जनता समाजवादी पार्टीमहन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएपछि पार्टीविहीन जस्तै अवस्थामा पुगेका महन्थ ठाकुर मधेश झरेका छन् ।

तराई/मधेशको अधिकारका लागि भन्दै नेपाली कांग्रेस परित्याग गरी आन्दोलनमा होमिने नेता हुन् महन्थ ठाकुर । कांग्रेसबाट बाहिरिएपछि तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुरले मधेशमा सक्रिय ६ दल मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए । त्यसपछि राजपा र समाजवादी पार्टीसँग एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । तर पार्टीम विवाद बढ्दै जाँदा दुई पक्षबीचको आधिकारिता विवादमा उनी पराजित भए ।

आफ्नै पार्टीको बहुमत पक्षले ‘प्रतिगमनकारी’सँग साँठगाँठ गरेको आरोपमा कारबाही गरेको छ । जनकपुरमा भेटिएका ठाकुरले भने ‘हामी ठीक छौं । पत्रकारसँगको कुराकानीमा उनले ‘हामी सरकारमा गएर गल्ती गरेका छैनौं’ भनेर जनतालाई भन्न मधेश आएको सुनाए ।

आफू कमजोर नभएको बरु, जनमन्थनबाट शक्ति आर्जन गर्नेसमेत ठाकुरले सुनाएका छन् । उनीसँग पत्रकारले गरेको संक्षिप्त कुराकानी :

यहाँ केही भ्रम फैलाइएकोछ,निर्वाचितको पद गइहाल्छ ! जसले ज्यानको परवाह गरेको छैन, उसले पदको परवाह कसरी गर्छ ? पद त आवधिक हो । आज छ, भोलि रहँदैन ।

राजनीतिमा महन्थ ठाकुर पछाडि पर्‍यो भन्छन्, के भन्नुहुन्छ ?

जनआवाज सुन्नुभएन ? ‘मत घबराना, तेरे पिछे है सारा जमाना !’ हामी अहिले पनि संघर्षमा छौं । कोही एक कदम पछाडि पर्नेबित्तिकै लडाईंको नतिजा आउँदैन । अहिले त फैसला नै भएको छैन । जब अन्तिम नतिजा हुन्छ, अनि न हार जीत भनिन्छ ।

यहाँ केही भ्रम फैलाइएको छ, निर्वाचितको पद गइहाल्छ ! जसले ज्यानको परवाह गरेको छैन, उसले पदको परवाह कसरी गर्छ ? पद त आवधिक हो । आज छ, भोलि रहँदैन ।

अन्तिम नतिजा भनेर सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आएको छैन् भन्न खोज्नुभएको हो ?

हो, त्यही कुरा हो । अदालतमा मुद्दा गएको छ, फैसला आएको छैन । २५ गते पेशी तोकिएको छ ।

निर्वाचन आयोगकै निर्णयलाई सदर गर्‍यो भने ?

निर्वाचन आयोगले दुई पक्षलाई स्वीकार गरेको छ । र, हामीले चाहेमा नयाँ पार्टी खोल्न सक्छौं भनेको छ । यसको कुनै टाइम छैन । पहिला १५/२० दिन दिन्थ्यो । तर अहिले आयोगको निर्देशन प्रष्टै छ, दुबै पक्षले अलग हुन चाहेमा अलग हुनसक्छ ।

जहाँसम्म (सांसद)  पदको कुरा छ, त्यो रहन पनि सक्छ ।

सर्वाेच्चले तत्कालीन राजपा र समाजवादी पार्टीलाई ब्यूँताउन पनि सक्छ भन्ने बुझाइ हो ?

पहिले पनि एक/दुई वटा फैसलामा भएको छ । यस्तो पनि हुन सक्छ ।

मानिसहरुले त महन्थ ठाकुर पक्ष कमजोर भयो, अब झन् कमजोर हुन्छ भन्छन् नि ?

तपाईंले के महसुस गर्नुभएको छ ? पद जाने भयो, त्यसैले कमजोर भयो भन्न खोज्नु भएको हो ? ज्यान दिन त तयार भएर हिँडेका हौं, पद गए के को डर ? सबैले भनिरहेका छन्, पद गयो भने पनि केही फरक पर्दैन । सबै जना छोड्न तयार छन् । हाम्रा लागि मधेसको मुद्दा ठूलो कुरा हो, पद ठूलो कुरा हुँदै होइन ।

तर, प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन साथ दिनुभयो ? उहाँको नेतृत्वको सरकारमा किन जानुभयो भन्ने प्रश्न त छ नि ?

हो, हामीले लिखित सम्झौता गरेका थिएनौं अहिलेसम्म जति लिखित सम्झौता भएका छन्, त्यो पूरा भएको छैन । त्यसैले मधेशका एजेन्डा पूरा गरिदिने प्रधानमन्त्रीको वचनलाई विश्वास गर्‍यौं र सरकारमा गयौं । प्रतिबद्धता बमोजिम उहाँले संविधान संशोधनका लागि कार्यदल पनि बनाउनुभयो । अब त त्यो सरकार गइसक्यो । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यो विषयमा कुरा भएको छ । हाम्रा माग मुद्दा सम्बोधन गर्न आग्रह गरेको छु ।

सरकारमै गएका कारण तपाईहरुलाई आफ्नै पार्टीका नेताहरुले प्रतिगामी भनेका छन् नि ?

को प्रतिगामी छैन भन्नुस् त ? आफ्नै पार्टीकै मान्छे गिराएर अर्काे गठबन्धनमा जाने प्रतिगामी भएनन् ? १०/२० बर्षको इतिहासलाई हेर्ने हो भने सबै प्रतिगमी भइसके ।

३२ दललाई छाडेर प्रचण्ड प्रतिगामीतिर गएकै हुन् । जनआन्दोलनको समयमा दिल्लीमा कुराकानी हुँदा सबैलाई हेरिसकेको छु । आन्दोलन पनि गर्ने अनि राजालाई बिन्ती पत्र लेख्ने कुरा पनि यही नेताहरुले गरेकै हुन् ।

त्यसो भए अब शेरबहादुर देउवाका नेतृत्वको सरकारमा पनि तपाईंहरुको पक्षमा सहभागी हुन्छ ?

हामीले आफ्नो मुद्दा राखेका छौं । र, अहिले पनि प्रतिपक्षी बेन्चमै बसिरहेका छौं । प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । पहिले बन्न नदिनुस् न ।

मधेसका मुद्दाहरु सम्बोधनको सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?

राजनीतिक फैसला त शिर काटेपछि पनि हुन्छ । राजा वीरेन्द्रलाई मारेपछि अर्काे राजा भयो । तर सामाजिक र आर्थिक परिवर्तन त्योभन्दा कठिन छ । आर्थिक, सामाजिक परिवर्तनमा नयाँ कुरालाई एक्सेप्ट नगरिए समय त लाग्छ ।

तर हामी सत्यमा अडिग भएका मान्छे हौं । हामी कुनै गलत माग राखेका छैनौं । संविधानमा धेरै त्रुटी छ । मस्यौदा सार्वजनिक भएकै बेलादेखि हामीले विरोध गर्दै आएका छौं । हामी अहिले पनि सम्पूर्ण मधेशका लागि संघर्ष गरिरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!