स्थानीय सरकारहरुले सार्वजनिक सुनुवाई नियमित गर्नुपर्ने हुन्छ । सिरहा जिल्लाका स्थानीय सरकारहरु सार्वजनिक सुनुवाई गरेको थोरैमात्र हो । पालिकाहरुले नागरिकको सरोकारको विषय के रहेको छ? पालिकाले गरिरहेको कार्य सम्पादनमा नागरिकको भनाई कस्तो छ ? जस्ता कयौं प्रश्नहरुको उत्तर खोज्न नागरिकलाई जोडेर सार्वजनिक सुनुवाई गर्नु पर्नेथ्यो । सार्वजनिक सुनुवाईले पालिकाहरुले गर्ने कार्यहरुको एक प्रकारले अनुमोदन वा सच्चायाउने केन्द्र नै हो । पालिकाहरुले आफैंले नियमित रुपमा गर्नुपर्ने नागरिक सुनुवाई जस्ता कार्य विभिन्न गैरसरकारी संघसंस्थाको आयोजनामा हुने गरेको छ । यो पालिकाहरुमाथि गम्भीर प्रश्न खडा गर्ने गर्छ । त्यही भएर पालिकाले नियमित रुपमा सार्वजनिक सुनुवाई गरी जवाफदेही बन्नुपर्छ ।
सिरहा नगरपालिकासँग सरोकार राखेर सार्वजनिक सुनुवाई एक गैरसरकारी संस्थाले आयोजना गर्यो । सदरमुकामको हटियामा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नागरिक स्तरबाट उठ्नुपर्ने प्रश्नहरु उठ्न पाएन । सिरहा नगरपालिकाले विगत तीन वर्षमा गरेको कार्य सम्पादनको फेहरिस्त सुनाउने पालो पनि थियो । त्यसका अलावा चालू आर्थिक वर्षमा गरिएको काम र देखिएको समस्याको वारेमा पनि प्रश्न उठ्न जरुरी थियो । त्यो पनि हुन सकेन् । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले शिक्षक–कर्मचारीका विषयमा कुरा राख्ने काम गरेका थिए । आफूलाई कानूनी अधिकार नभएकोले नै शिक्षकहरु राजनीति गर्दा कारबाही गर्न नसकिएको र शिक्षा क्षेत्रको सुधार हुन नसकेको भन्ने उनको भनाई रह्यो । सिरहा नगरपालिकाले सुशासन कायम राख्न सक्यो वा सकेनन् ? नागरिकको सरोकारको क्षेत्र, समाजिक विकासको क्षेत्रहरुमा सिरहा नगरपालिकाले कति फड्को मार्यो त्यसवारे तथ्यपरक कुरा आउन सकेनन् ।

सिरहा नगरपालिका मात्र होईन, सिरहा जिल्लाका प्रायः सवै पालिकाको अवस्था उस्तै हो । नागरिकप्रति जवाफदेहि बन्न सकेको छैन् । मतदाताले दिएको मतको भारलाई सामाजिक र आर्थिक विकासको माध्यमबाट उठाउन सकेको छैन् । त्यही भएर जिल्लाका पालिकाहरुमा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा ज्यादै सुधार हुन सकेको छैन् । पालिकाहरुमा सुशासन कायम हुन सकेको छैन् । पालिकाहरुले आफ्नो पालिकाक्षेत्रको भौतिक पूर्वाधारमा पर्ने सडक, पुल, पुलेसा, कल्र्भट जस्ता पूर्वाधारको क्षेत्रमा प्रगति हासिल गर्न सकेको छैन् । व्यवस्थित बजार लगाउन सकेको छैन् । धुँलो, धुवाँ, ध्वनी जस्ता प्रर्दुषण रोक्न सकेको छैन् । लामखुट्टको समस्यालाई न्यूनीकरण गर्न सकेको छैन् । युवाहरु कुलतमा फस्दा त्यसबाट बाहिर ल्याउन सक्ने स्पष्ट रोडम्याप बनाउन सकेको छैन् । जसका कारण भूईतहका नागरिकको पालिकाप्रतिको भरोसामा कमी आएको छ । पालिकाले व्यक्तिको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने सेवाहरु दिनुपर्ने भएपनि त्यसमा पनि सुविधा थप्न सकेको छैन् ।



