फोटो फिचर
Trending

आज इन्द्रजात्राको अन्तिम दिन : महिलाले ताने भैरव, गणेश र कुमारीको रथ (फोटोफिचर)

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । शुक्रबार इन्द्रजात्राको आठौं अर्थात अन्तिम दिन हो । आज इन्द्रध्वजा फहराएको लिङ्गो ढाली इन्द्रजात्राको विधिवत रुपमा अन्त्य गरिन्छ । साढे १० बजे राति लिङ्गो ढाल्ने बताइएको छ ।

ADVERTISEMENT

इन्द्रजात्राको अन्तिम दिन आज भैरव, गणेश र कुमारीको रथ महिलाहरुले तानेका थिए । योभन्दा अघिल्लो वर्ष कोरोना संक्रमणको कारणले रोकिएको इन्द्रजात्र यसपालि २ वर्षपछि गरिएको हो।

ADVERTISEMENT

इन्द्रजात्रामा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखिन्छ । रथलाई बाजागाजाका साथ जात्रा गर्दै परिक्रमा गराइन्छ। अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भइ पुनः वसन्तपुर नै पुर्‍याएपछि इन्द्रजात्रा सकिन्छ। राती लिंगो ढाली तानेर बाग्मतीमा लगेर सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ।

कालभैरव मन्दिर अगाडि ३२ फिटे लिङ्गो ठ्याएर इन्द्रजात्राको आगमन गरिएको थियो ।

इन्द्र देवताको प्रतीकका रुपमा लिंगो ठड्याइन्छ। यो जात्रा शताब्दियौंदेखि चल्दै आएको छ। साँस्कृतिक शहर काठमाडौं, भक्तपुर, ललितपुरमा विशेष रुपमा इन्द्रजात्रा मनाइन्छ। इन्द्रजात्राको उद्गम स्थल हनुमानढोका दरबार क्षेत्र हो। यहाँ १२औंदेखि १८औं शताब्दीमा निर्मित थुप्रै मठमन्दिर छन्। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन लिङ्गो उठाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सुरु भएको मानिन्छ। र, उक्त लिङ्गो बागमती नदीमा बिसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुने गर्दछ।

इन्द्रजात्राको रौनक रथयात्रा

मौलिक नाच, गान, रथयात्रा इन्द्रजात्राको रौनक र विशेषता हो। जहाँ हामी मात्रै होइन, विदेशी पर्यटक पनि औधी रमाउँछन्। इन्द्रजात्राको अर्को मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा हो। इन्द्रजात्रामा ३३ कोटी देवता उपस्थित भएको जनविश्वास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्य बताउँछन्।

‘दर्शनका लागि प्रत्येक वर्ष राष्ट्र प्रमुखको सवारी हुन्छ’, उनले भने, ‘जात्रामा सबै देवीदेवताको समिश्रण हुन्छ।’ श्वेतभैरवको मुखबाट प्रसादका रुपमा रक्सी बगाउने चलन छ। ‘त्यो प्रशाद खानाले शरीरमा भएको रोग निवारण हुने जनविश्वास छ’, शाक्य भन्छन्।

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो, इन्द्रजात्रा। राजधानीमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्वपूर्ण जात्रा इन्द्रजात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। उक्त लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ।

नाला जंगलको लिङ्गो
भक्तपुरको नाला जंगलबाट लिङ्गो ठड्याउन सालको रुख काटिन्छ। ३२ फिट अग्लो सिधा रुख छनोट गरिन्छ। लिङ्गोका लागि रुख काट्न कालोबोको लिएर जात्रा व्यवस्थान समितिका पदाधिकारी जंगलमा जान्छ। उनीहरूको साथमा केन्द्रीय मानन्धर समूह र नेपाली सेनाका जवान हुन्छन्।

‘रुखलाई इन्द्रको रुपमा पूजा गर्दै बोका बली दिइन्छ’, अध्यक्ष शाक्य भन्छन्, ‘लिङ्गोका लागि पहिलो पटक चाँदीको बञ्चरोले रुखको जरामा हानिन्छ। त्यसपछि मात्रै बञ्चरोले काटेर रुख ढालिन्छ।’ लिङ्गोलाई डोरीमा बाँधेर तान्दै भोटाहिटीको असनमा ल्याइन्छ। यहाँसम्म लिङ्गोलाई ल्याउन ४—५ दिनसम्म लाग्छ। यस वर्ष २९ गते नै जंगलबाट लिङ्गो नगरप्रवेश गराइएको थियो।

इन्द्रजात्रा : प्राचीन जात्रा
इन्द्रजात्राका लागि सरकारले बर्सेनि २३ लाख बजेट दिन्छ। तर, यसपालि भने व्यवस्थान समितिको खातामा रकम आएको छैन। इन्द्रजात्रा प्राचीन जात्रा रहेको राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराई बताउँछन्। ‘२४—२५ सय वर्ष अगाडि लेखिएकोे नाटक सिद्धान्तमा इन्द्रजात्राकोे चर्चा गरिएको छ । त्यसअघि मनाइन्थ्यो र चर्चा गरियो’, उनी भन्छन्, ‘यो पर्वले सिंगो नेपाल र नेपालीको साँस्कृतिक, धार्मिक र सामाजिक एकताको पहिचान झल्काएको छ।’

पछिल्लो समय इन्द्रजात्राको रौनकमा कमी आएको अध्यक्ष भट्टराईले औंल्याए। ‘पहिला परम्परागत नाचगान हुन्थ्यो। अहिले मौलिकताभन्दा देखावटी ज्यादा भयो’, उनी भन्छन्, ‘विश्वको सबैभन्दा पुरानो जात्राको सरकारले प्रचार गर्न सकेको छैन।’ बैदिक सनातन धर्म, तान्त्रिक विधि र बौद्धमार्गीलाई इन्दजात्राले एउटै मालामा उन्ने काम गर्दै आएको बताउँदै उनले थपे, ‘संसारको समावेशी, धार्मिक र समाजलाई जोड्ने कुनै पर्व हो भने त्यो इन्द्रजात्रा नै हो।’ इन्द्र वर्षाका देवता पनि हुन्। समयमा पानी पर्दा धान खेती गरेर किसानहरू वर्षभरी खाद्यान्न उब्जाउँछन्। वर्षा होस् र धान फलोस् भन्ने कामना गर्दै किसानहरू इन्द्रलाई देवताका रुपमा पूजा गर्छन्।

इन्द्रजात्राको किंवदन्ती
स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्दा चोर भनेर पक्राउ परे। उनको आमा बसुन्धराले ब्रत गरेकी थिइन्। पूजामा सघाउन फूल टिप्दा उनलाई चोर भनी नियन्त्रणमा लिएको थियो। डोरीले पाता कसी बिच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाइन्छ। इन्द्रकी आमा स्वयंम् काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने बाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ। पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे। त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे। इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो। देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो। स्वर्गलोक र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले।

पृथ्वीका राजा उपरिचर बसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो। आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।

जात्रामा नेवारी परिकार

‘इन्द्रजात्रा एक हप्ता अघिदेखि नै पूर्णचण्डी मन्दिरलाई टोलबासीले मिलेर सरसफाई गर्छन्। मन्दिरको मर्मतसम्भार र रंग लगाई चिटिक्क पारिन्छ,’ ललितपुरका विकेश शाक्य भन्छन्, ‘नेवारहरूले घरघरमा सयम:बजी खान्छन्। यसमा च्यूरा, भटमास, आलु, साग, छोइला, अदुवा, जेरी हुन्छ। बेलुका बाँडेर प्रसादका रुपमा खाइन्छ।’ इन्द्रजात्रा परम्परागत परिकारहरूलाई संरक्षण गर्दै आएको उनी बताउँछन्। पुरानो पुस्ताले इन्द्रजात्रा मनाएको देखेर नयाँ पुस्तामा यो जात्रा हस्तान्तरण हुन्छ।

एकताको अभूतपूर्व पर्व

नेपाल एकीकरणको परिप्रेक्षमा यस दिनको विशेष महत्व छ। यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराएर कान्तिपुर विजय गरेका थिए। प्राय: सबै पर्वहरू सामाजिक एकताका पर्वहरू हुन्। तर, अरुभन्दा पनि इन्द्रजात्राको एकताको अभूतपूर्व पर्व छ। नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दा सबै जात्रामा रमाइरहेको मौका छोपेका थिए भने यहाँका राजालाई पराजित गरेपछि उनले कुमारीको दर्शन गरेर जनताको मत लिएका थिए भन्ने किंवदन्ती छ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button
Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!