सिरहा । सदरमुकाम सिरहास्थित प्रादेशिक अस्पतालमा सर्पदंशका एक बिरामीको उपचार नगरी रेफर गरेपछि मृत्यु भएको भन्दै आफन्त लगायत स्थानीयले प्रदर्शन गरेका छन् ।
घटनालाई गम्भीर रुपमा लिदै सिरहा विकास मञ्चले बुधबार दिउँसो सदरमुकाम सिरहा बजार र प्रादेशिक अस्पताल सिरहा परिसरमा विरोध प्रदर्शन गरेका छन् । सर्पदंशका बिरामीको उपचार नगरी रेफर गर्ने चिकित्सकलाई कारबाही, सर्पदंश उपचारको अबिलम्ब व्यवस्था, अस्पतालमा आईसियु र भेण्टिलेटरको व्यवस्था गर्नुपर्ने मागर गरेका छन् । मञ्चका संयोजक रामरिझन यादवले सर्पदंशका बिरामीको व्यवस्थित उपचार सेवा नहुँदा गरिब, निमुखा किसानहरुको ज्यान गइरहेको भन्दै ड्युटीमा कार्यरत चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

गत भदौ १४ मा सिरहाको औरही गाउँपालिका–३ खजनपुरका किसान राजेन्द्र यादवलाई सर्पले डसेपछि आफैं हिँडेर अस्पतालसम्म पुगेको र उपचार गर्न आग्रह गर्दागर्दै बेहोस अवस्थामा पुगेको संयोजक यादवले बताए । गम्भीर अवस्थामा हुने बिरामीको उपचार गर्नुपर्नेमा रेफर गरेर ज्यान गुमाउने अवस्था आउने गरेको भन्दै संयोजक यादवले समयमै उपचार सेवा नपाउँदा अनाहकमा ज्यान गुमाउनु अवस्थाको अन्त हुनुपर्ने बताएका छन् ।
घटनालाई लिएर प्रजिअलाई ज्ञापन
प्रादेशिक अस्पताल परिसर र बजार क्षेत्रमा प्रदर्शन गरेपछि मञ्च आवद्ध पदाधिकारी, पीडित परिवार र स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई तीन सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएको छ । सर्पदंशका बिरामीको उपचार नगरी रेफर गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि कारबाही, प्रादेशिक अस्पतालमा सुविधा सम्पन्न सर्पदंश उपचार व्यवस्था, एक हप्ताभित्र आइसियु र भेण्टिलेटरको सुविधा सहितको व्यवस्थाको हुनुपर्ने माग गरेको छ ।
स्वास्थ्य उपचार पाउने नागरिकको अधिकारसँग सम्बन्धित मागहरु सम्बोधन गर्न ढिलाई भएमा सशक्त आन्दोलन गर्न बाध्य हुने भन्दै संयोजक यादवेल घटनाको गम्भीरतालाई लिएर नेपाल चिकित्सक संघको मधेश प्रदेश समितिलाई पनि जानकारी गराउने बताएका छन् ।
भेन्टिलेटर नहुँदा रेफर : मेसु कुसवाहा
यता प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेण्ट डा. सुनिलप्रसाद कुशवाहाले भेण्टिलेटर नहुँदा रोगीलाई अन्यत्र रेफर गर्नुपरेको बताएका छन् । भदौ १४ को दिउँसो करिब पौने ४ बजेतिर आएका सर्पदंशका बिरामीलाई तत्काल भर्ना गरी १० भाइल एन्टिस्नेक भेनम चढाइएको मेसु कुसवाहाले बताए । बिरामीको अवस्था भेण्टिलेटरमा राखेर थप उपचार गर्नुपर्ने देखिएपछि करिब एक घण्टापछि रेफर गरिएको मेसु कुसवाहाले दावी गरेका छन् ।



