मृत्युदेखि नडराउने राष्ट्रकवि घिमिरे

मृत्युदेखि नडराउने राष्ट्रकवि घिमिरे

अपन दैनिक
भदौ २, २०७७ मा प्रकाशित
२६५ पटक पढिएको
मृत्युदेखि नडराउने राष्ट्रकवि घिमिरे

काठमाडौं । २०७५ सालतिरको कुरा हो । सानो आन्द्रामा रक्तस्राब भएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारको लागि नयाँ दिल्ली लगिएको थियो । सामाजिक सञ्जालमा घिमिरेको निधनबारे अफवाह फैलिन पुग्यो ।
हल्ला चलेको केही दिनमा उनको उपचार सकियो । उनी दिल्लीबाट काठमाडौं आए । तर काठमाडौं आउँदा नआउँदै उनले आफ्नै मृत्युको खबर सुन्नुपर्‍यो ।
२०७६ साल असोज ९ गते लैनचौरस्थित उनकै निवासमा पुग्दा उनले हँसिलो मुद्रामा सुनाए ‘म त भाग्यमानी रहेछु । आफूले आफ्नै मृत्युको खबर सुन्न पाएँ ।’
एक वर्षअघिको घटना स्मरण गर्दै उनी भन्छन् ‘अहो ! म त मर्ने बेला भएँ… त्यो सोच त २० वर्षअघिदेखि नै भइरहेको थियो । अहिले किन चिन्ता लिने मलाई कहिलै मृत्युदेखि डर लागेन ।’
एक सय वर्ष पुगेका उनी दिनभरिको दौडधुपमा पनि थकित थिएनन् । सायद त्यही जन्मदिन नै उनको अन्तिम जन्मदिन थियो ।
पुस्तुनदेखि लाजिम्पाटसम्मको १०० वर्षे यात्रा
लमजुङ जिल्लाको पुस्तुनमा वि.सं. १९७६ साल असोज ९ गते घिमिरेको जन्म भएको थियो । बाबु गौरीशंकर र आमा द्रौपदीदेवीको पुत्ररत्नको रूपमा जन्मिएका घिमिरे अन्ततः नेपाली साहित्यको छन्द विधामा ‘न भूतो न भविष्यति’ सावित भएरै बिदा भए ।
नेपाली साहित्यमा अमीट छाप छाडेका घिमिरेको न त बाल्यकाल सुखद् बित्यो न त जीवनको अन्तिम बसन्त नै । तीन वर्षको उमेरमा आमालाई कालले टिपेर लग्यो । दूधे बालखको पीडामा पिता गौरीशंकरले मलम लगाउने प्रयास गरे । जिन्दगीको पाठ सिकाए, नैतिक अनुशासनको मन्त्र सुनाए, यसरी नै गाउँबेसी गर्दै बितेको थियो घिमिरेको बाल्यकाल ।
सानैदेखि आमाको माया नपाएको बाल मस्तिस्कमा करुण रसको रसधारा बग्न थाल्यो । उनी भर्खरको किशोर वयमा प्रवेश गर्दै कविताको सागरमा पौडिन थाले ।
पिता गौरी शंकरबाटै आध्यात्मिक चेतको विकास भयो । ६ वर्षको उमेरमा नै दुर्गाकवच र चण्डी पाठ गरेर धार्मिक साहित्य अध्ययनमा सुरुवाती पाइला चाले ।
८/९ वर्षको उमेरमा फुलेबाबाबाट ‘भास्वती पञ्चाङ्ग’ बनाउन सिके । १२ वर्षको उमेरमा उनले मोक्षेश्वर घिमिरेको साथमा गणित र फलित ज्योतिषको सामान्य ज्ञान लिने मौका पाए । मुहूर्त मार्तण्ड र चमत्कार चिन्तामणिका साथै पञ्चाङ्ग निर्माण गर्ने विधिसमेत उनले मोक्षेश्वर घिमिरेसँगै सिकेको अनलाइनखबरकर्मीसँगको भेटमा घिमिरेले बताएका थिए ।
१४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ नामको कवितामार्फत् उनको साहित्य लेखनमा पाइला चलेको थियो ।
घिमिरेको वि.सं. १९९० मा १५ वर्षको उमेरमा लमजुङ खुदीवेनीकी गौरी पोखरेलसँग बिहे भयो ।
विवाहपछिको दुई वर्षसम्म ससुराली बसाइपछि सोही ठाउँका बद्रीनाथ सुवेदीको सुझावमा उनी काठमाडौं आउने भए, त्यो पनि प्राणभन्दा प्यारी श्रीमती गौरीलाई घरमै छाडेर ।
उनी काठमाडौं आउने तयारी हुनुभन्दा पहिले नै ‘ज्ञानपुष्प’ले गोर्खापत्रमा छापिने मौका पाइसकेको थियो । त्यतिबेला नै उनको गाउँघरको सिर्जनाले राष्ट्रियस्तरमा स्थान पाएपछि एउटा ‘फुच्चे साहित्यकार’को सिर्जनाले यसै विस्तारको गति लिँदै थियो ।
विवाहको तीन वर्षपछि वि.सं. १९९३ मा घिमिरे काठमाडौं आएर दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासमा अध्ययन सुरु गरे । तीनधारामा पढ्दा घिमिरेले उनले दर्शन विषय लिएर अध्ययन गरे ।
उनी भन्थे ‘दर्शन विषयले मलाई साहित्यको विकासमा झनै बढी टेवा दियो । मैले छन्दमा धाराप्रवाह कविता लेख्न सकेँ ।’ पढाइ राम्रै थियो । तर के बुद्धि चल्यो कुन्नी उनी मध्यमा (हालको एसईई तह) पढ्नका लागि त्यसपछि भारतको बनारसमा रहेको क्विन्स कलेजतिर हान्निए ।
त्यहाँ पनि पहिलो श्रेणीमा मध्यमा पास गरेपछि दरबारीया पण्डित सोमनाथ सिग्द्यालले उनलाई नेपालमा नै बोलाए । नेपालमा आएपछि सिग्द्यालकै सहयोगमा उनले १९९८ मा भाषानुवाद परिषद्का जागिर सुरु गरे ।
भाषानुवाद परिषद्मा जागिर हुँदाहुँदै वि.सं.२००१ मा उनी गोर्खापत्रको सम्पादक बने । घिमिरे ठट्यौली पारामा भन्थे ‘महिनाको ४० रुपैयाँ आउँ’थ्यो । पहिलो कविता छापिँदा भुइँमा खुट्टो नभएको म केही वर्षमा त त्यही पत्रिकाको सम्पादक बन्दा त आकाशमा नै उँडुँला जस्तो भएको थियो ।’
गोर्खापत्रमा सम्पादक भएपछि जीवन राम्रै चलिरहेको थियो । जागिर खाएपछि धर्मपत्नी गौरीलाई पनि काठमाडौंमा नै बोलाएका थिए । साथमा थिए फूल जस्ता सुन्दर दुई छोरीहरू शान्ति र कान्ति ।
तर अकस्मात् वि.सं.२००४ मा घिमिरे सामु अर्काे बज्रपात पर्‍यो । पत्नी गौरीको निधनमा घिमिरेलाई सम्हालिन गाह्रो भयो । उनलाई काठमाडौंले गौरीलाई भुल्ने वातावरण सिर्जना गरे । वि.सं.२००५ मा एउटा विद्यालयमा प्रधानाध्यापक बन्ने गरी आफ्नै गृहजिल्ला लमजुङतिर हान्निए ।
पत्नीवियोगमा विरक्तिएर लमजुङ पुगेका घिमिरेले २००५ सालमा नै दुराडाँडाकी महाकाली अधिकारीसँग बिहे गरे । तर पनि गौरीको वियोग र ती सुन्दर कोपिला (शान्ति र कान्ति) को मातृवियोगलाई सहन सकेनन् । त्यही वियोगले जन्मायो गौरी खण्डकाव्य ।
घिमिरे ‘छन्दका शिरोमणि’ हुन् । उनी भन्थे ‘म छन्दको सुर नलिइकन लेख्नै सक्दिन । मैले छन्दसँगै प्रेम गरेँ ।’
जागीर र सेवाका सिलसिलामा कहिले शिक्षण केन्द्रका शिक्षक, कहिले नेपाल भारत मैत्री संघका अध्यक्ष त कहिले काव्य प्रतिष्ठानको सदस्य पदमा काम गरे ।
घिमिरेले इन्द्रेणी पत्रिकाको सम्पादक, तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य, उपकुलपति हुँदै कुलपतिसम्मको जिम्मेवारी सम्हालेका थिए ।
फुटकर रचनालाई छाड्ने हो भने पहिलो खण्डकाव्य रामविलास (रचना १९९५) को रचनाबाट खण्डकाव्य लेखनको सुरुवात गरेका घिमिरेले ऋतम्भरा महाकाव्य पूरा गर्न भने पाएनन् । एक वर्षअघिको भेटमा ऋतम्भरा पूरा गर्न पाए सजिलै सास जाने बताएका घिमिरेले त्यसलाई पूरा गर्न भने सकेनन् ।
पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०) जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।
२०६० सालमा गठन भएको राष्ट्रिय मूल समितिले उनको जन्मदिनको अवसर पारेर २०६० को आश्विन ७ गतेका दिन प्रज्ञाहलमा उनलाई ‘छन्द शिरोमणि’को उपाधि दिइएको थियो । सो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उनलाई सो उपाधिद्वारा अभिनन्दन गरेका थिए । त्यसैको तेस्रो दिन उनलाई ‘राष्ट्रकवि’ घोषणा गरिएको हो ।
तीनै राष्ट्रकवि घिमिरेले राष्ट्रकवि घोषणा भएपछिको १७ वर्षसम्म पनि नेपाली साहित्यलाई प्रत्यक्ष र परोक्ष रूपमा योगदान दिँदै गए । तिनै राष्ट्रकवि घिमिरेले मंगलबारकै दिन सदाका लागि यो भौतिक शरीर त्याग गरेर गएका छन् ।
घिमिरेले नेपाली साहित्यमा दिएको लेखनाथको परिस्कारवादी धारा र लक्ष्मीप्रसादको स्वच्छन्दतावादी धाराको मध्यमार्गी बाटो कहिलै पनि मेटिने छैन । उनले नेपाली साहित्यलाई दिएको सुगठित र सरस भाषा शैली एवं प्रकृति एवं राष्ट्रप्रेमी साहित्यले उनलाई जीवन्त बनाइराख्ने छ ।

छापा संस्करण

२०७७ मंसिर १९ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित