कोभिड- १९ [अपडेट]

ओली सरकार प्रगतिशील कि अगतिशील ?

केपी ओली साहित्यकारलाई माया गर्ने मानिस हुन् : जीवेन्द्रदेव

अपन दैनिक
श्रावण १३, २०७७ मा प्रकाशित
१२२ पटक पढिएको
ओली सरकार प्रगतिशील कि अगतिशील ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार प्रगतिशील हो कि यथास्थितिवादी ? सत्तारुढ नेकपाका नेता– कार्यकर्तालाई यस्तो प्रश्न सोध्यो भने उनीहरु ठाडै रिसाउँछन् । र, प्रतिप्रश्न आउन सक्छ, ‘बकाइदा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकार प्रगतिशील नभएर कुनचाहिँ सरकार प्रगतिशील हुन्छ ?’
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनको बैचारिक धर्नासो कम्युनिस्ट पार्टीसँगै जोडिएको छ । अहिले त्यही कम्युनिस्ट पार्टीकै सरकार भएकाले ओली सरकारलाई पक्कै पनि कवि–कलाकारहरुले प्रगतिशील सरकार नै मान्दा हुन् भन्ठान्नु अस्वाभाविक पनि होइन ।
कम्युनिष्ट विचार मान्ने लेखकहरुको साझा संगठन दाबी गर्ने प्रगतिशील लेखक संघ (प्रलेस) ले पछिल्लो समय ओली सरकारका कतिपय कामहरुको गुणगान गाएको छ भने कतिपय निर्णयहरुको विरोधमा विज्ञप्ति जारी गर्ने कामलाई तीव्रता दिएको छ ।
संघका महासचिव समीर सिंह भन्छन्– ‘हामीले यो सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै आइरहेका छौं । सरकारले गरेका राम्रा कामहरुको समर्थन गरिन्छ, खराब कामको विरोध गरिन्छ ।’
समग्रमा प्रलेसले ओली सरकारलाई कसरी हेर्छ ?
यो प्रश्नमा महासचिव सिंहले ‘ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे’ भन्ने ढंगबाट प्रलेसले सरकारको मूल्यांकन नगर्ने बताए । सरकारको कामका आधारमा प्रलेसले धारणा बनाउँदै आएको उनले अनलाइनखबरलाई बताए ।
प्राध्यापक डा. जीवेन्द्रदेव गिरी अहिले प्रगतिशील लेखक संघका अध्यक्ष छन् । डा. गिरीले पनि महासचिव सिंहले जस्तै प्रलेसले ओली सरकारलाई गुण–दोषकै आधारमा हेर्ने बताए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘साहित्यलाई माया गर्ने मानिस’ भएको भन्दै उनको प्रशंसासमेत गरे ।
यिनै सन्दर्भमा अनलाइनखबरकर्मी निर्भिकजंग रायमाझीले प्रलेसका अध्यक्ष गिरीसँग समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–
नेकपाको नेतृत्वमा सरकार बनिसकेपछि प्रगतिशील लेखक संघ उसैको जनवर्गीय संगठनजस्तै बनेको हो ? विभिन्न लाभका पदहरुका कारणले सरकारविरुद्ध तपाईंहरूको स्वर सानो भएको हो कि ?
‘लाभको पद’का भन्ने पदावली नै मलाई मन पर्दैन । लाभको पदकै लागि हुरुक्क हुने बानी मेरो छैन । लामो समय प्राध्यापन गरेको कारण मलाई आफ्नै शिक्षण पेशाबाट सन्तुष्टि मिलेको छ । हामी पदमा बस्दा के–के गर्यौं भन्ने काम सबैले हेर्न सक्नुहुन्छ ।
प्रज्ञा प्रतिष्ठानमा म स्वयं पनि सदस्यसचिव भएँ, त्यति भन्दैमा मेरो विरोधको स्वर बन्द भयो भन्नु गलत हो । मैले अत्यन्त चर्को कुरा बोल्दैमा त्यसले समस्याको समाधान गर्छ भन्ने पक्षमा छैन ।
जुन काम मुलुकका लागि आवश्यक छ, प्रगतिशील लेखक संघले ती काम गरेको छ । हाम्रो स्वर मन्द भएको छैन । जनताले हाम्रा विज्ञप्ति र आन्दोलन हेरे भने हामीले गरेको संघर्ष थाहा पाउँछन् । हामीले कतै पनि स्वर मन्द गरेका छैनौं ।
केपी शर्मा ओली अथवा सरकारको कुरालाई लिएर सधैं विरोध गर्नुपर्छ भन्नेमा म छैन । प्रधानमन्त्री ओली साहित्यकारलाई माया गर्ने मानिस हुन् । उनी साहित्यिक कार्यक्रममा भ्याएसम्म उपस्थित हुन्छन् । तर, सरकारले गरेका गलत कामको हामी विरोध गर्छौं । प्रलेस गुण र दोषको आधारमा यो सरकारलाई हेर्ने गर्छ । किनभने, ठूलो उपलब्धीपछि निर्माण भएको सरकार हो यो । यस सरकारको प्रतिरक्षा पनि गर्छौं ।
प्रधानमन्त्री ओली साहित्यकारलाई माया गर्ने मान्छे हुन् भन्नुभयो, तर सृजनात्मक कुराहरु लेखे–बोलेको वा सरकारको आलोचना गरेकै भरमा सरकारले सर्जकहरुलाई धरपकड गर्दै आएको छ नि ?
सरकारका मान्छेले व्यक्तिगत रुपमा के बोल्छन्, त्यसको हिसाब मसँग छैन । यद्यपि, माइला लामा, खेम थपलियाजस्ता स्रष्टाले विचार व्यक्त गरेकै कारण सरकारले नियन्त्रणमा लिएको कुराको निरन्तर विरोध गरेका छौं ।
अहिले तीजको सिजन आएको छ । तीज गीतको विषयलाई लिएर विभिन्न बहसहरु हुने गरेका छन् । धार्मिक संगठनहरु र प्रगतिशील विचारवीचको यो बहसबारे के भन्नुहुन्छ ?
म व्यक्तिगत तहबाट र प्रगतिशील लेखक संघ अभिव्यक्ति स्वतन्त्रता निर्वाध हुनुपर्छ भन्नेमा दृढ छौं । अभिव्यक्ति स्वतन्त्रताले नै यो लोकतान्त्रिक गणतन्त्र उपलब्ध भएको हो । हिजोका अप्ठेरा दिनमा पनि प्रलेसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएको थियो । विचार अभिव्यक्त गरेकै कारण कसैमाथि दुव्र्यवहार हुन्छ, आक्रमण हुन्छ भने प्रलेस त्यसविरुद्ध खरो उभिन्छ ।
मान्छे हो, मान्छेले बाटो बिराउन सक्छ, त्यसैले उसलाई ठोकिरहन पर्छ । तीज आउँछ, हरियो कपडा लगाउनैपर्ने, भोज भतेर गर्नुपर्ने । विलासी सामान रोज्नैपर्ने । यी पाखण्डका कुरा हुन् । यिनै सामान्तवादको अवशेषलाई हामीले विरोध गरेका छौं । जसरी पनि कमाऊ भन्ने सामन्तवादले मोजमज्जा गर, एक्लै जिन्दगी बिताऊ भन्छ । यसका विरुद्ध जीवनपर्यन्त लडिरहनु नै हामी प्रगतिशीलको कर्तव्य हो । सचेत आन्दोलनमार्फत लडिरहने हो । प्रलेसजस्ता संगठनले सामन्तवाद विरुद्ध लड्छ । पत्रकारिता र लेखनले पनि यो आन्दोलनलाई साथ दिन्छ ।
अहिले दुई धारका कम्युनिस्टहरु मिलेर बनेको नेकपाले सरकार चलाइरहेको छ । तर, लामो संघर्ष गरेर आएका नेताहरु चरित्र सामन्तवादीको झैं देखियो नि, किन ?
हामी सबैसँग सामन्तवादको अवशेष छ । यसलाई शुन्यमा झार्न सकेका छैनौं । सामन्तवादविरुद्ध चर्का कुरा गर्ने मानिस पनि यसको शिकार भएका छन् । किनभने, समाजलाई प्रशिक्षित गर्ने, विचारलाई प्रशिक्षित गर्ने मामिलामा हामी अलि चुकेका छौं ।
दुई ठूला कम्युनिष्ट पार्टीवीच एकीकरण त भयो । तर, वैचारिक प्रशिक्षण भएन । विचलन रोक्न सबैले संगठितरुपमा लाग्नुपर्ने तर, संगठन अलपत्र छ । पार्टीका जनवर्गीय संगठनलाई परिचालन गरेर सामन्तवादी चिन्तन हटाउने अभियानमा पार्टी लाग्नुपर्छ ।
प्रलेसले पनि अचेल आफूलाई धारिलो बनाउनका लागि प्रभावकारी लेखन कार्यशाला, अन्तरक्रिया र गोष्ठी गर्दैन भन्ने सुनिन्छ नि ?
गएको वर्षको अन्तिमतिर प्रलेसको चुनाव भयो । त्यसपछि नियमित परिसंवाद कार्यक्रम भएको छ । भर्खरै वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको राष्ट्रिय अभिनन्दन गर्यौं । सातै प्रदेशमा कार्यशाला चलाउने सोच थियो । कोरोनाका कारण त्यो अड्किएको हो । तर, हाम्रो आन्तरिक विमर्श चलिरहेको छ ।
प्रलेसभित्र पनि अहिले पार्टीमा जस्तै राजनीति र गुटबन्दी फस्टाउन थालेको हो ? यसले गर्दा पो धार कमजोर भएको हो कि ?
व्यक्तिगत कुरातर्फ म जाँदिनँ । प्रगतिशील धार कमजोर भएको कुरालाई पनि म मान्दिनँ । प्रगतिशीलता मार्क्सवादको आलोकमा हुर्किएको विशिष्ट चिन्तन हो । यसमा ‘प्रगतिशीलता’ र ‘प्रगतिवाद’ गरी दुई आयाम हुन्छन् । प्रगतिवादले हुबहु मार्क्सवादी सिद्धान्त मान्नुपर्छ भन्छ । सिद्धान्तमा जे भनियो, त्यो लागू गर्नुपर्छ भन्छ । तर, प्रगतिशीलताले चाहिँ समाज आज जे छ, त्यसअनुसार अगाडि बढ भन्छ । प्रगतिवादी चिन्तन र प्रगतिशीलताका केही कुरा आपसमा नमिल्न सक्छ । यसैले हिजोभन्दा समाजमा विभेद कम गर्न, स्वतन्त्रता र नागरिक अधिकारका लागि लड्न प्रगतिशीलता आवश्यक छ ।
हिजोको इतिहास हेर्दा एक समय सक्रिय मानिसहरु पछि निष्क्रिय भएका छन् । आजका प्रलेसका सदस्यहरूको कुरा गर्दा उनीहरूका नयाँ पुस्तकहरू प्रकाशित भइरहेका छन् ।
देशले नै समाजवादउन्मुख बाटोमा जानुपर्छ भनेको छ । त्यसमा जान के–के बाधा अड्चन भयो, त्यसतर्फ काम गर्न खोजेका छौं । लेखनसँगै अरु सामाजिक काममा पनि लाग्दा के नराम्रो हुन्छ र !
मार्क्स, लेनिन, माओत्सेतुङहरूले जुन समयमा सिद्धान्तको अभ्यास गरे, अहिले त्यही जडसुत्र रटेर केही हुँदैन । मार्क्सवादमा आज विज्ञान र ज्ञानमा भएका नयाँ उपलब्धीलाई लिएर अगाडि बढ्नुपर्छ । मदन भण्डारीले मार्क्सवादको सृजनात्मक प्रयोग गर्नुपर्छ भन्नुभयो । उहाँले रुसमा भएका कमजोरी, पूर्वी युरोपमा भएका मार्क्सवादी कमजोरी हेरेर सिक्नुपर्छ भन्नुभयो । त्यो कुरालाई ठूलो जनसमुदायले समर्थन जनायो भन्ने मेरो ठहर छ । त्यसैले, समाजलाई युगअनुसार मार्क्र्सवादले पनि अपडेट गर्नुपर्छ । जो दायाँ–बायाँ लाग्न हुन्न भन्छ, ऊ साँघुरिन्छ ।
मार्क्सवादी साहित्य चाहिँ ?
साहित्यमा पनि हामीले ज्यादै साँघुरो भएर बस्नुहुँदैन । कविता, कथा लेखिएका छन् र त्यसमा मार्क्सवादी चिन्तन पुरै नआए पनि त्यो प्रगतिशील आन्दोलनको सम्पत्ति हो । जनताका पक्षमा आएका कुरा छन् भने त्यो प्रगतिशील आन्दोलनको सम्पत्ति हो । पुरै मार्क्सवाद बुझेर, ज्ञाता भएर मात्रै साहित्य रचना गर्नुपर्छ भन्ने पक्षमा म छैन । जड कुरालाई त्यागेर जनताका पक्षमा लेखिनुपर्छ ।
सत्ता र पार्टीहरुलाई हेर्ने सवालमा प्रगतिशील लेखक संघमा विवादहरु देखिने गरेका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?
प्रलेसमा विभिन्न पार्टीसम्वद्ध लेखक छन् । उनीहरूको पार्टी–पार्टीको झगडा पनि हुन्छ यहाँ । म केन्द्रीय सदस्य तथा गोविन्द भट्ट अध्यक्ष हुँदा हामी एक्लाएक्लैले संगठन चलायौं । यहाँ विभिन्न समूह र गुट बन्छन्, जो कहिले अलग हुने, कहिले जोडिने गर्छन् ।
कतिपय कुरा समूहगत भए पनि साझा हुन्छन् । जस्तो– जातीय विभेद अन्त्य गर्ने र सबै विभेद अन्त्य गर्ने कुरामा हामी सबै मिल्न सक्छौं । त्यसैले मिलौं, एकै संगठनमा बसेर काम गरौं भनिरहेको छु । फुटको पक्षमा म छैन ।
प्रगतिशील लेखनसँग जोडिएका कतिपय विचारवान् साहित्यकार पनि आजका नेताहरुको छायामा रहँदा त्रसितजस्तो देखिन थालेका हुन् ?
क्षुद्रता व्यक्तिविशेषको कुरा हो । कसैले पनि क्षुद्र कुरा नगरौं भनेर मैले प्रलेसभित्रका साथीहरूलाई भनेको छु । कोही नेता रुखो होला र ऊसँग डराएकोजस्तो भएको होला ।
त्यसो त, नेपालको राजनीतिक संगठनमा पार्टीका सांस्कृतिक संघठनले मुख्य भूमिका खेल्न सकेको छैन । ठूलो सांस्कृतिक अभियान चलाउन सक्ने हो भने मात्र हाम्रो कुरा नेतृत्वले सुन्छ । यहाँ त एउटा अर्कोसँग साथी छ, तर साथीले साथीकै खुट्टा तान्ने, क्षुद्र टिप्पणी गर्ने चलन छ । यसले गर्दा सोचाइमा नै भय मिसिएको हो । नेतासँग डराउनुपर्ने कारण म देख्दिनँ ।
नेपालमा कम्युनिस्टहरुको बाहुल्य छ । तर, भारतीय प्रगतिशील लेखनमा जस्ता साहित्यिक पात्रहरु नेपालमा किन हुन सकेनन् ?
व्यक्तिभन्दा पनि अभियानलाई नै अघि बढाउन ठूलो कदम चलाउनुपर्छ । हाम्रोमा पनि युद्धप्रकाश मिश्रजस्ता आदर्श मानिस थिए । हामीले आदर्श जीवन बाँच्ने अभियान नै चलाउनुपर्छ । हाम्रा सृजनाकर्मीको जीवनशैली निष्ठावान् र विचारको पथ नत्याग्ने संस्कार बनाउनुपर्छ ।
राज्यले प्रगतिशील लेखनसँग जोडिएका सबै प्रतिभावान लेखकलाई साथ दिनुपर्छ । हाम्रो संगठने पनि कतिलाई गर्न सक्यौं, कति सकेनौं त्यसको हिसाब आफ्नो ठाउँमा छ । पुराना साहित्यकार पनि छन्, जसलाई खोजी गर्नुपर्छ । सार्थक विचार बोक्ने जोकोही भए पनि हामीले साथ दिनुपर्छ, चाहे ऊ एक्लो किन नहोस् !
तर, एउटा लेखक, साहित्यकारले. राज्य वा सरकारबाट भन्दा पनि जनस्तरबाट साथ समर्थन पाएको राम्रो होइन र ?
जनताका माझ खाइखेली नगरेको मान्छेले सम्मान पाउँदैन । जनताको माझमा गएको मान्छेले नै सरकारको पनि साथ पाउनुपर्छ । जनस्तरमा गएर काम गर्ने, जनस्तरको पक्षमा बोल्ने मानिसले नै सम्मान पाउनुपर्छ । राज्यले केही समय उचालेर मात्र केही हुँदैन । यसैले त हाम्रो मान्छे होइन, राम्रो मान्छे छान्नुपर्छ भनेर हामी बोल्छौं । हाम्रो दुःख–सुख बुझेको मानिस नै हामीलाई प्रिय हुन्छ ।
तपाईले प्रगतिशील लेखक संघ र आन्दोलनमा चार दशक बिताउनुभयो । आज नेतृत्वमा हुनुहुन्छ, अबको प्रलेस कस्तो बन्दैछ ?
मलाई आकाशका तारा झार्छु भन्नेजस्ता चर्का कुरामा विश्वास छैन । बरु डढेलोजस्तै गरी प्रगतिशील आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा चाहिँ सहमत छु । त्यसमा म स्वयं पनि होमिन्छु ।
प्रलेसको कुरा गर्दा, हामी आफैंमा व्यवस्थित हुन खोज्दैछौं । हिजोका राम्रा कामलाई अगाडि लाँदै ‘प्रगतिशील लेखनको इतिहास’ लेखाइराखेका छौं । हाम्रो इतिहास लेख्न लागि ठूलो मिहेनत परेको छ ।
यस्तै गोष्ठी देशैभरि गर्ने, वैचारिक किसिमले प्रशिक्षण गर्ने कामलाई बढाएको छु । हजारौं लेखक–साहित्यकार हामीसँग जोडिएका छन् । उनीहरूलाई प्रगतिवादी सिद्धान्त सिकाउन आवश्यक छ । यसैले हामी आफैंमा विचारमा बलियो हुने प्रयत्न गरिरहेका छौं । सृजनात्मक जीवनशैलीको पक्षमा छौं । यसपछिको ‘प्रलेस’ वैचारिक, सांगठनिक र सृजनात्मक आयाममा बलियो हुनेछ ।

छापा संस्करण

२०७७ असाेज ५ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित