सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ५४ जनामा डेंगु संक्रमण भएर ३२ जनाको ज्यान गएको थियो । सन् २०२३ को सुरुवाती पाँच महिना स्थिर रहेको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबन्दा जुन महिनायता संक्रमण अत्याधिक बढेको हो । पुस महिनायता अर्थात् जनवरीदेखि हाल (२५ साउन)सम्म ११ हजार १५७ जनामा डेंगु रोगको संक्रमण देखिएको जसमध्ये आठजनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जनवरीदेखि मे महिनासम्म मासिक औसत एक सय ५० जनालाई संक्रमण भएकोमा जुनदेखि अत्याधिक रुपमा बढ्दै एक हजार दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक रहेको छ ।

जुलाई महिनामा जुन भन्दा पनि पाँच गुणाभन्दा बढी अर्थात् पाँच हजार ६ सय ८३ लाई डेंगु संक्रमण पुष्टि भएको थियो । अहिले अगस्टको दोस्रो सातामा तीन हजार दुई सय ६९ लाई संक्रमण भइसकेको छ । पछिल्लो समय भइरहेको तीव्र संक्रमण हेर्दा १५ भदौदेखि उच्च बिन्दुमा पुग्ने स्वास्थ्य सेवा विभागको इडिसिडी लगायतको अनुमान रहेको छ । अगामी मंसिर महिनासम्म करिब ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान गरिएको छ । यता गत बुधबारसम्म देशभरका ७१ जिल्लामा डेंगु रोगको संक्रमण पुष्टि भएको रेकर्ड छ । गत वर्ष हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा संक्रमण फैलिएको थियो ।
डेंगु रोगको संक्रमण छिमेकी जिल्ला धनुषा, कालीकोट, हुम्ला, मुगु, प्युठान र सोलुखुम्बुमा देखिएको छैन । यसले सिरहा जिल्ला पनि जोखिममा रहेको देखाउँछ । सिरहा जिल्लामा डेंगुको संक्रमण देखिएकोले सचेतना अति आवश्यक छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

यसलाई ध्यानमा राखी सिरहा जिल्लाका स्वास्थ्य संस्थाहरुले विशेष गरी सचेतना अभियानमा जुट्नुपर्छ । त्यससँगै सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरुले पनि अभियानमा ध्यान दिई डेंगुको जोखिमवाट नागरिकलाई जोगाउनु पर्छ । गाउँघरमा सरसफाईमा व्यापक रुपमा ध्यान दिने चलन छैन् । जताततै पानी जमेको हुन्छ । जहाँ एडिज प्रजातिको लामखुट्टे हुर्कने मद्दत गर्छ र रोगको जोखिम उच्च रहन्छ । यसलाई ध्यान दिदै स्थानीय तहहरुले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!