कोभिड- १९ [अपडेट]

स्थानीय तहमा पुस्तकालयको भूमिका

सिरहा पुस्तकाल्य सिरहाका अध्यक्ष अरुण कुमार पासवान

अरुण कुमार पासवान
भदौ १५, २०७७ मा प्रकाशित
३५५ पटक पढिएको
स्थानीय तहमा पुस्तकालयको भूमिका

arun kumar paswan 1   प्रत्येक वर्ष भदौ १५ गते हाम्रो देशमा पुस्तकालय दिवस मनाइन्छ । यसलाई औपचारिकताका साथ समाप्त गर्ने गरिन्छ । भदौ १५ मा नै पुस्कालय दिवस मनाउने पनि एतिहासिक कारण छन् । तत्कालिन राजा गीर्बाणयुद्धको शासन कालमा वि.स. १८६५ भदौ १५ गते “पुस्तक चिताई तहबिल” गठन गरेको पाइन्छन् । यसै ऐतिहासिक तथ्यलाई आधार मानी वि.स. २०६५ साल भदौ १५ गते देखि पुस्कालय दिवस मनाउन थालेका हुन् । गत वर्ष २०७६ को १२ औं पुस्कालय दिवसको मूल नारा “पठन संस्कृतिको पुर्वाधार पुस्तकालयको विकास र विस्तार” थियो । यस वर्ष २०७७ भदौ १५ गते १३ औं पुस्तकालय दिवस को मूल नारा “सामाजिक रुपान्तरको लागि पुस्तकालय” हो । अर्थात समाजिक आवश्यकताको रुपमा सार्वजनिक पुस्तकालयलाई राष्ट्रले आत्मसात गरेको स्पस्ट बुझिन्छ । सामूदायिक पुस्तकालय सूचनाको स्थानीय केन्द्र हो । नेपालको संविधान २०७२ को भाग ४ राज्यको निर्देशक, सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५० को उपधारा (ज) ४ मा नागरिकको व्यक्तित्व विकासको लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालय स्थापना र प्रवद्र्धन गर्ने व्यवस्था उल्लेख छ । अनुसुची ६ मा प्रदेशहरुको अधिकारहरुको सूचीमा समेत पुस्कालयलाई समावेश गरिएका छन् । साथै यसको संरक्षण, व्यवस्थापन र संचालन स्थानीय सरकार कै रहने छ भनी स्पस्ट व्यवस्था गरिएका छन् । यसका लागि पालिकाहरुले नै आवश्यक बजेट विनियोजना गर्नुपर्नेछ ।
जीवन पर्यन्त सिकाई केन्द्र
यसप्रकार स्थानीय तह देखि केन्द्रसम्मका सरकारहरुबाट विभिन्न नीति र व्यवस्था हुँदा हुँदैपनि सार्वजानिक पुस्कालयहरु न त सूचना केन्द्र भए न त पाठकहरुको लागि अध्ययन केन्द्र नै भए । सार्वजानिक पुस्तकालय जीवन पर्यन्त सिकाई केन्द्र हो । बालबालिका देखि वृद्धवृद्धा सम्मकाले ज्ञान आर्जन गर्ने थलो पुस्तकालय हो । पुस्तकालयलाई जनताको विश्वविद्यालय भनिन्छ । यहाँ हरेक वर्ग, समुदाय, भाषा भाषी, जातजाति, धर्म र सम्प्रदायका व्यक्ति विना भेदभाव, समानताको आधारमा सेवा लिने गरिन्छ । सुसूचित नागरिकले मात्र लोकतान्त्रिक आधिकारको सही प्रयोग गर्दछ र उल्लेखित आधिकारको सदुपयोग पनि उसैले गर्न सक्छ । सार्वजानिक पुस्तकालय एउटा सशक्त नागरिक समाज हो जसले लोकतान्त्रिक संस्कृतिलाई समाजमा स्थापित गर्न सिकाउँछ । कुनै पनि गाँउ वा शहर कतिको स्वस्थ्य र वस्न योग्य छन् भन्ने त्यहाँका व्यक्तिहरुको पठन संस्कार र पुस्तकालयको अवस्थाले मापन गरिन्छ । एउटा सम्पन्न नगरको लागि रंगशाला, चिडिया घर, संग्रहालय, आर्टग्यालेरी, सभागृह, नाच घर, अस्पताल तथा आफ्नो विशिष्ट पहिचान आफ्नो देशलाई चिनाउन नगर पुस्तकालयको अवलोकन गराउने परिपाटी रहिआएको पाईन्छ । २१ औं शताब्दीमा आएर उत्तर आधुनिकतावादको प्रभाव सार्वजानिक पुस्तकालयमा पनि परेको जस्तो लाग्छ । मोवाइल र इन्टरनेटले यसको आवश्यकतालाई विस्थापित गरिरहेका छन् । यो नेपाली समाजको लागि निकै ठूलो चुनौती हो । सरकार र समाज दुवै पक्ष जिम्मेवार नभए यसको औचित्य समाप्त हुनेछ । पुस्तकालय बौद्धिक निर्माणको आधारशिला हो । सभ्यता र संस्कृतिकको अमूल्य सम्पति हो । शायद त्यसैले होला अमेरिकी लेखक नम्र्यान कजिनले “पुस्तकालय विचारको प्रजनन केन्द्र हो” भनि भनेका छन् । सार्वजानिक पुस्तकालय बौद्धिक वर्गका लागि आवश्यक खुराक पनि हो । यहाँबाट विचारको जन्म हुन्छ । सकारात्मक र दृढ़ विचारले नै समाजिक रुपान्तरण सम्भव छ । व्यक्तिको सुख र दुःखका मूल कारण पनि उसको आन्तरिक विचार शक्ति नै हो भनि खप्तड स्वामीले आफ्नो पुस्तक विचार विज्ञानमा लेख्नु भएका छन् । ज्ञान उत्पादनका क्षेत्रहरु विश्वविद्यालय तथा सरकारी कलेजहरु खण्डहर भएका छन् भने विचार प्रजनन केन्द्र अर्थात सार्वजानिक पुस्तकालयहरुको आस्तिव नै समाप्त हुने अवस्थामा छ । समयको परिर्वतन संगसैग समाजमा अनेक विसंगती र विकृति आउनु स्वभाविक प्रकिया हो, जसले सृर्जनशिलता तथा परिर्वतनका लागि अनुसन्धानात्मक कार्यहरु भई रहनु पर्दछ । व्यवस्थित पुस्तकालयको अभावमा अनुसन्धानका कार्यहरु हुन सक्दैन् । सार्वजनिक पुस्तकालयले औपचारिक र अनौपचारिक दुवै प्रकारको शिक्षालाई सहयोग गर्छ । यसले साक्षरता स्तरलाई उठाउन सघाउँछ । दुर्गम तथा ग्रामिण समुदायका सिमान्तकृत वर्ग र अल्पसंख्यक, दलित तथा श्रमिक महिलाहरुलाई अनौपचारिक शिक्षाको माध्यमबाट शैक्षिक स्तर उठाउन मदत गर्न सक्छ । नेपाल सरकारद्वारा संचालित अनौपचारिक शिक्षा कार्यक्रमका सहयोगी संस्थाका रुपमा सार्वजानिक पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ ।
Siraha_edu1 पठन संस्कृतिको महत्व
पुस्तकालयमा अध्ययन एउटा पठन संस्कृतिक हो जसले व्यक्तिमा मानसिक उर्जा प्रदान गर्दछ । नियमित पढने बानीले मानसिक स्वाथ्यमा विकास हुन्छ । अमेरीकन खोजकर्ता वैज्ञानिकद्वय डा. ग्रनिक र डा. विरेन अनुसार मानवको दीर्ध जीवनको सम्बन्ध मास्तिष्क तथा ज्ञान संग जोडिएका हुन्छन् । पढ्ने बानीबाट ज्ञान आर्जन गर्नुको साथ साथै मनुष्यको आयुमा समेत वृद्धि हुन्छ । जव व्यक्ति ५० वर्षको उमेर पश्चात् पढने काम बन्द गर्छन उनीहरुको मास्तिस्क कोषहरु निस्किय हुन थाल्छन । अर्थात चाँडै वृद्धावस्था प्राप्त गर्छन् । यसकारण दीर्धजीवी रहनका लागि तथा स्वस्थ्य मास्तिकको लागि पढने बानी अत्यन्त आवश्यक छ । आजका युवाहरु मोवाइल तथा समाजिक सञ्जालमा हराई रहेका छन्, मोवाईलबाट सूचना प्राप्त गर्न सकिन्छ । ज्ञान प्राप्ती तथा व्यक्तित्व परिर्वतनका लागि पुस्तक अध्ययनलाई नै महत्वपूर्ण मानिएका छन् । एउटा मनपराउने पुस्तक पाउनु भनेको असल मित्र पाउनु जतिकै हो । विद्यालयमा बालबालिकाहरुको अत्यधिक मोवाइलको प्रयोग तथा दुरुपयोग बानिको अन्त्य गर्न पठन संस्कृति जरुरी छ । उनिहरुको जन्मदिन मनाउने अवसरमा बाल पुस्तकहरु उपहार स्वरुप प्रदान गर्ने परिपाटीको शुरुवात गर्नु आवश्यक छ ।
सूचना केन्द्रको प्रभावकारीता
संविधान प्रदत मौलिक हकहरु मध्ये सूचनाको हकलाई सुनिश्चित गरी अधिकतम उपयोग गर्न पुस्तकालय तथा सूचना केन्द्रहरु स्थानीय स्तर देखि केन्द्र स्तर सम्म अनिर्वाय रुपमा स्थापना तथा सञ्चालन भएको हुनु पर्दछ । लेखक देखि पाठक या स्रस्टा देखि प्रकाशक सम्मलाई प्रोत्साहन गर्न पुस्तकालय तथा सूचना सेवा प्रभावकारी हुनु अनिर्वाय छ । जीवन पर्यन्त अध्ययन गर्ने संस्कृतिको विकास गर्न तथा गुणस्तरीय शिक्षाको लागि व्यवस्थित पुस्तकालयको आज पनि समाजमा उतिकै खाँचो छ । सबैका लागि सूचना प्रदान गर्न प्रत्येक नागरिकलाई आवश्यक पर्ने ज्ञान र सूचनाबाट सूचित गराउन स्थानीय निकायहरुमा अर्थात वडा–वडामा पुस्तकालय तथा सूचना केन्द्रको स्थापना र प्रभावकारी संचालन गर्नु आवश्यक छ । नेपाल सरकारले पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति २०६४ पारित गरेका छन् । अब यस्ता सार्वजानिक तथा सामुदायिक पुस्तकालयहरु “पुस्तकालय तथा सूचना निर्देशिका – २०६९” अन्तर्गत संचालन भइरहेका छन् । नेपालका करीब १२०० सार्वजानिक पुस्तकालयहरुको अवस्था चिन्ताजनक रहेका छन् तथा पुस्तकालयहरु नाममात्रका रुपमा बाँकी रहेका छन् । सार्वजानिक पुस्तकालयहरुको आस्तित्व नै समाप्त हुने अवस्था छ । यहाँ रहेका बहुमूल्य पुस्तकहरु सखाप हुने अवस्थामा छन् । पुस्तकालयहरु पाठकको पर्खाइमा अब सिकिस्त भईसकका छन् । राष्ट्रिय शिक्षा नीतिले स्थानीय तहमा रहेका सार्वजानिक पुस्तकालयहरुको संरक्षण, व्यवस्थापन र संचालन स्थानीय सरकारकै दायित्वमा रहेको भनी स्पस्ट व्यवस्था गरिएका छन् तर स्थानीय सरकार अषाढे बजेट सिध्याउने र डोजर चलाउन मात्र जान्ने क्रियाकलापले समाजमा रहेका ऐतिहासिक, शैक्षिक धरोहरहरु भताभंग हुन समय लाग्ने छैन । 
सामाजिक विकृति तथा युवाहरुलाई लागु पदार्थ दुव्र्यसनबाट बचाउन अब स्थानीय सरकारहरु “एक पालिका एक पुस्तकालय” को अवधारणा कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।
अब स्थानीय तहहरुले पुस्तकालयको लागि प्रत्येक वर्ष बजेट विनियोजन गरी आफ्ना नागरिकको सूचनाको हक सुनिश्चित गर्न सार्वजानिक पुस्तकालयहरुको उचित व्यवस्थापन गरी यसलाई एउटा सशक्त “नागरिक सूचना केन्द्र” सरह कार्य संचालन गर्नै पर्नेछ । सार्वजनिक पुस्तकालयमा जाँउ–जाँउ, बसँु–बसँु लाग्ने वातावरण हुनुपर्दछ ।
एउटा शिक्षित पुस्ता विस्तारै अवकाश जीवनमा प्रवेश गरिरहेका छन् । उहाँहरु संग पर्याप्त समय छ तर दिन काटने ठाँउ छैन । यस्ता पुस्तकालय नै उहाँहरुको समय विताउने र उमेर छँदा नभ्याएका पुस्तक पढने थलो बन्नु पर्दछ । भनाईछ “रिडर्स आर लिडर्स” अर्थात पढ़ने व्यत्तिहरु नै देश र समाजका नेतृत्व लिए परिवर्तन सम्भव छ । आजको युवा पुस्तालाई पठन संस्कृतिको आवश्यकता रहेको छ । समाजको रुपान्तरको लागि शिक्षित यूवाको भूमिका चाहिएको छ । स्थानीय तह देखि केन्द्रसम्मको नेतृत्व तहमा बौद्धिक वर्गको सहभागिता र अनिवार्यता खटकेको छ । सार्वजानिक पुस्तकालयहरुलाई दातृ संस्थाहरुको आशा र भरोसामा राख्नु भन्दा स्थानीय सरकारद्वारा अनिवार्य बजेट विनियोजन गर्नै पर्ने बाध्यात्मकारी व्यवस्था संधिय सरकार र प्रदेश सरकारले गर्नु पर्दछ । सार्वजानिक पुस्तकालयहरुले जनतालाई अन्य विभिन्न सेवाहरु दिन सक्छन् । यसले स्थानीय ग्रामिण जनतालाई कृषि सम्बन्धी मल, बिउ विजनको सूचना, बैदेशिक रोजगार परामर्श सेवा तथा आधुनिक कृषि सम्बन्धी ज्ञान, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय, रोजगार सम्बन्धी ज्ञानहरु सूचना र प्रविधि मार्फत दिनु पर्दछ । स्थानीय युवा, महिला, बेरोजगारहरुलाई आवश्यक ज्ञान प्रदान गर्नुको साथै उच्च शिक्षाको लागि परामर्श सेवा, छात्रवृति सेवा, औद्योगिक तथा व्यवसायीक स्रोतहरु सम्बन्धी जानकारी आदी सार्वजनिक पुस्तकालय मार्फत दिन सकिन्छ । प्रत्येक जिल्लामा रहेका पुराना ऐतिहासिक पुस्तकालयलाई “जिल्ला पुस्तकालय तथा सूचना केन्द्र” को अवधारणामा ल्याउनु पर्नेछ । जिल्ला भित्रका सम्पूर्ण स्थानीय तह, सरकारी कार्यालय संघ, संस्था, नीजी तथा सार्वजनिक प्रतिष्ठानहरुले जनतालाई प्रवाह गर्ने सेवाहरु सम्बन्धमा सूचना प्रदान गर्ने कार्य पुस्तकालय तथा सूचना केन्द्र मार्फत गरिनु पर्दछ । यसबाट नागरिकको सूचनामा पहुँच हुनुको साथै स्थानीय सरकारको सुशासनको भूमिका पनि यसैले निर्वाह गर्न सक्नेछन् । साथै अस्तित्व नै समाप्त हुन लागेको सार्वजनिक पुस्तकालयहरुले पुनः जीवन्तता पाउने छ ।

 

 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित