भारतमा कोभिड–१९ संक्रमणबाट भएको मृत्युमा कति छुटेका छन् ?

भारतमा कोभिड–१९ संक्रमणबाट भएको मृत्युमा कति छुटेका छन् ?

अपन दैनिक
भदौ २, २०७७ मा प्रकाशित
२५३ पटक पढिएको
भारतमा कोभिड–१९ संक्रमणबाट भएको मृत्युमा कति छुटेका छन् ?

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो । यससँगै भारत कोरोना (कोभिड–१९)बाट सबैभन्दा बढी मानिसको मृत्यु हुने चौथो ठूलो मुलुक हो ।
यद्यपि प्रति १० लाख जनामा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुने दर भने युरोप र उत्तर अमेरिकाको तुलनामा कम छ । भारतमा प्रति १० लाख मानिसमा ३४ जनाको मृत्यु भएको छ ।
(कोभिड–१९) संक्रमितहरुको मृत्युदर पनि दुई प्रतिशतको हाराहारीमा छ । सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा पनि कोरोन भाइरसबाट मृत्यु हुनेको संख्या दोब्बर हुन करिब ४० दिन लागेको देखिएको छ । भारतको थिंक ट्यांक पब्लिक फउण्डेसन अफ इन्डियाका अध्यक्षको श्रीनाथ भन्छन्, ‘संक्रमितको संख्या बढिरहँदा पनि मृत्युदर भने कम देखिएको छ ।’
संक्रामक रोग विशेषज्ञहरु मृत्युदर कम हुनुमा युवा पुस्तामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढी देखिनु एक कारण रहेको बताउँछन् । धेरै उमेर भएका मानिसमा कोरोना भाइरस बढी जोखिमपूर्ण देखिएको छ । त्यसबाहेकका अन्य कारण भने स्पष्ट भएको छैन ।
त्यसो त दक्षिण एसियाका अन्य मुलुकमा पनि कोरोनाबाट हुने मृत्युदर कम देखिएको छ । बंगलादेशमा प्रति १० लाख मानिसमा २२ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा २८ । स्पष्टरुपमा जनसंख्याको आधारमा हेर्ने हो भने भारतले युरोपले भन्दा राम्ररी कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ ।
तर विश्व बैङ्कका पूर्व वरिष्ठ अर्थशास्त्री कौशिक बासु भने तथ्यांकलाई जोडेर सान्त्वना लिन खोज्नु उचित नहुने बताउँछन् । भन्छन्, ‘चीनमा कोभिड–१९ बाट भएको मृत्युदर प्रति १० लाख मानिसमा ३ छ । भारतमा यो संख्या ३४ छ । दक्षिण एसियामा प्रति १० लाख मानिसमा कोरोनाको मृत्युदर अफगानिस्तानको मात्र बढी छ र भारत त्यसलाई उछिन्ने दिशामा छ ।’
बासुका अनुसार भारत विश्वका केही मुलुकमा पर्छ, जहाँ कोरोना भाइरसको संक्रमणको ग्राफ घट्न सकेको छैन । ‘मार्चको अन्तिमदेखि अहिलेसम्म संक्रमित र मृतकको संख्या बढिरहेको छ । बढिरहेको मात्र छैन, वृद्धिदर पनि स्थिर छ’, उनले भने ।
अन्य विशेषज्ञहरु पनि भारतको तुलनात्मक रुपमा कम देखिएको मृतयुदरले भारतको समग्र अवस्स्था भने नदेखाउने बताउँछन् । साथै केही विशेषज्ञहरु भारतका केही राज्यमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या कम राखिएको बताउँछन् ।
भारतका बढी राज्यमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तयार पारेको मापदण्ड पनि पालना नगरी शंकास्पद संक्रमितलाई अन्तिम गणनामा सामेल गराउँदैनन् । केही राज्यले कोरोना भाइरसबाट भएको मृत्युको गणना पनि विभिन्न अवस्थालाई आधार मानेर मात्र समावेश गर्ने गरेका छन् । एक अनुसन्धानमा भारतको गुजरात र तेलंगनामा उल्लेख्य मात्रामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाइएको पाइएको छ ।
गुजरातको बडोदरामा पछिल्लो दुई महिनामा मृतकको संख्या केवल ४९ प्रतिशतले बढेको छ । जबकी यो सहरमा संक्रमितको संख्या भने ३ सय २९ प्रतिशतले बढिसकेको छ । केही सहरमा कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि र आधिकारिक तथ्यांकबीच ठूलो अन्तर देखिन्छ ।
त्यसैले भारतमा कोरोनाबाट भएका धेरै मृत्युहरु हराइरहेको देखिन्छ । त्यसमाथि पनि भारतमा अहिलेसम्म समग्र जनसंख्याको सानो हिस्साको मात्र कोरोना परीक्षण गरिएको छ । यस्तो अवस्थामा मेडिकल्ली रिपोर्ट नगरिएका मृत्युहरु पनि धेरै हुन सक्ने बताइएको छ । भारतमा मृत्यु हुने चारमध्ये एकजनाको मात्र मृत्युको कारण प्रमाणित हुने गरेको छ । विशेषज्ञहरु पनि भारतको कमजोर स्वास्थ्य नियामन प्रणालीका कारण धेरै मृत्युहरु कोरोना भाइरसबाट भएको मृत्युको गणनामा छुटेको हुन सक्ने बताउँछन् ।
यद्यपि आधिकारिक तथ्यांकभन्दा कति कम छ त ? भन्ने अहिले एक महत्वपूर्ण प्रश्न बन्न पुगेको छ ।
अघिल्ला वर्षहरुको तथ्यांकहरुको अभावमा यो अवधिमा थप कति धेरै मानिसको मृत्यु भयो भनेर पत्ता लगाउन नसकिने मिसिगन युनिभर्सिटीका भ्रमर मुखर्जी बताउँछन् । सामान्य अवस्थामा हुने मृत्युभन्दा यस वर्ष मृत्यु हुनेको संख्या कति बढ्यो भन्ने अध्ययन गरी थपिएको मृत्यु संख्यालाई कोरोनाबाट भएको सम्भावित मृत्यु मान्न सकिन्छ । त्यसैले २ सय ३० भन्दा बढी डाक्टर, शोधकर्ता र विद्यार्थीहरुले सरकारसँग पछिल्लो तीन वर्षमा भएका मृत्युहरुको विवरण उपलब्ध गराउन माग गरेका छन् ।
तर मृतकको संख्या छुट्ने भारत एक्लो मुलुक भने होइन । २८ मुलुकमा गरिएको सर्वेक्षणमा कोरोना भाइरसको महामारीको अवस्थामा सामान्य अवस्थाको भन्दा एक लाख ६१ हजार धेरै मानिसको मृत्यु भएको पाइएको थियो । यो सर्वेक्षणमा भारत समावेश थिएन ।
युनिभर्सिटी अफ टोरोन्टोका प्रभात झा भारतमा अहिले फैलिरहेको संक्रमण तथा संक्रमणको कारण हुने मृत्यु घटाउन भारतीय टेलिकम कम्पनीहरुले सबै कल रेकर्ड डेटा सरकारलाई बुझाउनुपर्ने बताउँछन् । यसका आधारमा लाखौं भारतीयहरु लकडाउनपछि कुन स्थानबाट कुन स्थानमा गए भन्ने जानकारी हुने र त्यसको आधारमा सरकारी टोली हटस्पटमा पठाई यसलाई नियन्त्रण गर्न सकिने झाको भनाइ छ ।
अघिल्ला वर्षहरुमा हुने गरेको मृत्यु र यस वर्षको मृत्युको तथ्यांक नगरपालिकाहरुले उपलब्ध गराउनुपर्ने झाले बताए । ‘राम्रोसँग मृृत्यु कति भएको भन्ने तथ्यांक नभई भारतले कसरी (कोभिड–१९) बाट हुने मृत्युदर घटाउन सक्छ ?’ झा प्रश्न गर्छन् ।
यो महामारी सकिएपछि कोरोना भाइरसको कारण मृत्यु भएका मानिसहरुको संख्याको आधारमा उक्त मुलुकको संक्रामक रोग नियन्त्रणको क्षमता मापन गरिन्छ ।
स्रोत : बीबीसी

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित