जनकपुरधाम । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई घेराहाली हत्या गराई दिने दिएकाे अभिव्यक्तिबारे राजनीतिक दलका नेताहरू निन्दा गर्दै जंगलराजको संज्ञा दिएका छन् ।

मन्त्री यादवको अभिव्यक्ति बारे जनमत पार्टीका अध्यक्ष राउतले सार्वजनिक पद धारण गरेका नेताले आफू र आफ्नो कार्यकर्ताको हत्या गराई दिने अभिव्यक्ति गैरजिम्मेवार र अलोकतान्त्रिक मात्र नभई जंगलराजकाे चरित्र देखाउन खोजेको बताएका छन्।

उनले भने, ‘लोकतन्त्रमा आफ्ना कुरा राख्ने र अधिकारका लागि संघर्ष गर्ने सबैको संवैधानिक अधिकार हुन्छ, आफ्ना अधिकारका लागि आन्दोलन गर्नेलाई हत्या गराई दिने भन्ने अभिव्यक्ति गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र रहेकोले जंगलराज बनाउन खोज्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

अध्यक्ष राउतले थप्दै भने,’सरकार र सत्ताको आडमा किसान आन्दोलनलाई नरसंहार गरेर समाप्त पार्ने योजनामा लागेको उनको अभिव्यक्तिबाट प्रष्ट भएको छ, तर जायज मागका लागि जारी आन्दोलन कुनैपनि सत्ताधारी व्यक्ति वा पार्टीको धम्कीले अन्त्य हुँदैन, जनता स्वयं साक्षी छन्, हामी दलीय स्वार्थ होइन, उनीहरूकै लागि सडकमा छौं ।’

यदि मन्त्री यादवले नरसंहार गरेर नै किसान आन्दोलन समाप्त पार्न खोज्छन, भने जनता आफ्नो अधिकारका लागि प्रतिकारमा उत्रने अध्यक्ष यादवकाे भनाइ छ । उनले भने, ‘जनता आफ्नो अधिकारका लागि सडकमा उत्रेका छन, आफ्नो मांग सम्बोधन गराएर नै छाड्नेछ र जनमत पार्टी जनताको साथमा छ ।’

मन्त्री यादवको नरसंहार अभिव्यक्तिबारे एमालेका सचिव रघुवीर महासेठले संसदीय व्यवस्थामा एक पार्टीका नेता अर्को पार्टीका नेतालाई गैरसंसदीय अभिव्यक्ति दिनु गलत रहेकाे बताए । अहिलेको संवैधानिक व्यवस्थाअनुसार कसैलाई पनि धाक धम्की वा चेतावनी दिनु कार्यलाई अपराधिक समूहमा राखेको छ ।

उनले भने, ‘यदि कुनै मन्त्रीले कसैलाई हत्या गर्ने अभिव्यक्ति दिन्छन भने त्यो सरासर गलत हो । त्यस्ता मन्त्री अपराधी हुन्, उहाँ आफ्नो चरित्र सुधार्न आत्मलोचित भएर सम्बन्धित व्यक्ति र जनतासँग माफी मांग्नु पर्छ यदि त्यस्तो गरेनन् भने कानून दण्ड सजायका भागीदार हुन्छन्।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश दलका नेता जितेन्द्र सोनलले मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘संसदीय पार्टी पद्धतिमा कुनैपनि पार्टीका नेता वा मन्त्रीलाई अधिकार छैन कि कुनै मञ्चमा गैरसंसदीय भाषाको प्रयोग गरेर मानमर्दन गर्नु, ज्यान मार्नेसम्मको धम्की दिनु भनेको जंगलराजको प्रतिक छ ।’

उनले थप्दै भने, ‘ संसदीय व्यवस्थामा आफ्नो कुरा राख्न विभिन्न माध्यम छन् तर खुलेआम हत्या गराई दिने जस्ता अभिव्यक्ति दिनु भनेको गैरसंसदीय व्यवस्थाको अभ्यास हो, संसदीय व्यवस्थामा बस्ने व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत र अशोभनीय छ । आफ्नो अभिव्यक्तिप्रति आत्मलोचित भई माफी मांग्नुपर्छ।’

त्यस्तै नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले मन्त्री रेणु यादवको अभिव्यक्तिलाई अपराधिक एवं आतंककारी चरित्रकाे संज्ञा दिएका छन्।

‘मर्ने मार्ने जस्ता अभिव्यक्ति आफैँमा अपराधिक एवं आतंककारी गतिविधि हुन् । संसदीय व्यवस्थामा मन्त्री जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै राजनीतिक दलका व्यक्तिलाई हत्या गराई दिने अभिव्यक्ति दिनु भनेको गैर जिम्मेवार र अलोकतान्त्रिक मात्र नभई अक्षम्य छ ।’, उनले भने, ‘हत्या गराई दिने जस्ता अभिव्यक्ति दिने व्यक्तिलाई मन्त्रीलाई पदमा बस्ने कुनै अधिकार छैन । उनको अभिव्यक्तिले कस्ता समाज निर्माण खोजेको भन्ने कुरा प्रष्ट भएकोले जनताले सबै हेरिरहेको छ, तिनले आत्मलोचित भएर माफी नमागेसम्म अपराध क्षम्य हुनेछैन ।’

बुधबार गौरमा मधेस आन्दोलनको स्मरणमा आयोजित बलिदानी दिवसको अवससरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके आफूलाई विरोध गरे भने हत्या गराई दिने आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!