पर्यटन प्रवर्धनका लागि पूर्वतयारी

पर्यटन प्रवर्धनका लागि पूर्वतयारी

विकास लम्साल
असोज २२, २०७७ मा प्रकाशित
१४७ पटक पढिएको
पर्यटन प्रवर्धनका लागि पूर्वतयारी

मनोरम प्राकृतिक छटा, बहुधार्मिक, बहुजातीय, बहुभाषिक, जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित छ । पछिल्लो समयमा प्रविधिमा भएको अभूतपूर्व विकासका कारणले समुच्च विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गएको अवस्थामा नेपालले आफ्नो पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्दै अत्यधिक लाभ लिन सक्ने प्रबल सम्भावना छ ।

नेपालको पर्यटन नीति २०६५, पर्यटन ऐन २०३५ तथा त्यसपश्चात् विभिन्न समयमा भएका संशोधनहरूले पनि पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नेपालमा आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरूको स्वास्थ्य, सुविधा र हितको निमित्त आवश्यक व्यवस्था गर्न प्राथमिकता दिएका छन् । त्यसको साथसाथै पर्वतारोहण, दृश्यावलोकन, पदयात्रा, बिदा मनाउन, मनोरञ्जन, तीर्थ पर्यटनजस्ता विभिन्न पर्यटकीय गतिविधिहरू अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, काठमाण्डौं, पोखरा, चितवन, लुम्बिनी, गोरखा, त्रिशुली, इलाम, बर्दिया आदि स्थानमा सुरु भए । हाल नेपाल विश्व मञ्चमा प्राकृतिक सुन्दरता, अद्वितीय संस्कृति तथा साहसिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्यको रूपमा परिचित छ । विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत रहेको पर्यटन संघीय गणतान्त्रिक नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार रहेको छ । पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, र देशको विकासमा योगदान पुर्‍याएको छ ।

एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपश्चात विश्वको ध्यान नेपालतर्फ केन्द्रित भई पर्यटन क्षेत्रको विकास हुन थालेको हो । सन् १९५८ मा राष्ट्रिय ध्वजावाहक तत्कालीन शाही नेपाल वायुसेवा निगम (हाल नेपाल वायुसेवा निगम)को स्थापनासँगै नेपालमा पर्यटनको थप प्रवर्धन हुन गएको पाइन्छ । सन् १९६० को दशकको सुरुवातसँगै थप गति लिन लागेको पर्यटन विकाससँग ‘हिप्पी’ पर्यटन पनि पर्यटनको एउटा सशक्त हिस्सा बनेर नेपाल प्रवेश गरेको पर्यटन इतिहासमा उल्लेख रहेको छ । हिप्पी गतिविधिले समेत पर्यटनको हिस्सा ओगटेको नेपालको तत्कालिन गतिविधि सन् १९६० को दशक भरिनै र सन् १९७० को दशकको आधा–आधीसम्म रह्यो । सन् १९७२ मा पर्यटन गुरुयोजनाको तर्जुमापछि नेपालमा व्यवस्थित तवरले पर्यटनको विकास सुरू भएको पाइन्छ ।

सन् २०१९ मा बाह्र लाखको हाराहारीमा पर्यटक नेपाल भित्रनुलाई सकारात्मक हिसाबले लिन थालिएको थियो । देशमा पर्यटन प्रवर्धन गर्न नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गर्दै पर्यटक आगमन संख्या बीस लाखको हाराहारीमा पुर्याउने लक्ष्य लिएको थियो । ‘नेपाल भ्रमण वर्ष’ भव्यतापूर्वक उद्घाटन गरी सो बमोजिम कार्यक्रमहरू अगाडि बढाइसकेको थियो । साथै गण्डकी प्रदेश सरकारले आयोजना गरेको आन्तरिक भ्रमण वर्ष २०१९ र त्यस सम्बन्धी कार्यक्रमहरूले देशभरिका पर्यटकहरूलाई गण्डकी प्रदेशमा भ्रमणका लागि खुल्ला रूपमा आह्वान गरेको थियो र त्यसले ग्रामीण पर्यटनलाई गुल्जार बनाउनुका साथै लगानीकर्ताहरूलाई आकर्षण बढाएको थियो । गण्डकी प्रदेश सरकारले सन् २०२० लाई छिमेकी देशका पर्यटन आकर्षण वर्ष र सन् २०२२ लाई गण्डकी प्रदेश पर्यटन वर्षको रूपमा मनाउने निर्णय गरी कार्यक्रमहरू अगाडि बढाइसकेको थियो ।

यसैबीच २०२० को सुरूवातमा नै कोरोना भाइसले महामारीको रूप लिन थालिसकेको थियो । नेपालमा पर्यटकहरू आउने देशहरूको सूचीको अग्रपंक्तिमा पर्ने चीनबाट पर्यटन आउन कम भइसकेका थिए । दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीबाट लकडाउन, सीमा बन्द र निषेधाज्ञासमेत गर्नुपर्ने स्थिति आयो । पर्यटन, होटल, तथा यातायात व्यवसायीहरू सबैभन्दा बढी मारमा परे भने अरू व्यवसायहरू पनि धरासायी भए । कोरोना भाइरस पर्यटन व्यवसायका लागि अभिशाप नै भयो ।

भर्खरै मात्र लेन्सेट जर्नलमा प्रकाशित वैज्ञानिक लेखअनुसार कारोनाविरूद्ध रूसमा बनेको खोप प्रभावकारी र सुरक्षित भन्ने जानकारी आएको छ । कोरोना भाइरसबाट जोगिन धेरै देशका अनुसन्धानकर्ताहरूले कडा मेहनत गरिरहेका छन् । नेपालमा पनि कोरोना भाइरसबाट जोगिन आयुर्वेदिक औषधि परिक्षण सुरु भइसकेको छ । ढिलो चाँडो कोरोना भाइरस त नियन्त्रण हुन्छ नै तर नियन्त्रण हुने बित्तिकै प्रभावकारी रूपमा पर्यटनलाई पुनर्जीवित गर्न नेपालले महामारी कायम रहेको समयमा पनि यथेष्ट मात्रामा तयारी गर्न सक्छ ।

पर्यटन प्रवर्धन गर्न सूचनामूलक तथा प्रचार सामाग्री तयार गर्नेः नेपालमा यतिबेला पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न सक्ने अवस्था नभएता पनि प्रचारप्रसार सामाग्रीहरू तयार गर्ने र पर्यटन पर्वद्धनको पूर्वतयारी गर्न सकिन्छ । नेपालका पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारीमूलक परिमार्जित पुस्तिकाहरू प्रकाशन तथा श्रव्यदृश्यका सामाग्रीहरू तयारी गर्ने, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका मेला तथा महोत्सवहका बारेमा तथा साहसिक र नयाँ खालका गतिविधि समेटिएका पर्यटकीय गतिविधिहरूको बारेमा जानकारीमूलक परिमार्जित पुस्तिका र श्रव्यदृश्यका सामग्री प्रकाशन गर्ने । त्यस्ता सामग्रीलाई विभिन्न भाषामा अनुवाद गरी प्रकाशन गर्ने र विभिन्न भाषामा वेवसाइटहरू बनाइराख्ने जस्ता कार्यहरू गर्न सकिन्छ ।
भौतिक पूर्वाधारहरू बनाउने
महामारी कम भएका स्थानहरूमा सामाजिक दुरी कायम राख्दै देशका ठूला शहरहरू तथा पर्यटकीय स्थलहरूमा एक किलोमिटरको दूरी नबढ्ने गरी शौचालय (रेस्टरुम) बनाउने, पर्यटकीय शहरहरूमा साइकल लेन बनाउने, पदमार्ग, होटल र होमस्टे प्रर्वद्धन गर्ने, नयाँ ठाउँमा ‘बन्जी–जम्पिङ’, रक क्लाइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, कृषि मेला, क्यानोइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङजस्ता पर्यटकीय गतिविधि र गन्तव्यहरूको विकास गर्ने । जसले गर्दा भविष्यमा हुने पर्यटकीय चहलपहलको लागि तयारी अवस्थामा रहन सकिन्छ ।
कानुनी परिमार्जन गर्ने र योजना तयार गर्ने
संघीय सरकारले, प्रदेश सरकारले र स्थानीय तहले तयार गर्नुपर्ने पर्यटनसम्बन्धी आवश्यक नयाँ कानुन बनाउने तथा भइरहेका कानुनलाई परिमार्जन गर्न सकिन्छ । प्रदेशमा पर्यटन प्रवर्धन गर्न यसै वर्ष गण्डकी प्रदेश सरकारले पर्यटन गुरूयोजना तयार गरेको छ । कोरोनाको महामारीले थला पारेको पर्यटनलाई पुर्नजीवित गर्न संघ, प्रदेश तथा स्थानीय तहका पर्यटन सम्बन्धी योजनाहरू/गुरूयोजनाहरू परिमार्जन गर्ने र नभएका अवस्थाहरूमा पर्यटन गुरुयोजनाहरू बनाई पर्यटन प्रवर्धनको पूर्वतयारी गर्न सकिन्छ । पर्यटन विविधिकरण गर्न ट्रेकिङ, जंगल सफारी, बन्जी जम्पिङ, रक क्याइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, कृषि मेला, क्यानोइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङसम्बन्धी योजनाहरू बनाई पूर्वतयारी गर्न सकिन्छ । साथै स्थानीय मेला तथा महोत्सव जस्तै ठाउँ विशेषका महोत्सवहरू, चौंरीको रगत खाने मेला, गोरु जुधाउने मेला, भीरमौरीको मह काढ्नेजस्ता मेलासम्बन्धी योजनाहरू बनाउन सकिन्छ । यसरी योजनाहरू बनाउँदा कुन-कुन ठाउँमा आयोजना गर्ने, कसरी आयोजना गर्ने, कुन बेला आयोजना गर्ने, कसले आयोजना गर्ने र आयव्ययको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा योजना बनाई पर्यटन प्रवर्धनको पूर्वतयारी गर्न सकिन्छ ।

पर्यटनलाई सहयोग पुर्याउने सामाग्री उत्पादनको तयारी गर्नेः नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले विदेशबाटै आयात गरिएका सामाग्रीहरूको उपयोग गर्ने र पैसा विदेश नै फर्किने अवस्था छ । यस्तो अवस्थामा पर्यटकहरूका लागि आवश्यक पर्ने खाना उत्पादन गर्न कृषि (सम्भव भएसम्म अर्गानिक), तथा पशु फार्महरू तथा कपडा र अन्य सामाग्रीहरू उपहार तथा कोशेली उत्पादन गर्न घरेलु तथा साना उद्योगहरू स्थापना गर्न सकिन्छ ।
मानव संसाधनको विकास गर्ने
पर्यटकहरूको चहलपहल हुने वित्तिकै आवश्यक पर्ने पर्यटक गाइड, कुक, प्याराग्लाइडिङ पाइलट तथा बन्जी जम्पिङ, रक क्याइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, क्यानोइङ, स्काइ साइक्लिङका सहयोगिहरू तयार गर्न तालिम प्रदान गरी आवश्यक जनशक्ति उत्पादन गरी पर्यटन प्रर्वद्धनको पूर्वतयारी गरी बस्न सकिन्छ ।
अन्त्यमा, पर्यटनको प्रबल सम्भावना बोकेको नेपालमा सम्वृद्धिका लागि पर्यटनको विकल्प छैन । कोरोना भाइरसको महामारी हाम्रो पर्यटनलाई गुणस्तरीय, प्रतिस्पर्धी नाफामुलक, रोजगारीमुलक र उत्पादनमुलक बनाउने अवसर पनि हो । कोरोना भाइरसको महामारीकै कारणले यसका लागि गण्डकी प्रदेश सरकारले ‘पर्यटन पुर्नजिवित कोष’ भनेर बजेट व्यवस्था गरेको छ । साथै कोरोना महामारीको असरबारे विभिन्न संघसंस्थाका मागको अध्ययन गरेर पर्यटन क्षेत्रमा लगानी गर्ने योजना पनि बनाएको छ । कोरोना भाइरसको महामारी कम हुने बित्तिकै पर्यटनलाई पुर्नजीवित गरी पर्यटनबाट लाभ लिन सुरक्षाका मापदण्डहरू अपनाई, पर्यटन पूर्वाधार निर्माण र अन्य कार्यहरू गर्दै पूर्वतयारी गरेर बस्न सक्नुपर्छ ।
(लम्साल गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन्)

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित