अमेरिकाले स्वर्णको खाता खोल्यो

काठमाडाैं । ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापान र चीनबीच कडा टक्कर जारी छ। 

पदक तालिकामा दुवै देशले अहिलेसम्म समान ३ स्वर्ण जितेका छन्। जापान ३ स्वर्ण र १ रजत सहित ४ पदकका साथ पहिलो स्थानमा रहँदा चीन ३ स्वर्ण र दुई कास्यसहित ५ पदकका साथ दोस्रो स्थानमा छ। 

जापान र चीनसहित अहिलेसम्म कुल १३ देशले स्वर्ण जितेका छन्। अमेरिकाले आज स्वर्णको खाता खोलेको छ। उसले अहिलेसम्म १ स्वर्ण २ रजत र ४ कास्य जितेको छ। अमेरिका पदक तालिकाको तेस्रो नम्बरमा छ।

ओलम्पिकमा अस्ट्रेलिया, रसिया ओलम्पिक कमिटी, इटाली, ट्युनिसिया, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले समान १-१ स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २८ देशले पदक जित्न सफल भएका छन्। नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि दोस्रो चरणमा पुग्न सकिनन्।

त्यस्तै ४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन्।

नेपालको टोकियो ओलम्पिकमा अब पौडीतर्फ गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीको प्रतिस्पर्धा बाँकी छ। एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन्।

सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!