
सिरहा । मधेस प्रदेश युवा संजालले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संजालले नेपाल सरकारका सम्बन्धित निकाय तथा भारत र नेपालस्थित कूटनीतिक निकायलाई आवश्यक छानबिन गर्न आग्रह गरेको छ ।
मधेस प्रदेश युवा संजालका अध्यक्ष मो. नइम राईनले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय, भारतस्थित नेपाली दूतावास तथा नेपालस्थित भारतीय दूतावासलाई घटनाबारे तत्काल छानबिन गर्न ध्यानाकर्षण गराएका छन् । उनले आवश्यक पहल गरी नेपाली विद्यार्थी तथा सुरक्षाको सुनिश्चित गर्न सरकारसँग आग्रह गरे ।

“विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले तुरुन्तै पहल गर्नुपर्छ । भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि यस विषयमा आवश्यक कदम चाल्नुपर्छ,” अध्यक्ष राईनले विज्ञप्तिमा उल्लेख गरेका छ ।
मधेस प्रदेश युवा संजालले घटनाको यथार्थ विवरण सार्वजनिक गर्दै नेपाली विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । साथै, प्रदेश युवा संजालले नेपाल सरकारलाई समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल गर्न पनि अनुरोध गरेको छ ।