निगमको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति

निगमको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति

व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने खेल

अपन दैनिक संवाददाता
असोज ९, २०७७ मा प्रकाशित
२४६ पटक पढिएको
निगमको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार खोस्दै यती ग्रुपको लगानी रहेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न प्रमाणपत्र दिएको छ । राजनीतिक दबाबका कारण नेपाल एयरलाइन्सको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि अनुमति दिइएको हो । 
प्राधिकरणले असोज ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको मन्त्रिस्तरीय निर्णयबाट हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि प्रमाणपत्र दिएको जनाएको छ ।
हाल संचालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाइन्सले गर्दै आएको छ । आर्थिक रुपमा संकट व्यहोर्दै आएको नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी नेपाल एयरलाइन्सले गर्दै आएको व्यापार खोस्ने रणनीतिमा यती ग्रुप र चीनियाँ लगानी रहेको हिमालय एयरलाइन्स सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिलाएर व्यावसायिक  ग्राउन्ड ह्यान्डलिङ सेवा नै दिने तयारी भएको प्राधिकरण उच्च स्रोत बताउँछ।
‘प्राधिकरणले 'माथि'को दबाब थेग्न नसेपछि तत्काल हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाबाट प्रवेश गराएको हो,’ स्रोतले भन्यो, ‘विस्तारै नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई व्यावसायिक सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिनै नै हो ।’
नेपाल एयरलाइन्सले अहिले दिँदै आएको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको सम्झौता अवधि आउँदो जेठबाट सकिँदै छ । सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने गरी यो खेल भएको प्राधिकरण स्रोत बताउँछ।
विमानस्थलमा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, विमानसम्म गाडीमा लैजाने, ब्यागेज व्यवस्थापन गर्ने, र्‍याम्प, फ्लाइट अपरेसन एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ भित्र पर्छन् । यी सबै सेवा अब हिमालयले तत्कालका लागि आफ्नो विमानमा यात्रा गर्नेहरूका लागि आफैं संचालन गर्ने भएको छ। केही समयपछि भने अन्य वायुसेवा प्रदायकका लागि पनि उसले यी सेवा प्रवाह गरी रकम लिने सोच बनाएको स्रोतको भनाइ छ ।  
प्राधिकरणले २ वर्ष अगाडि कतार एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्रका लागि निवेदन दिँदा भने सानो विमानस्थलमा थप कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा उडान तथा सुरक्षामा समस्या आउने भन्दै प्रमाणपत्र दिएको थिएन ।
तर, अहिले आएर प्राधिकरणले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएको छ। व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा नै छिराउने गरी अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवामा छिराएको स्रोतको दाबी छ ।
यस विषयमा हामीले प्राधिकरण महानिर्देशक राजन पोखरेललाई सोध्दा उनले नियमकानुन अनुसार नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्र दिएको दाबी गरे ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ को परिच्छेद २ को दफा ४ को उपदफा ४ र ५ तथा परिच्छेद ५ को दफा १३ पूरा गर्ने गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाण पत्र दिएको दाबी गरे। 
हिमालयले लकडाउन अगाडि सातामा ४२ वटा उडान गरेको तालिका पेस गरेकाले पनि उसलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको भनाइ छ। 
निर्देशिकामा सातामा ३५ वटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले पाउने सेवासुविधा भित्रै रहेर व्यावसायिक नभई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको जिकिर छ। 
दुई वर्ष अगाडि कतार एयरवेजलाई भने विमानस्थलको अवस्था हेरेर थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सेवा नदिएको प्राधिकरणले अहिले भने निर्देशिका अनुसार दिएको भन्नु गलत भएको प्राधिकरणका एक पूर्व महानिर्देशक बताउँछन । अहिलेका अवस्थामा निर्देशिकाअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि प्रमाणपत्र दिँदै जाने हो भने विमानस्थलको अवस्था के हुन्छ भन्ने सोच्नु पर्ने ती पूर्व महानिर्देशकको भनाइ छ । 
‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाका नाम थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ गर्न दिन्नहुन्न,’ प्राधिकरण स्रोत भन्छ, ‘शुक्रवार कतारले माग्दा दिने कि नदिने ? त्यसमा फेरि प्रश्न आउँछ। हिमालयलाई अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिनु भनेको विस्तारै व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा प्रवेश गराउनु हो ।’
'हिमालयले सातामा ४२ उडान गर्ने तालिका मात्रै स्वीकृत गराएको होला तर उडान त २० वटा पनि पुगेको छैन। हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवामा प्रवेश गराउन उडान नै गर्न नसक्ने गन्तव्यको समेत तालिका बनाइएको छ,’प्राधिकरण स्रोतले भनेको छ । 
अहिले नै एयर इन्डिया र थाई एयरवेजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा विमानस्थलमा पुराना गाडीको प्रयोगदेखि सामान व्यवस्थापनमा समस्या छ । फेरि यस्तो अवस्थामा हिमालयललाई ह्यान्डलिङ सेवामा प्रवेश गराउनु सुरक्षाका हिसाबले पनि ठीक नभएको स्रोत बताउँछ।
आम्दानी गुमाउँदै प्राधिकरण
हिमालयल एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा नेपाल एयरलाइन्सले स्वतः आफ्नो व्यापारमा केही रकम गुमाउने छ । त्योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आम्दानी गुमाउने देखिन्छ । नेपाल एयरलाइन्सले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिए बापत लिने रकमबाट नेपाल एयरलाइन्सले प्राधिकरणलाई १५ प्रतिशत रकम तिर्दै आएको थियो । अब उक्त रकम समेत प्राधिकरणले गुमाउने छ ।  
यस्तो सेवा उपलब्ध गराएबापत सेवा प्रदायकले वायुसेवा कम्पनीबाट शुल्क लिने गर्छ । जुन सेवा दिएबापत नेपाल एयरलाइन्सले वार्षिक ५ अर्ब आम्दानी गर्दै आएको छ । यो ५ अर्बको आम्दानीमा नेपाल एयरलाइन्सले ६० प्रतिशतभन्दा बढी नाफा गर्दै घाटामा रहेको निगमलाई थप घाटामा जानबाट जोगाइरहेको छ । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई दिने खेल गरेको हो । प्रधानमन्त्री ओलीको यति ग्रुपसँग निकट सम्बन्ध रहेको चर्चा बेलाबेलामा चलिरहन्छ। नेपाल ट्रस्टका महँगा जग्गा पनि यति ग्रुपले सस्तोमा लिजमा पाउने गरेको छ। 
आफै यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सहरुले भने यसबापत शुल्क दिनुपर्छ। प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्नका लागि पूर्वशर्त तोकेको छ । जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर गर्नुपर्ने) शुल्क निर्देशिकाअनुसार बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्नेलगातयका शर्त तोकिएका छन् । यी शर्त पूरा भएपछि हिमालयले सेवा सञ्चालन गर्न पाउने भन्दै सेवा सञ्चालनको प्रमाण पत्र दिइएको छ।  
अब अरुलाई दिने कि नदिने ?
हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सेवा दिएसँगै अन्य अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा दिने किन नदिने भन्ने प्रश्न उठेको प्राधिकरण स्रोत बताउँछ। हिमालयललाई दिएपछि अब अरुलाई दिने बेला विमानस्थल सानो छ धेरैलाई दिँदैनौं भने भन्ने आधारबारे प्राधिकरण स्रोतको प्रश्न छ, ‘अब अन्यलाई दिने विषयमा भने सोच्नु पर्छ होला ।’
सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयमा चिनियाँ लगानीसमेत रहेको छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ। हिमालयसँग एयरबसका ए ३२०–२१४ सिरिजका तीन वटा जहाज छन् भने ए ३१९–११५ सिरिजको एउटा जहाज छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित