीको मानसिकता परिवर्तन हुन नसक्दा वैवाहिक बलात्कार र घरेलु हिंसाको घटना बढ्दो छ । भरसक त त्यस्ता वैवाहिक बलात्कारका घटना लुकाउने नै गरिन्छ । किनकी यस्तो विषयमा बोल्दा आफ्नै परिवारको इज्जतको सवाल रहन्छ रे । अत् : महिलाहरु इज्जत जोगाउनकै लागि वर्षौ वर्ष सहेरै बसेका छन् ।

मध्य तराई क्षेत्र र दुर्गम पहाडी क्षेत्रका महिलाहरुले उनीहरुको सहमतिबिना भएको शारीरिक सम्बन्ध बलात्कार हो, जुन हिंसाको चरम अवस्था हो भन्ने महसुससम्म गर्दैनन् । आवाज उठाउने त टाँढाको कुरा ।

बलत्कारी आत्मसम्मानको साथ जीवन यापन गर्दछ । उसमा कतै पनि हीनताबोध सिर्जना हुँदैन । न स्वयम् न त सामजिक परिवेशद्वारा । तर, दुषित मानवीय आचरणको शिकार बन्न पुगेकी एक नारी उनका सजिएका सपना एकाएक उजाडिन्छन् । गिद्धद्वारा सिनोसरी उसका अङ्ग लुछिन्छन् । उनैको स्वाभिमानको धज्जी उडाइन्छ । आत्मसम्मानको खिल्ली उडाइन्छ ।

सामाजिक पुनर्स्थापनामा आउने असहजताका कारण कति पीडितहरुले स्वयम् आफ्नो जीवन समाप्त गर्ने गरेको देखिन्छ ।
वास्तवमा बलात्कारका लागि उचित न्याय त कुनै पनि हुन सक्दैन । तापनि बलात्कारलाई निरुत्साहित गर्ने प्रावधानको व्यवस्था हुन जरुरी छ । खण्डित भावना र टुटेको हृदयलाई मलम लगाउन जरुरी छ । मानिसमा जन्मजात अपराधिक मानसिकता सवार हुँदैन । समाज, परिवेश र स्कुलिङले क्रमश मानसिकता विकास गर्दछ । छोरीलाई शान्त, भद«, सुन्दर, शालिन हुन प्रेरित हाम्रो अभिभाकत्व जसले छोरीमा मानसिक रुपमा शारिरीक दुर्बलताको अनुभूति विकास गरिदिन्छ । छोरीलाई घरको इज्जतसँग तुलना गर्दै विस्तारै विस्तारै उसको स्वतन्त्रतालाइै कुन्ठित गरिन्छ । धेरै कुरामा प्रतिबन्धित तुल्याइन्छ । चाहे त्यो शारिरीक सबलता अभिवृद्धि गर्ने कुरामा वा मानसिक सक्षमता अभिवृद्धि गर्ने कुरामा होस्, उसलाई अवरोध सिर्जना गरिन्छ । संस्कार नै असमानताको सिकाइन्छ ।

अर्कोतर्फ त्यही घरमा छोरालाई कडा र आक्रामक हुनका लागि प्रेरित गरिन्छ । फलस्वरुप छोरीमा आत्मविश्वासको कमी हुँदै जान्छ । आफूप्रतिको अन्यायलाई समेत पचाउने बुटीको विकास हुन्छ । यसैको नतिजास्वरुप पुरुषहरुमा भ्रामक मानसिकताको बढोत्तरी हुन्छ, कि महिलाहरु कमजोर हुन्छन् ।

एकपटक मनन गरौँ त, के हिंसा निम्त्याउने संस्कार हामीले त दिएका छैनौँ ?

हामी आफ्ना छोरीहरुलाई स्वतन्त्र, सहासी, उग्र, निडर, विर हुने संस्कार किन दिदैनौँ, बाल्यकाल देखि नै उसको मानसिकतामा प्रहार गर्दछौँ ? किन प्रतिकार गर्ने, अन्यायको जडलाई उखेल्ने शिक्षा दिदैनौँ, किन प्रतिरक्षा क्षमताको विकासको अवसरबाट सदैव बञ्चित गरिन्छ ? किन एक महिलालाई बाबु, दाइ-भाइ , मामा-काका, श्रीमान् आदि इत्यादि पुरुषको छत्रछाँयामा हुर्काइन्छ?
समग्रमा हेर्ने हो भने बलात्कारको प्रमुख कारण यौन चाहना होइन । यसको कारण महिलाप्रतिको धारणा र विभेदकारी व्यवहार हो । शक्ति, क्रोध, प्रतिशोध र हेपाहा प्रवृति हो । मन परेकी युवतीले प्रेम सम्बन्ध स्वीकार नगरे बलात्कार । यौन सम्बन्धको प्रस्ताव स्वीकार नगरे बलात्कार । कमजोर सामर्थ्य पहिचान गरे बलात्कार । कुनै प्रतिशोध मेटाउन बलात्कार ।

महिलाबाट पुरुष बलात्कृत भएका घटनाहरु यदाकदा सुन्न पाइन्छ, नगन्य मात्रामा । तर, बलात्कार जोसुकैबाट होस्, यसको दोषीलाई कानूनी कठघरामा उभाइनुपर्छ ।

पद्धति र अभ्यासमा रहेका समस्या चिर्न जरुरी देखिन्छ । बलात्कारीहरु अपराधी हुन् । तर, अपवाद बाहेकका केहीले मात्रै कानूनी दायित्व वहन गरेको देखिन्छ । अनउत्तरदायी कार्यपद्धति, झन्झटिलो कार्यविधि, पिडीत पक्षको उचीत सामाजिकीकरणलाई व्यवस्थापन गर्न सक्ने छुट्टै अदालती प्रकृया र पद्धति अवलम्वनको आवश्यकता छ ।

क्रुर अमानवीय घटनाहरुमा पीडकलाई मृत्युदण्डको सजायँ दिनुपर्ने आवाजहरु प्रत्यक्ष र अप्रत्यक्षरुपमा बढ्न थालेका छन् । ती सान्दर्भिक आवाजहरुलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्न बाञ्छनीय देखिन्छ । तसर्थ, राज्यले बलात्कारका मुद्दामा शून्य सहिष्णुताको सिद्धान्त अवलम्वन गरी अनुसन्धान, अभियोजन र न्याय अनुभूतिका लागि विशेष संरचना गठन गरिनुपर्दछ । छुट्टै विशेष प्रहरी व्यूरो र न्यायका लागि विशेष न्यायपालिका खडा गरिनु पर्दछ । न्याय कार्यविधि सरलीकरण गर्नुपर्दछ । ऐन, नियम, निदेर्शिका सिद्धान्त र कार्यविधि पुनरावलोकन र परिमार्जन गरिनुपर्दछ । घटना भएको समयदेखि सामाजिकीकरणसम्म पीडितलाई राज्यले पूर्णरुपमा अभिभावकत्व प्रदान गर्नुपर्ने बाध्यात्मक व्यवस्थाको सिर्जना गरिनुपर्दछ ।

अर्कोतर्फ असल, पारिवारिकक, सामाजिक संस्कार, संस्कृति र स्कुलिङको आवश्यकता छ । यसका साथै महिलाको सबलीकरण र सशक्तीकरणको व्यवहारिक अभ्यास पनि जरुरी छ । अतः सभ्य, सुरक्षित, मर्यादित, समाज स्थापनार्थ एउटा सुन्दर विहानीको सुरुवात गर्ने अभिभारा हाम्रै काँधमा छ ।

(न्यौपाने नेपाल सरकारकी शाखा अधिकृत हुन्)

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित