धनुषा । मधेस प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य मार्ग—जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण भइरहेको छ ।
पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा देखिएको चुनौती तथा दुर्घटना जोखिम न्यूनीकरण गर्न पुल निर्माण अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त तीन वटा स्थान छनोट गरेर करिब १० करोड ५० लाख रुपैयाँ लागतमा आकासे पुल निर्माण भइरहेको छ । इञ्जिनियर उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिकाको मुख्य बजार क्षेत्र—लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारस्थित महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण कार्य तीव्र रूपमा चलिरहेको बताए ।
“एक महिनादेखि पिल्लर निर्माणलगायत आधारभूत पूर्वाधार तयार गर्दैछौँ,” इञ्जिनियर झाले भने, “निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अघि बढिरहेको छ ।”
उनका अनुसार लक्ष्मीनियाँ बजारस्थित पुल तीन करोड ४२ लाख, महेन्द्रनगर बजारको महिला विकास चोकस्थित पुल तीन करोड ३५ लाख र सखुवा चोकको पुल तीन करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । सबै पुल पाँच दशमलव छ मिटर उचाइ, २९ दशमलव चार मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार आकासे पुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । “यहाँ दैनिक हजारौँ पैदलयात्रु तथा सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम निकै उच्च छ,” उनले भने ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले धार्मिक पर्यटक तथा स्थानीयको चाप बढी हुने स्थानमा पुल निर्माणले दुर्घटना न्यूनीकरणमा मद्दत गर्ने बताए । स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणले सडकखण्डको ट्राफिक व्यवस्थापनसँगै सहरी सौन्दर्यकरणमा समेत योगदान पु¥याउने धारणा राखे ।
सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै तीनै आकासे पुल निर्माण पूरा गर्ने लक्ष्य लिएको छ ।




