सिरहा । राजधानी काठमाडौंमा सोमवार जेनजी आन्दोलनलाई समर्थन गर्दै सिरहाको विभिन्न स्थानमा प्रर्दशन भएको छ ।
सदरमुकाम सिरहाको हेमनारायण चौक र लहान बजारमा जेनजीले मैनवती बालेर आन्दोलनमा समर्थन जनाएका छन् । त्यस्तै गोलबजारमा जेनजिले प्रर्दशन गरेका छन् । सोमवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा भेला भएका जेनजीहरूले सडकमा उत्रिएर सरकारविरुद्ध तीव्र नाराबाजी गरेका हुन् । हत्यारा सरकार राजिनामा दे, केपी चोर, देश छोर, हत्यारा गृहमन्त्री राजिनामा दे, हत्यारा प्रधानमन्त्री राजिनामा दे, जस्ता नारा लगाउँदै उनीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्ग अवरुद्ध भई सवारीसाधन बाटोमै ठप्प परेका थिए ।

प्रदर्शनकारीहरूले सरकारले न्याय दिन नसकेको र सरकारकै लापरबाहीका कारण युवाहरू मारिनुपरेको आरोप लगाएका छन् । उनीहरूले जनताको आवाज सुन्ने सट्टा सरकारले बल प्रयोग गर्ने नीति अख्तियार गरेको भन्दै आक्रोश पोखेका छन् ।
जेनजीहरूले सोमवार साझ सिरहाको विभिन्न बजारहरुमा समेत शान्तिपूर्ण प्रदशन गरेका छ्न । उनीहरुले मंगलबार जिल्लाभरका विद्यार्थीहरूलाई सडकमा उतार्ने घोषणा समेत गरी अह्वान गरेका छन् ।
उनीहरुले सदरमुकाम सिरहाकाे हेम नारायण चौकमा आज(मंगलबार) ११ बजे भेला भइ आन्दोलन गर्ने तयारी गरेको छ । यस्तै सिरहा जिल्लाको लहान, गोलबजार, मिर्चैया लगायतका मुख्य बजारको चौकहरुमा पनि आन्दोलन गर्ने तयारीमा जुटेको जेन-जी समूहका युवा आकाश साहले बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा राज्यले बर्बर दमन गरि हत्या गरेको विषयले हामीलाई आन्दोलन अझै सशक्त बनाउन बाध्य पारिएको साहले बताए । यता सिरहा जिल्लामा प्रहरीले पनि उच्च सतर्कता अपनाएको छ । युवाहरूले गर्ने आन्दोलनले शान्ति सुरक्षामा असर नपुगोस भन्ने जिल्ला प्रशासन कार्यालयको चासो भएकोले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भनिएको प्रशासनले जनाएको छ ।



