दरबार हाइस्कूलको भवन हस्तान्तरण

दरबार हाइस्कूलको भवन हस्तान्तरण

रासस
भदौ २४, २०७७ मा प्रकाशित
१३७ पटक पढिएको
दरबार हाइस्कूलको भवन हस्तान्तरण

काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन मंगलबार हस्तान्तरण भएको छ । 
गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । 
मंगलबार यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेका हुन् ।  उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ  । 
काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ । 
दरबार हाई स्कूलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ । दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन् । 
हाल ती दुवै विद्यालयमा गरी ३५० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड—१९ का कारण हस्तान्तरण हुन नसकेको बताए ।   
विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । 
विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरेका थिए । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ । 
सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । 

RSS

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित