सिरहा जिल्लामा अहिले दैनिक जसो लागुऔषध सेवन, कारोबारका घटनामा पक्राउ पर्ने क्रम देखिन थालेको छ । सिरहा जिल्लाका केही बजारक्षेत्र अहिले लागुऔषधको कारोबारको केन्द्र बन्न थालेको छ । लागुऔषधको कारोबारीले भारतीय बजारबाट विभिन्न माध्यमवाट लागुऔषध मगाउने र चर्को मूल्यमा अवैध रुपमा बेच्दै गरेको प्रहरी अप्रेसनहरुबाट खुल्न आएको छ ।

बेनाड्रिल जस्तै सिरफ, नाईट्रोजन जस्तै ट्याब्लेट, विभिन्न नाउँका एम्पुलसँगै गाँजा र हिरोईन, ब्राउन सुगरको कारोबार हुँदै आएको छ । जिल्लाको मध्यमा रहेको गोलबजार अहिले लागुऔषधको कारोबार फस्टाएको देखिन्छ । प्रहरी अप्रेसनका क्रममा गोलबजारबाट ब्राउन सुगरसँगै विभिन्न प्रकारका लागुऔषध बरामद भएको छ । कतै औषधी व्यवसायी त कतै अन्य व्यवसाय गर्नेहरुले राम्रो आम्दानीको लोभमा लागुऔषधको अवैध कारोबार गर्दै आएको छ ।

सिरहा जिल्लाका युवाहरुमा लागुऔषधको लत वढ्दो क्रममा छ । खुला सीमाका कारण विभिन्न बाटोको प्रयोग गरी युवाहरु भारतीय बजार पुग्ने र लागुऔषध सेवन गरी आउने गरेको पाईएको छ । यो क्रम दैनिक विना रोकटोक भईरहेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको तैनाथी भएपनि युवाहरु निर्वाध रुपमा लागुऔषध सेवनकै निम्ति भारतीय बजारमा सहजै पुग्ने गरेका छन् ।

लागुऔषधको बढ्दो कारोबार र सेवनलाई निरुत्साहित गर्नु जरुरी छ । कारोबारीहरुलाई कानूनीको दायरामा ल्याउन समाजिक भूमिका अपरिहार्य पनि छ । यसमा समाजका सवै तप्का मिल्नुको विकल्प छैन् । प्रहरीले लागुऔषध सेवनकर्तालाई पक्राउ गरेर मात्र हुँदैन् । यसका निम्ति समाजका विभिन्न पक्षलाई शसक्त भूमिका निर्वाह गर्न दबाब पनि दिनु जरुरी छ । जनप्रतिनिधिदेखि नागरिक समाजका अगुवालाई यस सम्बन्धी भूमिका खेल्नुपर्ने आवश्यकता छ । युवा भोलीका कर्णधार भएकोले लागुऔषध सेवनको दलदलबाट जोगाउनु जरुरी छ । होइन भने भोलीको दिनमा झन् विकराल रुप लिन सक्छ । यसैले समाजका सवै अगुवाहरुको लागुऔषधको सेवन र कोरोबार विरुद्ध एकजुट भई न्यूनिकरणमा जोड दिन रचनात्मक भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!